काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीबाट प्रभावित घरपरिवारका लागि अस्थायी आवास (ट्रान्जिसनल सेल्टर) निर्माण गर्न चाहने साझेदार संस्थाहरूबाट प्रस्ताव आह्वान गरेको छ ।
बुधबार सूचना प्रकाशित गर्दै प्राधिकरणले रसुवा, नुवाकोट र धादिङ जिल्लाका बाढी प्रभावित स्थानीय तहका प्रभावित घरपरिवारका लागि सहरी विकास तथा भवन निर्माण विभागबाट स्वीकृत मापदण्डबमोजिम ट्रान्जिसनल सेल्टर निर्माण गर्न इच्छुक साझेदार संघ संस्थाहरूलाई यस्तो आह्वान गरेको हो ।
प्रस्ताव पेस गर्दा संघसंस्थाले आफूले निर्माण गर्न चाहेको ट्रान्जिसनल सेल्टरको सङ्ख्या, स्थान र स्थानीय तहको नाम स्पष्ट खुलाउनुपर्नेछ। त्यसैगरी, अस्थायी आवास निर्माण सुरु गर्ने अनुमानित समय र सम्पन्न गर्ने समय– सीमा सहितको कार्ययोजना पनि समावेश गर्नुपर्ने हुन्छ ।
यसअघि बाढी प्रभावित क्षेत्रमा आवास निर्माण गर्न सम्झौता भएको भए सोको विवरण उल्लेख गर्न पनि सूचनामा भनिएको छ । इच्छुक साझेदार संघ संस्थाहरूलाई सहरी विकास तथा भवन निर्माण विभाग र स्थानीय तहसँग समन्वय गरी निर्माण कार्य गर्न गर्नुपर्नेछ ।
अस्थायी आवास बनाउन इच्छुक संघसंस्थाले माथि उल्लिखित विवरण खुलाई सात दिनभित्र प्राधिकरणमा प्रस्ताव पेस गर्नुपर्नेछ । दसैंअघि नै अस्थायी आवास बनाउने गरी सरकारले बुधबार प्रस्ताव आह्वान गरेको हो । अब जुनसुकै एनजिओ आइएनजिओले बाढीपीडितका लागि अस्थायी आवास बनाउन सक्नेछन् ।
सुरुमा सरकार आफैंले आवास बनाइदिने भनेको थियो । तर भोटेकोशी बाढीको ४५ दिनपछि एनजिओलाई त्यसको जिम्मा दिन लागिएको छ । बाढीले सात हजारभन्दा बढी घर बगेका छन् ।