कामको ज्याला रोकिँदा मजदुरको धादिङबेसीमा बिचल्ली, स्थानीयको सहारामा काट्दैछन् दशैं !

पाविलन्युज

कार्तिक ४, २०८३

धादिङ । काम गरेको ज्याला नपाउँदा पुल निर्माणको काम गर्दै आएका मजदुरहरु धादिङबेसीमा बिचल्लीमा परेका छन् ।

धादिङको नीलकण्ठ नगरपालिका–३ र १२ जोड्ने थोपलखोला माथी निर्माणाधीन पक्की पुलमा मजदुरी गर्दै आएका मजदुरहरु ज्याला नपाएकै कारण दशैंमा घर जानबाट पनि बन्चित भएका छन् । काम गरेबापत पाउनुपर्ने पैसा ठेकेदारले नदिँदा बाटो खर्चसम्म नभएर १२ जना मजदुर घर जानबाट रोकिन बाध्य भएका हुन् ।

चाडबाडमा परिवारसँग बसेर मिठो-मसिनो खाने र छोराछोरीलाई नयाँ लुगा किनिदिने सपना बोकेका उनीहरू अहिले स्थानीयले दिएको खाद्यान्नको भरमा छाक टारिरहेका छन् ।

No data was found

“एक जनाको ३० हजार रुपैयाँभन्दा बढी लिन बाँकी छ । कुल ३६ जनामध्ये २४ जनाले सरसापट र घरबाटै पैसा मगाएर गए,” सल्यानका अम्मर कार्कीले भने, “हामी १२ जनाको भने बिचल्ली भयो । घर पुग्न तीन दिन लाग्छ, बाटो खर्च मात्रै पाए पूर्णिमा अगाडि भए पनि पुगिन्थ्यो कि भन्ने आश छ ।” ठेकेदारले पैसा दिने आश्वासन दिँदै दिन ढाँट्ने गरेको उनले बताए ।

सल्यानकै सुशील खत्री र सुर्खेतका काशीराम विकको पीडा पनि उस्तै छ । “छोराछोरीले नयाँ कपडा र मिठो खानेकुरा ल्याउला भनेर बाटो पर्खिरहेका छन् । तर आफैं जाने भाडासम्म छैन,” विकले भावुक हुँदै भने, “हामी मजदुरको चाहिँ दशैं नहुने हो र ? जसरी भए पनि घर जाने वातावरण बनाइदिनुपर्यो ।”

पुल निर्माणमा खटिएका सल्यानका ७, बाँकेका २, सुर्खेतका २ र गोरखाका १ गरी १२ जना मजदुर हाल साविक नवदुर्गा आधारभूत विद्यालयको भवनमा बसिरहेका छन् । उनीहरूलाई पुल बगैँचाका स्थानीय बासिन्दाले खाद्यान्न सहयोग गरिरहेका छन् ।

निर्माण व्यवसायी राजन आले मगरले भने मजदुरहरू स्वयं घर नजाने निर्णय गरेकाले स्थानीयस्तरमै व्यवस्थापन गरिएको दाबी गरे । “सम्झौताअनुसार अर्का ठेकेदार श्याम बुढाथोकीले भुक्तानी नदिँदा समस्या भएको हो । धेरैलाई पैसा दिएर पठाइसकिएको छ,” उनले भने, “उहाँहरूले भने जस्तो प्रतिव्यक्ति ३० हजार दिन बाँकी छैन । अहिले दशैंको मुखमा तुरुन्तै पैसा दिन सकिने अवस्था छैन ।”

पूर्वाधार विकास कार्यालयअन्तर्गत निर्माणाधीन उक्त पुलका मजदुरको समस्याबारे धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) ले ध्यानाकर्षण भएको बताएकी छन् । “ठेकेदारसँग निरन्तर कुराकानी भइरहेको छ,” प्रजिअ पाण्डेयले भनिन्, “मजदुरहरूलाई सहजरूपमा घर पठाउने वातावरण बनाउन पहल गरिरहेका छौँ ।”

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कामको ज्याला रोकिँदा मजदुरको धादिङबेसीमा बिचल्ली, स्थानीयको सहारामा काट्दैछन् दशैं !

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

लागुऔषधसहित नौ जना पक्राउ

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

यो पनि पढ्नुहोस
पाविलन्युज