बाढीले डुबाएको घर सफा गर्दै दक्षिण कोरियाली स्वयंसेवक
राष्ट्रिय समाचार समिति

असोज १८, २०८३

नुवाकोट। विपद्का समयमा एउटा समुदायले अर्को समुदायलाई साथ दिनुपर्छ । सायद, मानवीय सहयोगमा भूगोल वा अन्य कुनै छेकबार हुँदैन, केवल मन भए पुग्छ । विपद्का बेला भौगोलिक सीमाभन्दा माथि उठेर मानवीय सहयोग गर्नुपर्छ भन्ने सन्देशसहित दक्षिण कोरियाबाट आएको स्वयंसेवी टोलीले भोटेकोशी बाढी प्रभावित नुवाकोटको घर सरसफाइ तथा पुनरुत्थानमा गरेको काम स्थानीय समुदायका लागि प्रेरणाको स्रोत बनेको छ ।
गत साता नेपाल आइपुगेको आठ सदस्यीय कोरियाली टोलीले नुवाकोटको विदुर नगरपालिका-१ ढुङ्गेस्थित बजारका घरहरूमा १० दिनसम्म सरसफाइको अनुमति लिएर मजदुर झैँ काम गरिरहेको छ । विदुर-१ का वडाध्यक्ष लेनिन रञ्जितद्वारा प्रदान गरिएको अनुमतिपत्रको प्रतिलिपिलाई सरसफाइ भइरहेको घर अगाडि टाँसेर टोलीले चर्को घामको वास्ता नगरी घरमा पुरिएको माटो खन्ने, ढुङ्गा फाल्ने, भाँचिएका बिम र काठहरू हटाउनेलगायत काम गरिरहेको छ ।
टोलीले हाल नुवाकोटको ढुङ्गे बजार क्षेत्रमा पुगेर बाढीबाट प्रभावित घर तथा आसपासको क्षेत्रको सरसफाइ गरिरहेको छ । लिडर लि खाङ उको नेतृत्वमा रहेको टोलीमा लि चाइ जुङ्ग, नम हा जिन, सिन जेउङ हुन, किम हो योङ्ग, योन हु योङ, किम साङ्ग कि र लि योङ्ग चोयल सहभागी हुनुहुन्छ  । यस समूहमा ८४ वर्षीय किम साङ्ग कि पनि हुनुहुन्छ । बुढ्यौली उमेरमा अर्काको मुलुकमा आएर यस्तो काममा लागेको देख्दा स्थानीय समुदायले आफूहरूलाई पनि काम गर्न उत्प्रेरणा मिलेको अनुभव गरेका छन् ।
‘लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आइ नेपाल’ र ‘लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३५४ डि कोरिया’को संयुक्त आयोजनामा आएको ‘९११ सर्च एण्ड रेस्क्यु’ टिमले बाढीबाट क्षतिग्रस्त घर तथा बस्ती सफा गरी पुनः बस्नयोग्य बनाउने कामलाई तीव्रता दिएको हो । ‘एक समुदाय विपद्मा पर्दा अर्को समुदायले मानवीय सहयोग गर्नुपर्छ’ भन्ने भावनाका साथ आफूहरू नेपाल आएको टोली नेता लि खाङ उले बताउनुभयो । विपद्को समयमा प्रभावित समुदायलाई प्रत्यक्ष सहयोग पुर्‍याउनुका साथै सामूहिक प्रयासबाट पुनरुत्थान सम्भव छ भन्ने सन्देश दिन टोली नेपाल आएको उहाँको भनाइ छ ।
उहाँले यसअघि नेपालमा गएको विनाशकारी भूकम्पको समयमा पनि आफ्नो टोली उद्धार तथा राहत कार्यमा सहभागी भएको स्मरण गर्नुभयो । उहाँका अनुसार ‘९११ सर्च एण्ड रेस्क्यु टिम’ले हालसम्म विश्वका ५४ भन्दा बढी मुलुकमा पुगेर विभिन्न विपद्मा उद्धार तथा विपद् व्यवस्थापनसम्बन्धी काम गरिसकेको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आइ नेपाल र डिष्ट्रिक्ट ३५४ डि कोरियाबीच कायम भएको भगिनी सम्बन्धका आधारमा संयुक्त उद्धार तथा सरसफाइ अभियान सञ्चालन गरिएको हो ।
लायन्स डिष्ट्रिक्ट ३२५ आइ नेपालका क्याविनेट सेक्रेटरी अनुजकुमार श्रेष्ठले दुई देशका लायन्सबीचको सम्बन्धलाई मानवीय सेवामा रूपान्तरण गर्न यस अभियानले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । विपद्का बेला एक देश वा समुदायलाई अर्को देश तथा समुदायले सहयोग गर्ने संस्कारले मानवीय सम्बन्ध र आपसी भाइचारालाई थप बलियो बनाउने उहाँको भनाइ छ ।
विपद् व्यवस्थापन केवल राज्य वा कुनै एक संस्थाको दायित्व नभई समुदाय, देश र अन्तरराष्ट्रियस्तरमा समेत साझा जिम्मेवारी हो भन्ने उदाहरणका रूपमा कोरियाली टोलीको सेवा कार्यलाई हेरिएको छ । बाढीले घरबार तथा जनजीवन प्रभावित भएका बेला टाढाको देशबाट आएर प्रभावित बस्तीको सरसफाइमा स्वयंसेवा गर्नुले विपद्मा मानवीय एकता र सहकार्यको महत्वलाई उजागर गरेको छ । दश दिने सेवा कार्यक्रमका लागि नेपाल आएको उक्त कोरियाली लायन्स सर्च एण्ड रेस्क्यु टिम आगामी अक्टोबर ७ मा स्वदेश फर्किने टोलीका भाषा अनुवादक अनुपजङ्ग बस्नेतले जानकारी दिनुभयो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी बाढीबाट एक हजार ४५१ को मृत्यु र पाँच हजार ७४५ जना बेपत्ता छन् भने हजारौँ घर बगेका छन् । भग्नावशेष व्यवस्थाापनका लागि विभिन्न निकायबाट नुवाकोटको देवीघाट, ढुङ्गे, त्रिशूलीलगायत क्षेत्रमा एक्स्काभेटर, ब्याकहो लोडर, टिप्पर आदि उपकरण र जनशक्ति परिचालन गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको इतिहास छः अध्यक्ष खड्गे

कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित

दसैँ नजिकिएसँगै काठमाडौँका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल

बाढीले डुबाएको घर सफा गर्दै दक्षिण कोरियाली स्वयंसेवक

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति