बाढीसँगै बग्यो स्याउलीबजार सुकुम्बासी बस्तीको दशैं मान्ने सपना

शंकर श्रेष्ठ

असोज २६, २०८३

धादिङ। आरुघाटको स्याउली बजार । त्यहीसँगै थियो करिब ५८ परिवारको बसोबास । स्थानीय भाषामा भन्नुपर्दा सुकुम्बासी बस्ती । घटस्थापनाको दिन बिहानसम्म यो बस्तीमा छुट्टै रौनक थियो । कसैले घर सिगार्दै थिए । कसैले जमरा राख्ने तयारी गर्दै थिए । कोही किनमेलमा नै थिए त कोही दशैका लागि सरसामान जुटाएर मख्ख थिए । तर, बढीगण्डकी नदीमा आएको वर्षा बिनाको बाढीले यो सुकुम्बासी बस्तीको नाम निसाना मेटाइदिएको छ ।

बाढीले घरसहित सबैथोक बगाएकी विष्णुमाया घले भन्छिन्–‘खेताला लगाएर हिजोमात्रै घर लिपपोत गरी सिँगारेको थिएँ । तेल चामलदेखि साबुनसम्म किनेर राखेको थिएँ । घरै बाढीले बगायो । केही निकाल्न पाइएन ।’

विष्णुमायाको भित्र माटोले लिपपोत गरिएको र बाहिर सिमेन्टको प्लास्टर गरिएको घर थियो । ३० वर्षदेखि यही बस्तीमा बस्दै आएकी विष्णुमायाले वर्षाैको मिहिनेतले घर बनाएकी थिइन् । बृद्ध सासुआमा चार जना यही घरमा बस्दै आएकी थिइन् । छोराबुहारी वैदेशिक रोजगारीमा गएका छन् । भर्खरै विदेश गएकाले उनीहरूले पठाएको कमाइले घर सच्याउन बाँकी नै थियो । तर त्यो सम्भावना पनि बाढीले खोसेर लग्यो ।

No data was found

‘दशैंका लागि खाद्यान्न मरमसला सुँगुर, बंगुर किनेर ल्याएका थिए । सिमेन्टमा गिट्टी बालुवा मोलेर बनाएको घोला जस्तो कालो लेदोसहित सुस्त गतिमा आएको बाढीले हेर्दाहेर्दै निमिट्यान्न पारेर लग्यो’, विष्णुमाया भन्छिन्–‘बाढी आएको देखेर सबैजना ज्यान जोगाउन भागे । दराजबाट एउटा झोला निकालेर म पनि माथितिर दौडिएँ । कपडा, खाद्यान्न र चौपाया सबै बाढीको लेदोमा पुरियो ।’

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ विशालनगरस्थित स्याउली बजारमा बाढी आउनुअघि दशैंको छुट्टै उमङ्ग थियो । प्राय सबैले चामल, तेल, मरमसला र नयाँ कपडा किनिसकेका थिए । दशैंमा मासुका लागि खोरमा सुँगुर बंगुर बाँधिसकेका थिए । बाढीले बस्ती बगाएपछि एक पेट खाने र रात कटाउने कसरी भन्ने चिन्ता उनीहरुमा छ ।

त्यही बस्तीका अर्का पीडित हुन् लालबहादुर घले । बाढीले बस्ती घेर्दा लालबहादुर र उनको परिवारले पनि ज्यान जोगाउनबाहेक अरू केही सोच्न भाएन । लालबहादुर भन्छन्– ‘घरभित्र रहेका सरसामान, खाद्यान्न र लत्ताकपडा एक थान पनि निकाल्न पाइएन । बालबच्चाको पढ्ने किताबकापीदेखि भएभरका सबै सामान बाढी र लेदोले बगाएर लग्यो । अब न त खाने अन्न छ, न त बालबच्चाको कापीकिताब नै बाँकी रह्यो ।’

आफ्ना बालबच्चाको भविष्य र दशैंका लागि साचेर लालबहादुरले राखेको सबै जोडजाम बाढीको लेदोमा विलीन भएको छ । चाडपर्वमा बालबच्चालाई नयाँ कपडा हालिदिने र मीठो–मसिने खुवाउने उनको धोको थियो । तर, विपत्ति यसरी आयो कि गृहकार्य गरिरहेका बालबच्चाको हातमा भएका कापीकिताब र कलम समेत बाँकी रहेनन् । उनीहरू अहिले एक सरो कपडाको भरमा रात कटाउनका लागि गाउँपालिकाले देखाइदिएको स्कुल भवनमा बस्न बाध्य भएका छन् ।

बस्ती रहेको स्थानमा अहिले घरहरूको निशानासम्म बाँकी छैन । ३२ परिवार बसोबास गर्ने सुकुम्बासी बस्ती भएको ठाउँमा दलदले हिलो र कालो लेदो मात्रै छ । लेदोमा टेकेर जान सकिने अवस्था छैन । जहाँ हिजोसम्म जस्ताले नै छाएको भएपनि साजसज्जाले चिटिक्क पारिएका घरहरू थिए, त्यहाँ अहिले कालिमाटी जस्तो हिलो र गेग्रानको साम्राज्य छ । आफ्नै आँखाअगाडि वर्षौंदेखि जोडेको सम्पत्ति र बासस्थान हिलोमा परिणत हुँदा बस्तीका मानिसहरू परबाट टोलाएर हेर्न बाध्य छन् ।

घटस्थापनाको दिन विहानसम्म दशैंको चहलपहल छाएको ठाउँ बाढीपछि सुनसान छ । ज्यालामजदुरी गरेर दुःखले बनाएको घर र घर चलाउन जोडेको सरसामान आँखाअगाडि बगेर जाँदा सबैजना स्तब्ध छन् । बस्तीका ५० परिवार नै पूर्ण रूपमा घरबारविहीन बनेका छन् ।

बाढीपछि अब कहाँ बस्ने, के खाने र कसरी दिन बिताउने भन्ने टुङ्गो छैन । लगाउने कपडा र खाने अन्न केही पनि बचेको छैन । गाउँपालिका र स्थानीय प्रतिनिधिहरूले आएर पीडितहरूको नामावली त सङ्लन गरेका छन् । तर अब गास र बासको व्यवस्था कसरी हुन्छ भन्ने कुरा अनिश्चित छैन । स्थानीयवासीहरू सहयोगी हातहरूको पर्खाइमा छन् ।

 

त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीका अनुसार स्याउली बजारको सुकुम्बासी बस्तीमा ५८ परिवारका करिब २ सय जनाको बसोबास थियो । अहिले त्यहाँका बालबालिका, बृद्धबृद्धा र दिनभर ज्यालामजदुरी गरेर विहान बेलुकाको छाक टार्ने वर्गका नागरिकको विचल्ली भएको छ । अस्थाई बासका लागि बस्ती नजिकै सुरक्षित स्थानमा रहेको चुनदेवी आधारभूत विद्यालयमा राखिएपनि बालबच्चा र बृद्धबृद्धाहरुलाई जोगाउन चुनौति आइपरेको अध्यक्ष उप्रेतीको भनाई छ ।

चाडपर्वको मुखैमा आएको अकल्पनीय विपत्तिले सुकुम्बासी बस्तीका नागरिकको सम्पूर्ण खुसी खोसेको छ । टहरा नै भएपनि मजदुरीबाट खाइनखाई ठढ्याइएको संरचना क्षणभरमै ध्वस्त हुँदा प्रभावित मात्रै होइन देख्नेहरु नै छाङ्गाबाट खसेजस्तै भएका छन् । दशैंको हर्षोल्लास हुनुपर्ने बस्तीका घरहरूमा अहिले चिन्ता र निराशा मात्रै छाएको त्रिपुरासुन्दरी गाउँपालिका–२ का वडाअध्यक्ष कृष्ण बहादुर खत्रीले सुनाए ।

सुकुम्बासी बस्तीसँगै रहेका अन्य पक्की १० घरमा पनि बाढी पसेको छ । पक्की घरका ढोका र सटरहरुमा बाढीले बगाएर ल्याएको लेदो थुप्रिएको र त्यहाँ टेकेर हिड्न सक्ने अवस्था नरहेकोले ती घरहरुबाट पनि केही सरसामान निकाल्न सकिएको छैन ।

 

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

दसैँ, तिहार र छठको अवसरमा एडभान्स एकेडेमीमा विशेष कार्यक्रम

पुल बगेसँगै आरुघाट बजार सुनसान, धादिङबेसीको आपूर्ति व्यवस्था ठप्प

बाढीसँगै बग्यो स्याउलीबजार सुकुम्बासी बस्तीको दशैं मान्ने सपना

मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँः स्वास्थ्यमन्त्री मेहता

गृहमन्त्री गुरुङ बिमस्टेकमा भाग लिन भारत प्रस्थान

यो पनि पढ्नुहोस
शंकर श्रेष्ठ