धादिङ – नयाँ नेपाली चलचित्र अब घरमा नै बसेर अनलाइन मार्फत हेर्न सकिने भएको छ । नेपाली चलचित्रको पहिलो अनलाइन हाम्रोमुभी डटकमले नयाँ नेपाली चलचित्र न्युनतम शूल्कमा घरमै बसेर हेर्न मिल्ने सेवा सुरु गरेको हो ।
हाइलाइट्स नेपालसँगको सहकार्यमा विधी प्रालिले नयाँ पुराना नेपाली चलचित्र रहेको हाम्रोमुभी डट कम सुरु गरेको थियो । विश्वभर रहेका नेपालीले नयाँ तथा पुराना नेपाली चलचित्र सजिलैसँग हेर्न सकुन भनेर अनलाइन पोर्टल सुरु गरिएको विधी प्रालिले जनाएको छ ।
रिलिज भएको महिनौैं पछि युट्युबमा अपलोड हुने फिल्म हेरेर रमाउनु पर्ने बाध्यतामा रहेकोमा अब इन्टरनेटको पहुँचमा रहेका नेपाली चलचित्रका पारखीले विश्वभरबाट निश्चित रकम तिरेर नयाँ नेपाली चलचित्र हेर्न पाउने विधि प्रालीका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले जानकारी दिए ।
केही समयपछि इन्टरनेट, बिजुलीको मासिक रकम तिरे जस्तै नयाँ चलचित्रसब्स्क्राइब गरेर हेर्ने सुविधा पनि मिलाइने सापकोटाले बताए । अहिले श्री ५ अम्बरे, नाइके, सम्बोधन, माइ प्रमीस लगायतका नयाँ चलचित्र ५ सय रुपैयाँ तिरेर हेर्न सकिन्छ ।