धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजको आगामी अध्यक्ष पदका लागि अमेरिकामा रहेका सामाजिक अभियन्ता बद्री खतिवडाले उम्मेदवारी दिने तयारी गरेका छन्। समाजको चौथो अधिवेशन आगामी असोज ३१ गते (अक्टोबर १७) धादिङमा हुने तय भएसँगै नेतृत्वका लागि विभिन्न व्यक्तिहरूले आफ्नो आकांक्षा प्रस्तुत गर्न थालेका छन्।
हाल अन्तर्राष्ट्रिय धादिङ समाजका उपाध्यक्ष रहेका खतिवडा लामो समयदेखि सामाजिक तथा मानवीय सेवामा सक्रिय रहँदै आएका छन्। समाजको तेस्रो महाधिवेशनबाट उनी अमेरिकाको प्रतिनिधित्व गर्दै उपाध्यक्षमा चयन भएका थिए।
धादिङको गल्छी गाउँपालिका–२ स्थायी घर भएका खतिवडा विगत १५ वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका छन्। हाल मेरिल्याण्डमा रहेका उनले अमेरिकामा लामो समयदेखि व्यावसायिक क्षेत्रमा समेत अनुभव हासिल गरेका छन्। नेपाल र अमेरिकामा प्राप्त सामाजिक तथा व्यावसायिक अनुभवलाई समाजको नेतृत्वमा उपयोग गर्ने उनको योजना रहेको छ।
खतिवडाले नेपालमा करिब पाँच वर्ष सामाजिक सेवाको क्षेत्रमा काम गरेको अनुभव रहेको बताएका छन्। एक्सन नेपाल मार्फत सामाजिक सेवामा संलग्न रहँदा विभिन्न समुदायसँग प्रत्यक्ष रूपमा काम गरेको तथा देशका विभिन्न स्थानमा आर्थिक रूपमा आवश्यकतामा रहेका व्यक्तिहरूलाई व्यक्तिगत रूपमा सहयोग गर्दै आएको उनको भनाइ छ।
व्यवस्थापनमा स्नातकोत्तर तहको शिक्षा (एमबीए) हासिल गरेका खतिवडाले आफ्नो सामाजिक सेवाको अनुभवसँगै अमेरिकामा हासिल गरेको अन्तर्राष्ट्रिय तथा व्यावसायिक अनुभवलाई धादिङको विकास र विश्वभर रहेका धादिङवासीलाई जोड्ने अभियानमा प्रयोग गर्ने बताएका छन्।
अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारीको उद्देश्यबारे खतिवडाले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, युवा, रोजगारी तथा उद्यमशीलता लगायतका क्षेत्रमा समाजको भूमिका थप प्रभावकारी बनाउने योजनालाई प्राथमिकतामा राखेका छन्।
उनले विश्वका विभिन्न देशमा रहेका धादिङवासीको ज्ञान, सीप, अनुभव, आर्थिक क्षमता र अन्तर्राष्ट्रिय सम्बन्धलाई धादिङको विकाससँग जोड्ने वातावरण निर्माण गर्नु आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन्।
खतिवडाका प्राथमिकतामा विद्यार्थीका लागि छात्रवृत्ति तथा मेन्टोरसिप कार्यक्रम, स्वास्थ्य क्षेत्रमा विशेषज्ञ तथा स्वास्थ्यकर्मीको नेटवर्क निर्माण, धादिङका पर्यटकीय क्षेत्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन, युवाका लागि सीप तथा उद्यमशीलता कार्यक्रम र स्थानीय उत्पादनलाई बजारसँग जोड्ने पहल रहेका छन्।
यसैगरी, अन्तर्राष्ट्रिय धादिङ समाजलाई विश्वभर रहेका धादिङवासीबीच सहकार्य, समन्वय र एकताको प्रभावकारी मञ्चका रूपमा विकास गर्ने तथा संस्थागत पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिने उनको योजना रहेको छ।
“पदका लागि होइन, सेवाका लागि नेतृत्व” भन्ने मूल भावनासहित अध्यक्ष पदमा अघि बढ्न लागेको बताउने खतिवडाले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत उपलब्धिभन्दा पनि धादिङ र धादिङवासीको साझा हितका लागि जिम्मेवारीका रूपमा लिएको बताएका छन्।
अन्तर्राष्ट्रिय धादिङ समाजले विश्वका विभिन्न देशमा रहेका धादिङवासीलाई संगठित गर्दै सामाजिक सेवा, विपद् सहयोग तथा जिल्लाको विकाससँग सम्बन्धित गतिविधिमा काम गर्दै आएको छ। समाजको चौथो अधिवेशनबाट आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन हुँदैछ।