धादिङ । जीवनभर दुःख गरेर जोडेको श्रीसम्पत्ति सबै बाढीले लग्यो। बस्ने घर बगायो । गरिखाने जमिन पुरियो। खाने अन्न, गरगहना र लाउने लुगा सबै बाढीले बगायो। ६ महिनाको दुधे छोरा काखमा च्यापेर गोरखाको आरुघाट आइपुगेकी पैमुकी पूर्णिमा गुरुङ भन्छिन्– “श्रीसम्पत्ति सबै बाढीले लग्यो, अब कहाँ बस्ने, के खाने, के लाउने ?”
गोरखाको चुमनुब्री–३ सल्लेरीकी कोपिला गुरुङको त झन् बाढीले खुट्टाको चप्पलसम्म छाडेन । बाढीको पञ्जाबाट ज्यान त जोगियो, तर ओत लाग्ने र हातमुख जोड्ने सबै झिटीझाम्टा बगायो । “ओढ्ने–ओछ्याउने र खानेकुरा त परको कुरा, अरूले दिएको कपडाको भरमा यहाँ आइपुग्यौँ,” सल्लेरीबाट ज्यान बचाएर आरुघाट आइपुगेकी कोपिलाले बाढीले उजाड पारिदिएको व्यथा सुनाइन् ।
पूर्णिमा र कोपिलाले मात्र होइन, सल्लेरीका कसैले ज्यानबाहेक केही बचाउन भ्याएनन् । २१–२२ धुरी रहेको सल्लेरी र वरपरका गाउँमा अहिले घरजग्गाको नामनिसाना छैन । ज्यान जोगाएर भागेका परिवार अहिले रित्तो हात बनेका छन् । उनीहरू भन्छन् “ज्यान त बच्यो, तर अब के खाएर बाँच्ने ?” बाढीबाट जायजेथा गुमाएकाहरूको यो प्रश्नको उत्तर यतिबेला कसैसँग छैन ।
हाइड्रोका क्याम्पदेखि लहरै रहेका बस्ती सबै बाढीले सोहोरेर बगर बनाएको छ । गाउँसम्म जाने सडक, पुल सबै बगाएको छ ।
सल्लेरीभन्दा केही माथिको बस्ती हो पैमु । गाउँका सात–आठवटा घर बाढीले पूरै बगाएको छ भने बाँकी रहेका दुई–तीनवटा घर होचा छन् । गाउँलेहरू भाग्न सफल भएकाले मानवीय क्षति त भएन, तर चाडबाडको मुखमा उनीहरूको खुसी खोसिएको छ ।
६ महिनाको छोरालाई सुतिरहेको ओछ्यानबाट तानेर ज्यान बचाएकी २१ वर्षीया पूर्णिमा र उनका २२ वर्षीय श्रीमान् धनप्रसाद गुरुङ भन्छन्– “भएभरको सबै सकियो, छोरा सानै छ। फेरि बाढी आयो भने भाग्न सकिँदैन, त्यसैले आफन्तकोमा जान लागेका छौँ ।”
“बाख्रा, भेडा, कुखुरा सबै लग्यो। अब हामीसँग केही छैन । चार रोपनी जग्गा थियो, सबै बाढीले पुर्यो। अब फर्केर त्यहाँ बस्न सक्ने अवस्था रहेन,” पूर्णिमाले दुःखेसो पोखिन् ।
गाउँमा बसौँ भने फेरि बाढी आउने डर छ, जाऊँ भने जाने ठाउँ र गाँस–बासको टुंगो छैन । चाडबाडको मुखमा सर्वस्व गुमाएर बिचल्लीमा परेका यी परिवारहरू अहिले सरकारी राहत र पुनर्नस्थापनाको बाटो पर्खिरहेका छन् ।
बाढी र पहिरोले पुर्याएको क्षतिबारे आफ्नो दुःखेसो पोख्दै सल्लेरीकै सुन्दर गुरुङ भन्छन्, “हामीसँग अब केही बाँकी छैन, बस्ने घर–खेत पनि रहेन । बाढीले सबै बगाएपछि ज्यान जोगाउनुबाहेक अन्य विकल्प भएन । आउजाउ गर्ने बाटो पनि छिट्टै बन्ला जस्तो लागेन। ज्यान त बाँच्यो, अब परान धान्ने काम गर्न काठमाडौँ जान लागेको छु ।”
केही राहत सामग्री त पुगेको छ, तर त्यसले कति दिनसम्म धान्ने हो भन्ने निश्चित छैन । खोला किनारका संरचना र सडकहरू सबै बाढीले ध्वस्त पारेका छन् । तत्काल बाटो खुलाउने सम्भावना नदेखेपछि काठमाडौँतर्फ जाने सोच बनाएर बाढीले उजाड बनाएको गाउँ छोडेर हिँडेको सुन्दरले बताए । “बाटो सबैतिर बन्द छ । अब बाटो बन्ने कहिले हो कहिले, केही बोरा चामल राहत पाएर मात्रै सधैँ जीवन चल्दैन । त्यसैले काठमाडौँ गएर कुनै काम गरी जीविकोपार्जन गर्ने विचार गरेको छु,” सुन्दरले सुनाए ।


