धादिङ । स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट आधिकारिक टिकट नपाएपछि भुईकटर चिन्हबाट वडाअध्यक्ष बनेका प्रकाश कुमार श्रेष्ठ नेपाली कांग्रेस धादिङ प्रदेशसभा २ मा सभापति निर्वाचित भएका छन् ।
२०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनमा आफ्नै पार्टी नेपाली कांग्रेसबाट टिकट नपाएपछि कांग्रेसभित्रै विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । नीलकण्ठ नगरपालिका वडा नम्बर ८ को वडाअध्यक्ष निर्वाचित भएका श्रेष्ठ नेपाली कांग्रेस धादिङ प्रदेशसभा २ (क)को सभापति निर्वाचित भएका हुन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सम्पन्न प्रदेशसभा अधिवेशनमा इश्वर अर्यालसँग १७१ मतअन्तरले निर्वाचित भएका हुन् । अधिवेशनमा श्रेष्ठ नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगाना, नेता रमेश धमलासहितको टिमबाट उम्मेदवार थिए भने अर्याल एक्लै मैदानमा थिए ।
दलका उम्मेदवारहरुसँग आजित भएका मतदातासँग आफु कांग्रेस छोडेर स्वतन्त्र उम्मेदवारी मार्फत वडाअध्यक्ष बन्न आएको भन्दै मतदाताको मत लिएका श्रेष्ठले वडाअध्यक्ष निर्वाचित भएलगत्तै कांग्रेसकै झण्डा बोकेर विजय¥याली गरेका थिए ।