काठमाडौँ। सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभामा भाग लिइरहेको नेपाली प्रतिनिधिमण्डल र त्यहाँ रहेको चिनियाँ प्रतिनिधिमण्डलबीच आज भेटवार्ता भएको छ ।
त्यस अवसरमा उहाँहरूबीच नेपाल–चीनबीच जनस्तरमा समेत रहिआएको न्यानो र मित्रवत् सम्बन्ध तथा संसदीय सम्बन्धलाई आगामी दिनमा थप सुदृढ बनाउने विषयमा केन्द्रित रही विचारविमर्श भएको थियो ।
भेटका अवसरमा सभामुख अर्यालले नेपाल र चीनबीच निकट मित्रता, असल छिमेकीपन, पारस्परिक सम्मान तथा पञ्चशीलका सिद्धान्तमा आधारित सम्बन्ध रहेको उल्लेख गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
उहाँले नेपाल ‘एक चीन नीति’प्रति दृढ प्रतिबद्ध रहेको तथा नेपाली भूमि चीनविरुद्ध कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिने स्पष्ट पार्नुभएको थियो ।
सभामुख अर्यालले नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुकमा रूपान्तरण गर्न चीनले पु¥याउँदै आएको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै दुई देशबीचको विकास सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको सचिवालयले जनाएको छ ।
उहाँले हालै रसुवामा बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बेपत्ता चिनियाँ नागरिकका परिवारजनप्रति समवेदना प्रकट गर्नुभयो ।
सभामुख अर्यालले विपद्का समयमा चीन सरकारबाट प्राप्त आपत्कालीन आर्थिक सहयोग, मानवीय सहायता तथा खोज तथा उद्धारका लागि भएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभएको थियो । चीन सरकारले सुरुङ उद्धार तथा फरेन्सिक र डिएनए विशेषज्ञ टोली तथा ड्रोनलगायतका उपकरण उपलब्ध गराएको थियो ।
सभामुख अर्यालले दुई देशबीच स्थापित संसदीय मैत्री समूह तथा प्रतिनिधिसभा र चीनको राष्ट्रिय जनकांग्रेसबीच भएको अन्तरसंसदीय सहकार्यसम्बन्धी समझदारीले संसदीय आदानप्रदान र आपसी समझदारीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0