धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ र ३ लाई जोड्ने काष्टे खोलामाथि पक्की पुल बन्ने भएको छ ।
बागमती प्रदेश सरकारको ४ करोड ८९ लाख रुपैयाँ लागतमा ३५ मिटर लामो पक्की पुल निर्माण हुन लागेको हो । बिहीबार प्राविधिक टोलीले अनुगमन गरेसँगै पुलको निर्माण सुरु गर्न लागिएको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले जानकारी दिनुभयो ।
पुल निर्माणको लागि ज्वालामुखी निर्माण कम्पनीले ठेक्का पाएको छ । गत असारमा सम्झौता भए पनि वर्षायाममा खोलामा पानीको बहाव बढेका कारण काम सुरु गर्न केही ढिलाइ भएको भएपनि सुरु गरेको चार महिनामा सम्पन्न गरिसक्ने कम्पनीका सञ्चालक धर्मप्रसाद लोहनीले जानकारी दिनुभयो । दुई वर्षको ठेक्का अवधि भए पनि आगामी वैशाखभित्रै निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।
लामो समयदेखिको पर्खाईपछी बन्न लागेको पुल निर्माण कार्यमा आवश्यक सहजीकरण र समन्वय गर्ने कुरामा पालिका प्रतिवद्ध रहेको गाउँपालिका अध्यक्ष उप्रेतीले जनाउनुभयो । उपाध्यक्ष देवराज धरेल र वडा नं। ३ का अध्यक्ष कमलबहादुर थापाले पुल निर्माणपछि वडा नं। २ र ३ को आवतजावत सहज हुनुका साथै स्थानीय कृषि उत्पादनले बजार पाउने विश्वास व्यक्त गर्नुभयो ।
पुल निर्माणमा कुनै पनि किसिमको ढिलाइ हुन नदिन आफुहरुले सक्दो सहयोग गर्ने स्थानीय समाजसेवी उमेश थापाले बताउनुभयो । पुल निर्माणसँगै वर्षायाममा ज्यान जोखिममा पारेर खोला तर्नुपर्ने स्थानीयको बाध्यता अन्त्य हुनेछ ।