ललितपुर । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले ललितपुरसहित देशभरका नेवार समुदायको भाषा, कला, संस्कृति र सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्ने बताउनुभएको छ ।
ज्यापू समाज यलद्वारा आज यहाँ आयोजित समाजको ३३औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले सांस्कृतिक सम्पदा संरक्षण अहिलेको पुस्ताको जिम्मेवारी भएको बताउनुभयो ।
सभामुख अर्यालले ललितपुरका मठमन्दिर, सांस्कृतिक सम्पदा, परम्परा र मौलिक संस्कृतिको संरक्षणमा नेवार समुदायले महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्नुभयो । उहाँले स्थानीय समुदायसँग प्रत्यक्ष संवादबाट प्राप्त विषयलाई कानुन निर्माणको प्रक्रियामा लैजान आफूले पहल गर्ने बताउनुभयो ।
नेपालको संस्कृति, सम्पदा तथा विभिन्न सामाजिक र राजनीतिक आन्दोलनमा नेवार समुदायको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उहाँले आगामी पुस्ताका लागि मौलिक संस्कृति र सम्पदा संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।