धादिङ । आफ्नै पार्टीका उम्मेदवारसँग बागी उम्मेदवारी दिएर नीलकण्ठ नगरपालिका–३ मा वडाअध्यक्ष बनेका राजकुमार श्रेष्ठ नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।
२०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसले गोपीकृष्ण भण्डारीलाई नीलकण्ठ–३ को वडाअध्यक्षको आधिकारिक टिकट दिएको थियो । भण्डारीले टिकट पाएपछि कांग्रेसमै सकृय श्रेष्ठ कांग्रेसबाटै बागी उम्मेदवारी दिएर ‘गुलाफ’ चिह्नबाट चुनावमा होमिएका थिए ।
तर, स्थानीय तहको निर्वाचनमा एउटै पदका लागि प्रतिस्पर्धा गरेका कांग्रेसका यी दुवै नेता १५औं महाधिवेशनअन्तर्गत एउटै टिमबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् ।
अझ रोचक त के छ भने, स्थानीय तह निर्वाचनदेखि कट्टर दुष्मनका रूपमा देखिएका भण्डारी र श्रेष्ठले प्राप्त गरेको मतसमेत बराबर छ । युवा खुला तर्फबाट सर्वाधिक मत (८५८) सहित भण्डारी महाधिवेशन प्रतिनिधि बनेका हुन् भने समानुपातिक आदिवासी जनजाति खुल्लातर्फ सर्वाधिक मत (८५८) सहित श्रेष्ठ महाधिवेशन प्रतिनिधि बनेका हुन् ।
रुख चिह्न पाएर पनि वडाअध्यक्षमा पराजय भोगेका भण्डारी लामो समयदेखि नगर प्रमुख भीमप्रसाद ढुंगानाको टिममा देखिएका युवा नेता हुन् भने श्रेष्ठ कुनै पनि टिममा नखुलेका नेता हुन् । अहिले उनीहरु ढुंगानासहित रमेश धमला नेतृत्वको टिमबाट महाधिवेशन प्रतिनिधि बनेका हुन् ।
विगतमा भण्डारीको टिकटप्रति असन्तुष्ट बनेर बागी उम्मेदवारीमार्फत वडाअध्यक्ष बनेका श्रेष्ठ र कांग्रेसको वर्चस्व रहेको स्थानमा रुख चिह्नबाटै चुनाव लडेर हार व्यहोर्नु परेका भण्डारीबीचको तालमेल अब कस्तो बन्ला भन्ने चासो बढेको छ ।