जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
राष्ट्रिय समाचार समिति

असोज १६, २०८३

नारायणगढ (चितवन)।  नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन, चरन क्षेत्रको अभाव, रोग तथा परजीवीको सङ्क्रमण, साना खपटेको प्रकोप र अव्यवस्थित मह सिकारका कारण मौरीपालन तथा जङ्गली मौरी संरक्षण दुवै चुनौतीपूर्ण बन्दै गएको छ ।
मौरीपालन विकास केन्द्र, भण्डाराका कार्यालय प्रमुख सुजन अमगाईंका अनुसार मौरीपालक किसानले पछिल्लो समय मौसममा आएको परिवर्तनसँगै चरनको अभाव, रोग तथा परजीवीको सङ्क्रमण र साना खपटेको प्रकोपजस्ता समस्या एकैसाथ सामना गर्नुपरेको छ ।
वरिष्ठ मह क्षेत्र विकास विज्ञ सुरेन्द्रराज जोशीका अनुसार आर्थिक वर्ष २०८१÷८२ को तथ्याङ्कअनुसार नेपालभर दुई लाख ७६ हजार मौरीका घारबाट चार हजार २७८ टन मह उत्पादन भएको छ । यसअनुसार प्रतिघार औसत मह उत्पादन १५ दशमलव ५ किलोग्राम र प्रतिव्यक्ति वार्षिक मह उपलब्धता करिब १४३ ग्राम मात्र रहेको छ । उहाँका अनुसार नेपालमा उत्पादन हुने कुल महमध्ये एपिस मेलिफेराले ६५ प्रतिशत, एपिस सेरेनाले २८ प्रतिशत र जङ्गली मौरी ९खागो, भीर तथा पुत्का मौरी० ले सात प्रतिशत योगदान गरेका छन् ।
देशको वनजङ्गल, खेती प्रणाली र प्राकृतिक चरन क्षमतालाई हेर्दा नेपालमा १० लाखसम्म मौरीका गोला पाल्न सकिने क्षमता रहेको विज्ञ जोशीले बताउनुभयो । उचित व्यवस्थापन र प्रवर्द्धन गर्नसके वार्षिक २० हजार मेट्रिक टनभन्दा बढी मह उत्पादन गर्न सकिने उहाँको भनाइ छ । हाल देशभर करिब १६ हजार ५०० घरपरिवार प्रत्यक्ष रूपमा मौरीपालनमा आबद्ध छन् ।
बागमती प्रदेशका कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयका प्रदेश सचिव सुधीर श्रेष्ठले महको प्याकेजिङ पारिवारिक तथा उपभोक्तामैत्री हुनुपर्नेमा जोड दिनुभयो । उहाँले महको गुणस्तर कायम गर्दै आकर्षक प्याकेजिङ र प्रभावकारी प्रवर्द्धनमा ध्यान दिनुपर्ने बताउनुभयो । चिउरीबाट ठूलो परिमाणमा मह उत्पादन गर्न सकिने भएकाले चिउरी प्रवर्द्धनमा जोड दिनुपर्ने उहाँको भनाइ थियो । सचिव श्रेष्ठले चिउरीलगायत वनस्पतिबाट ठूलो परिमाणमा मह उत्पादन गर्न सकिने भएकाले चिउरीलगायत वनस्पति चरन क्षेत्रमा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेशले महको प्याकेजिङ र प्रवर्द्धनमा जोड दिइरहेको उल्लेख गर्दै उहाँले किसानले सोहीअनुसारका योजना ल्याएमा प्रदेश सरकारले मह उत्पादनमा संलग्न किसानलाई आवश्यक सहयोग गर्ने बताउनुभयो ।
व्यावसायिक मौरीपालनको विस्तारसँगै नेपालका स्थानीय तथा जङ्गलीमौरी संरक्षणलाई समेत प्राथमिकता दिनुपर्ने अवस्था रहेको अमगाईंले बताउनुभयो । नेपालमा पाइने खागो मौरी ९एपिस डोर्साटा०, भीर मौरी ९एपिस लेबरियोसा० तथा पुत्का मौरीको प्राकृतिक बासस्थानमा आएको परिवर्तन र अवैज्ञानिक रूपमा गरिने मह सिकारका कारण तिनको सङ्ख्यामा कमी आउन थालेको सचिव श्रेष्ठले उहाँको भनाइ छ ।
खागो मौरी र भीर मौरी विशेषगरी ठूला रूख तथा भीरपहरामा गोला बनाएर बस्ने गर्दछन् । भीर मौरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाइन्छ भने खागो मौरी तराई तथा मध्यपहाडी क्षेत्रमा पाइन्छ । मौरीपालन विकास केन्द्रले भीर मौरीको महत्व, संरक्षण र मह सङ्कलनका विषयमा विभिन्न समयमा सचेतना तथा जनचेतनामूलक कार्यक्रम गर्दै आएको अमगाईंले बताउनुभयो ।
जथाभावी मह सिकार गर्दा मौरीको गोला तथा चाका नष्ट हुने भएकाले जङ्गली मौरीको प्राकृतिक बासस्थान र चरन क्षेत्र संरक्षण गर्नुपर्ने अमगाईंले बताउनुभयो । मौरीको चरनका लागि वनजङ्गल तथा कृषि क्षेत्रमा उपलब्ध फूल, पुष्परस र परागकणको महत्वपूर्ण भूमिका रहने भएकाले वर्षभरि चरन उपलब्ध हुनेगरी वनस्पति व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ छ ।
जलवायु परिवर्तनका कारण बेमौसमी वर्षा तथा अन्य वातावरणीय प्रतिकूलताले मौरीको चरन प्रभावित भएको अमगाईंले बताउनुभयो । पहाडी क्षेत्रमा असामान्य वर्षाका कारण चरन क्षेत्र नष्ट हुँदा रानी मौरी उत्पादन तथा समागममा समस्या देखिएको उहाँले बताउनुभयो । यही वर्ष चितवनमा अत्यधिक वर्षा र बाढीका कारण करिब एक हजार मौरीका घारगोला डुबानमा परी क्षति भएको उहाँले जानकारी दिनुभयो ।
व्यावसायिक मौरीपालनमा मौरीको घारमा लाग्ने साना खपटे पनि पछिल्लो समय थप चुनौतीका रूपमा देखिएको अमगाईंले बताउनुभयो । गत वर्षदेखि किसानले यो किरा देखिएको जानकारी गराउँदै आएकामा यस वर्ष यसको प्रकोप व्यापक बनेको र चितवनलगायत देशका अधिकांश जिल्लामा देखिएको उहाँले बताउनुभयो । प्रारम्भिक अनुमानअनुसार यस किराले करिब तीनदेखि पाँच प्रतिशत घारमा क्षति पु¥याएको छ ।
त्यस्तै, एपिस सेरेना मौरीमा विभिन्न भाइरस, जीवाणु तथा परजीवीको सङ्क्रमणसमेत देखिएको छ । पाँच वटा मौरीका नमुनामा गरिएको आरटी–पिसीआर परीक्षण तथा भाइरोम विश्लेषणमा पाँचवटै नमुनामा ब्ल्याक क्विन सेल भाइरस, चार वटामा काश्मिर बी भाइरस र स्याकब्रुड भाइरस, तीनवटामा डिफम्र्ड विङ भाइरस तथा एउटामा एक्युट बी प्यारालाइसिस भाइरस भेटिएको छ । त्यस्तै, दुई वटा एपिस सेरेना नमुनामा युरोपियन फलब्रुड र दुई वटामा नोसेमा परजीवीको सङ्क्रमण देखिएको छ ।
चरनको अभावका कारण मौरीलाई भोकमरीबाट जोगाउन कृत्रिम आहारको व्यवस्था गर्नुपर्ने हुन्छ । मौरीलाई सक्रिय राख्न चिनीको चास्नी तथा परागकणजस्ता कृत्रिम आहार दिनुपर्ने र सङ्कटको समयमा सेरेना मौरीको घारबाट मह ननिकाल्न कृषकलाई सुझाव दिइएको अमगाईंले बताउनुभयो ।
मौरीपालन विकासका लागि चरन क्षेत्रको अभाव प्रमुख चुनौतीका रूपमा देखिएको विज्ञ जोशीले बताउनुभयो । सर्वेक्षणअनुसार ५६ दशमलव ५ प्रतिशत मौरीपालकले चरन क्षेत्रको अभावलाई प्रमुख समस्याका रूपमा लिएका छन् । मौरीपालकको तथ्याङ्क तथा दर्ता प्रणालीको अभाव र चरन क्षेत्रको भारवहन क्षमताको वैज्ञानिक अध्ययन नहुनु पनि समस्या रहेको उहाँको भनाइ छ ।
मौरी, मानव स्वास्थ्य, पारिस्थितिक प्रणाली र कृषि एकअर्कामा अन्तरनिर्भर रहेकाले ‘एक स्वास्थ्य दृष्टिकोण’ अपनाएर बहुसरोकारवाला निकायबीच समन्वय गर्नुपर्नेमा जोशीले जोड दिनुभयो । उहाँका अनुसार व्यावसायिक मौरीपालन विस्तारसँगै जङ्गली मौरीको प्राकृतिक बासस्थान र चरन क्षेत्र संरक्षणलाई समान प्राथमिकता दिनसकेमा मह उत्पादन बढाउनुका साथै कृषि उत्पादन र जैविक विविधता संरक्षणमा समेत योगदान पुग्नेछ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

परेवाटार–पिपलटार–मास्टार वैकल्पिक सडक शनिबार बन्द हुने

कांग्रेसबाटै वडाअध्यक्षको टिकट नपाएका प्रकास प्रदेशसभा सभापतिमा निर्वाचित

भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला

विधि विज्ञान प्रयोगशालालाई आधुनिक बनाउन उपकरण खरिदको तयारी

प्रतिनिधिसभाः जेनजी आन्दोलनका दोषी र भ्रष्टाचार गर्नेलाई कारबाही गर्न नेता शाहीको माग

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति