अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य गर्ने शान्ति सम्झौता लामो समयपछि पहिलो पटक सम्भावनाको नजिक पुगेको बताउनुभएको छ । उहाँले वार्ता संवेदनशील अवस्थामा रहेकाले रुसमाथि थप प्रतिबन्ध लगाउँदा कूटनीतिक प्रयास प्रभावित हुन सक्ने उल्लेख गर्नुभयो ।
ह्वाइट हाउसबाट दक्षिण क्यारोलिना प्रस्थान गर्नुअघि बुधबार पत्रकारहरूसँग कुरा गर्दै उहाँले सम्झौताको सम्भावना बढेका बेला प्रतिबन्ध लगाउनु उचित नहुने बताउनुभयो । आवश्यक परे रुसमाथि प्रतिबन्ध लगाउने अधिकार आफूसँग रहेको उहाँको भनाइ थियो ।
इरानविरुद्धको अमेरिकी सैन्य कारबाहीमा रुस र चीनको भूमिका सीमित रहेको दाबी गर्दै राष्ट्रपति ट्रम्पले दुवै देशले उल्लेखनीय हस्तक्षेप नगरेकामा प्रशंसा गर्नुभयो । उहाँले रुस र चीनलाई सहभागी गराएर आणविक निशस्त्रीकरणसम्बन्धी बैठक गर्ने सम्भावनालाई पनि सकारात्मक बताउनुभयो ।
यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युद्ध अन्त्य गर्ने पहलस्वरूप वर्तमान अग्रपङ्क्तिमा लडाइँ रोक्न र कूटनीतिक वार्ता अघि बढाउन युक्रेन तयार रहेको बताउनुभएको छ । फक्स न्युजसँग कुरा गर्दै उहाँले युद्धविरामपछि अमेरिका र युरोपेली राष्ट्रहरूबाट सुरक्षा प्रत्याभूति खोजिने स्पष्ट पार्नुभयो ।
डोनबास क्षेत्र त्यागेर युद्ध अन्त्य गर्ने सम्भावनाबारे सोधिएको प्रश्नमा राष्ट्रपति जेलेन्स्कीले रुसले युद्धमैदानमा विजय हासिल गरिरहेको दाबी अस्वीकार गर्नुभयो । उहाँले वर्तमान युद्धक्षेत्रको अवस्थालाई आधार बनाएर वार्ता सुरु गर्नुपर्ने र त्यसबाट व्यापक शान्ति योजना अघि बढाउन सकिने बताउनुभयो ।
यसैबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी युरी उशाकोभले अमेरिकी राष्ट्रपति ट्रम्प र पुटिनबीच चीनमा हुने आगामी एसिया–प्रशान्त आर्थिक सहयोग ९एपेक० शिखर सम्मेलनका क्रममा प्रत्यक्ष भेटवार्ता हुन सक्ने बताउनुभएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0