६ मंसिर, धादिङ – कात्तिक शुक्ल एकादशीका दिन आज हिन्दु धर्मावलम्वीले भगवान विष्णुको आरधना तथा ब्रत अनुष्ठान गरी हरिबोधिनी एकादशी मनाउदैछन् । आज भगवान बिष्णुको प्रतिक मानिने तुलसीको विवाह गरिदिने प्रचलन छ ।
पौराणिक कथाअनुसार दैत्य आतंकबाट देवतालाई मुक्ति दिलाउन ठूलो संघर्ष गरेपछि थकानबाट बिश्रान्ती लिन बद्री आश्रमस्थित हेमवती गुफामा शयन गरेका भगवान बिष्णु शयनबाट व्युझिएको सम्झनास्वरुप हरिबोधिनी एकादशी मनाईन्छ । असार शुक्ल एकादशीका दिन हरिशयनीदेखि कात्तिक शुक्ल हरिबोधिनी एकादशीसम्म ४ महिनासम्म भगवान बिष्णु शेषमा शयन गर्नुभएको धार्मिक मान्यता छ ।
हरिबोधनी एकादशीमा रोपिएको तुलसीलाई विशेष पूजा आरधना गरी आज बिहे गरिदिने प्रचलन छ । आजका दिन काठमाडौं उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, काठमाडौंका शेष नारायण, इचँगुनारायण र विशङ्खुनारायण स्थानमा विशेष मेला लाग्दछ । यहाँ जान नसक्नेले काठमाडौंको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ ।