युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास

राष्ट्रिय समाचार समिति

मंसिर ४, २०८३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत जारेड कुशनरले युद्ध अन्त्यपछि युक्रेनलाई नेटोको धारा ५ सरहको सुरक्षा ग्यारेन्टी दिने प्रस्तावमा रुस सहमत हुन सक्ने विश्वास व्यक्त गर्नुभएको छ ।
बर्लिनमा बिहीबार करिब ४० युरोपेली नेताहरूसँग भएको छलफलमा कुशनरले रुसी पक्षलाई यस्तो सुरक्षा व्यवस्थाप्रति सहज बनाइएको बताउनुभयो । उहाँसँगै उपस्थित अर्का अमेरिकी विशेष दूत स्टिभ विटकफले पनि चीनमा राष्ट्रपति ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको छलफलका विषयमा युरोपेली नेताहरूलाई जानकारी गराउनुभएको थियो ।
कुशनरका अनुसार राष्ट्रपति ट्रम्प युक्रेनलाई नेटोको धारा ५ सरहको सुरक्षा ग्यारेन्टी दिन सकारात्मक हुनुहुन्छ । तर, यस्तो व्यवस्था अमेरिकी हितअनुकूल र व्यापक सुरक्षा प्याकेजको हिस्सा हुनुपर्ने उहाँको भनाइ छ । कुनै पनि सम्झौता युक्रेन र युरोपसँगको परामर्शमा मात्रै गरिने उहाँले स्पष्ट पार्नुभयो ।
युक्रेनले भविष्यमा रुसी आक्रमण हुन नदिन भरपर्दो सुरक्षा व्यवस्था माग्दै आएको छ भने रुसले नेटोको सैन्य प्रभाव आफ्नो सीमाबाट टाढा राख्न चाहेको छ । नेटोको धारा ५ अनुसार कुनै सदस्य राष्ट्रमाथि भएको आक्रमणलाई सबै सदस्य राष्ट्रमाथिको आक्रमण मानिन्छ । यद्यपि, प्रस्तावित सुरक्षा ग्यारेन्टीको स्वरूप र त्यसमा रुस तथा युक्रेनको सहमति हुने विषय अझै स्पष्ट भएको छैन ।
यसैबीच, युक्रेनले क्रिमियालाई रुसी मुख्य भूमिसँग जोड्ने १९ किलोमिटर लामो केर्च पुलमा गरेको आक्रमणले युद्ध अन्त्यका लागि भइरहेको कूटनीतिक प्रयासलाई थप चुनौती दिएको छ । आक्रमणबाट पुलको सडक खण्डमा गम्भीर क्षति पुगेको पुटिनले बताउनुभएको छ । उहाँले चीनको सेन्जेनमा पत्रकारहरूसँग कुरा गर्दै आक्रमणको जवाफ दिने चेतावनी दिनुभयो ।
रुसले सन् २०१४ मा कब्जा गरेको क्रिमियामाथिको नियन्त्रणको प्रतीक मानिने उक्त पुल रुसी सेनाको आपूर्तिका लागि पनि महत्त्वपूर्ण मार्ग हो । आक्रमणपछि रातभर रोकिएको रेल सेवा बिहीबार दिउँसो पुनः सञ्चालन गरिएको रुसी समाचार संस्था आरआइए नोभोस्तीले जनाएको छ । युक्रेनको रक्षा मन्त्रालयले आक्रमणले रुसी सेनाको इन्धन र गोलाबारुद आपूर्तिमा अवरोध पुर्‍याउने जनाएको छ ।
रुसी रक्षा मन्त्रालयका अनुसार बिहीबार राति देशका १० क्षेत्रमा ५३ युक्रेनी ड्रोन खसालिएका थिए । साराटोभ क्षेत्रमा भएको आक्रमणमा तीन जनाको मृत्यु भएको र दुई जना घाइते भएको स्थानीय गभर्नर रोमन बुसार्गिनले बताउनुभएको छ । ब्रायन्स्क क्षेत्रमा आठ वर्षीय नातिसँग साइकलमा रहेकी एक महिलाको पनि ड्रोन आक्रमणमा मृत्यु भएको छ ।
युक्रेनी अधिकारीहरूका अनुसार रुसले एन्टी–शिप क्षेप्यास्त्र र ९८ ड्रोन प्रहार गर्दा १८ स्थानमा आक्रमण भएको थियो । रुसी आक्रमणबाट युक्रेनका १२ क्षेत्रमा क्षति पुग्नुका साथै दुई जनाको मृत्यु र कम्तीमा २३ जना घाइते भएका छन् । किएभस्थित नेदरल्यान्ड्स र अस्ट्रियाका दूतावासमा समेत सामान्य क्षति पुगेको बताइएको छ ।
रुसले सैनिक तथा सैन्य स्रोतसाधनको सङ्ख्यात्मक क्षमताका आधारमा युक्रेनलाई कमजोर पार्ने रणनीति अपनाएको छ । तर, युक्रेनले ड्रोनको प्रयोगबाट रुसी सेनाको अग्रगमन रोक्दै आएको छ । रुसले जाडोयामअघि युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गरी आक्रमण तीव्र बनाएको छ भने युक्रेनले लामो दूरीका ड्रोन र क्षेप्यास्त्रबाट रुसी तेल प्रशोधन केन्द्रलगायतका लक्ष्यमा प्रहार गरिरहेको छ ।
चीनमा पुटिनसँगको भेटमा ट्रम्पले उहाँलाई ‘मित्र’ सम्बोधन गर्नुभएको थियो । यसले युक्रेनका युरोपेली सहयोगीहरूमा चिन्ता बढाएको छ । ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीबीचको सम्बन्धसमेत पछिल्लो समय कमजोर बनेको छ । युरोपेली नेताहरूले ट्रम्प र पुटिनबीचको प्रत्यक्ष वार्ताले आफूहरूलाई निर्णय प्रक्रियाबाट बाहिर पार्न सक्ने आशङ्का गरेका छन् ।
कुशनरले भने ट्रम्पले पुटिन र सी जिनपिङ दुवैलाई शान्तिका लागि स्पष्ट सन्देश दिएको बताउनुभयो । पुटिनले पनि युक्रेन युद्धसम्बन्धी वार्तामा युरोपेली सहभागिताको विरोध नगरेको तर युरोपले कस्तो भूमिका निर्वाह गर्न चाहन्छ भन्ने स्पष्ट हुनुपर्ने बताउनुभएको छ । क्रेमलिनले युरोपेली अधिकारीहरूलाई आफ्नो धारणा प्रस्तुत गर्न मस्को आउन प्रस्ताव गरेको भए पनि भ्रमणको मिति तय भएको छैन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

नागढुङ्ग-मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

भोटेकोशी बाढी प्रभावित ४१३ जना विद्यार्थीलाई शैक्षिक सामग्री, न्यानो कपडा तथा स्वच्छता सामग्री सहयोग

डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

भारत ‘ए’ विरुद्धको खेलमा नेपालले टस जित्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति