धादिङ ।
असोज २५ गते, बिहान करिब साढे ४ बजे । गोरखाको चुमनुब्री–३, सल्लेरी बजारका मानिसहरू निद्रामै थिए । कल्पना गुरुङको मोबाइलमा घण्टी बज्यो । माइतबाट भाइले फोन गरेको रहेछ । ‘दिदी खोलामा बाढी आयो पाखातिर भाग’ भन्दै चिच्यायो । बोल्दाबोल्दै भूकम्प आएजस्तै घर थर्किन थाल्यो, ठूलो आवाज आयो । ‘सुतिरहेको बच्चा च्यापेर अँध्यारोमा लड्दै घिसारिँदै माथितिर भाग्यौँ,’ नेपाली सेनाले उद्धार गरी सल्लेरीबाट गोरखाको आरुघाट कभर्डहल आइपुगेकी कमला गुरुङ भन्छिन्– ‘ज्यान त बचायौँ, अरू सबै बग्यो । भाइको फोन आउन एक मिनेट ढिलो भएको भए मर्ने रहेछौँ ।’
कमला गुरुङलाई पनि बिहान निद्रामै ससुरा (मामा)को फोन आयो । ‘खोलामा बाढी आयो तुरुन्तै भाग’ भन्दै कराउन थालेपछि ओछ्यानमा सुतिरहेको दुधे छोरा तानेर भाग्न थालिन् । बच्चा च्यापेर उकालो भाग्दै गर्दा अत्तालिँदै लडिन् र उनको हातबाट बच्चा छुट्यो । तर, पछाडिबाट आएका छिमेकी भाइले बच्चा टिपेर माथि पु¥याइदिएपछि ठूलो अनिष्ट टर्यो । त्यो भयावह क्षण सम्झिँदै कमला भन्छिन्– ‘अलि माथि पुगेर पछाडि फर्केर हेर्दा सबै बगाइसकेछ । बाँच्छु होला जस्तै लागेको थिएन, तर बाँच्यौँ ।’
बिहानपख बाहिर मान्छेहरू कराएजस्तो लाग्यो, ब्युँझिँदा “खोलामा ठूलो बाढी आयो, भाग भाग..” भन्ने आवाज सुनियो । सिरक फालेर अरू सँगसँगै दौडिएँ । ‘बाढीको आवाज सुन्दा हामी त बाँच्छौँ जस्तो लागेकै थिएन । बगाएरै लैजान्छ होला जस्तो लागेको थियो, तर भाग्यले बाँच्यौँ,’ भागेरै ज्यान बचाएकी कोपिला गुरुङ भन्छिन्– “पैसा र सुनहरू थियो, त्यो निकाल्ने त कुरै थिएन, ज्यान जोगाउनु नै मुख्य कुरा भयो ।”
“निद्रामै थिएँ, अँध्यारोमा आँखा नदेखिने । कहिले कता ठोक्कियो, कहिले कता ठोक्कियो । कोही नाङ्गै भाग्यो । कपडा, चप्पल पनि टिप्न भ्याएनन् । सल्लेरीभन्दा माथि डाँडामा घर थियो, सबै जना त्यहीँ गएर बस्यौँ । अहिले हेलीले त्यहीँबाट लिएर आयो,” कोपिलाले घटनाक्रम सुनाउँछिन् ।
हुन त यसअघि पनि २–३ पटक ‘बाढी आयो’ भनेर सूचना आइरहन्थ्यो । ‘त्यतिबेला दिउँसो थियो बाहिरतिर हेर्दै सचेत रहन्थ्यौं । अहिले त सबै बगायो,’ कमलाले सुनाइन् । बाढीले बस्ती नै बगाएपछि काठमाडौँ आफन्तकोमा बस्न जान लागेको दुःख बिसाइन् ।
आफ्नो भएको घर, जग्गा, जमिन बाढीले नक्सासमेत नराखी बगायो । एक सरो लगाउने कपडा र एक जोर चप्पल उनीहरूसँग छैन । छिमेकी गाउँका मान्छेले दिएको कपडा लगाएर बसिरहेको बेला सेनाले उद्धार गरेर ल्याइदिएको कल्पनाले बताइन् ।
सल्लेरी बजारका सबैको कथा कल्पना, कमला र कोपिलाको जस्तै मर्माहत र पीडादायी छ । कोही बाढीको आवाज सुनेर आफैँ ब्युँझिए । कसैलाई आफन्तहरूले उठाए । एकै ठाउँमा झुपुक्क भएकोले एकअर्काबीच पनि छिटो खबर सर्कुलेसन भयो । कल्पना र कमलालाई आएको एक–एक कल फोन नै जीवन बचाउने भाग्य साबित भयो । आफन्तको त्यो एक फोन समयमा नआएको भए सल्लेरीमा नसोचेको मानवीय क्षति हुने निश्चित थियो । बाढीले सर्वस्व खोसे पनि ज्यान बचाउन सफल भएकोमा उनीहरूले भगवान्लाई सम्झिएका छन् ।
सल्लेरीमा करिब १२ घर थिए । अधिकांश गुरुङ समुदायको बसोबास थियो । कपडासमेत लगाउन नभ्याई ज्यान बचाउन भागेका सल्लेरीवासीले घरका लत्ताकपडा, पैसा वा अन्नपात केही जोगाउन भ्याएनन् । सर्वस्व गुमाएका सल्लेरीका स्थानीयहरू अहिले उद्धारपछि आफन्तको शरण पर्न काठमाडौँतर्फ लागेका छन् ।
बिहानको झिसमिसे उज्यालो हुन नपाउँदै उर्लिएको बाढीले सल्लेरी बजार पुरै बगाएको छ । घरगोठ, बजार र जलविद्युत् आयोजनाका संरचनाहरू सखाप पारेको छ । तर, समयमै आएको एक फोन कलले मानवीय क्षति हुनबाट जोगिएको छ । सल्लेरीमा हाइड्रोपावरको क्याम्प र पसलहरू थिए । प्राकृतिक सौन्दर्य हेर्न त्यस क्षेत्र पुग्ने विदेशी पर्यटकहरू पनि त्यहीँ बास बस्थे । अहिले बाढीले सबै बगाइदिएको छ ।