Fri. Mar 29th, 2024

एमाले पोलिटब्युरो सर्वसम्मतिमा

 

Madhav_Nepal__KP_OLi_408149352_518179778

काठमाडौं – एमाले केन्द्रीय कमिटीले आइतबार सर्वसम्मत रूपमा ६२ सदस्यीय पार्टी पोलिटब्युरोको चयन गरेको छ। अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव ईश्वर पोखरेलले अध्यक्ष निवास, बालकोटमा छलफल गरी तयार पारेको सूचीलाई केन्द्रीय कमिटीले अनुमोदन गरेको हो।

पोलिटब्युरोमा अध्यक्ष ओली पक्षका ३४ र नेपाल पक्षका २८ जना छानिएका छन्। ओली पक्षका ३४ मध्ये उपाध्यक्ष वामदेव गौतम, उनीनिकट किरण गुरुङ र यमलाल कँडेल पनि छन्।

दिनभरिको गृहकार्यपछि ओली, नेपाल र पोखरेल अपराह्न ४ बजे बालकोटबाट बल्खु पुगेका थिए। त्यसपछि स्थायी समिति बैठक बसी तीन नेताले तयार पारेको सूचीलाई सर्वसम्मतिमा अनुमोदन गरेको थियो। ४:५५ बजे बसेको केन्द्रीय कमिटी बैठकले पनि सोही सूची सर्वसम्मतिले अनुमोदन गरेको हो।

केन्द्रीय कमिटी बैठकमा ओली र नेपाल दुवै प्रसन्न देखिन्थे। आफू नपरेका कारण खिन्न भएका केही केन्द्रीय सदस्यबाहेक अरू सबै पार्टीमा चुनाव नभएकोमा हर्षित भएको आफ्नो योग्यता नपुग्ने एक केन्द्रीय सदस्यले बताए। बैठक सकेर बाहिरिँदा पनि ओली र नेपाल हँसिला देखिन्थे।

केन्द्रीय कमिटी बैठकमा ओलीले महाधिवेशनमा बनेको स्थायी गुटलाई मिलाएर पार्टीलाई एकताबद्ध बनाउन सहमतिमै स्थायी समिति चयन गरेको बताएका थिए। स्थायी गुट मिलाएर एकताबद्ध गर्न सहमतिमै पोलिटब्युरो चयन गरेका हौं, अब एमाले एउटै ताल, चाल र लयमा अघि बढ्छु, ओलीलाई उधृत गर्दै केन्द्रीय सदस्य सूर्य थापाले भने।

बैठकको निर्णयबारे सचिव योगेश भट्टराईले भने, महाधिवेशनले बनाएको संरचनामा दुवै पक्षको विन-विन सिच्वेसनु हुने गरी निर्णय भयो। यसले महाधिवेशनको समूहबन्दी घटाउँछ, एमालेको आधारभूत तहसम्म सिंगै एमाले पंक्तिमा उत्साह बढाउँछ।

एमालेको १७ सदस्यीय स्थायी कमिटीमा महाधिवेशनमा ओली प्यानलबाट जितेका आठ र नेपाल प्यानलबाट जितेका आठजना छन्।

कुनै पनि गुटमा नखुलेका वरिष्ठ नेता झलनाथ खनाललाई अध्यक्ष ओली पक्षले भागबन्डाु का बेला नेपाल समूहमा राखे पनि महाधिवेशनपछि उनको सम्बन्ध नेपाल पक्षसँग देखिँदैन। स्थायी समितिमा पदेन सदस्य रहेका अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरा नेपाल पक्षबाट चुनिएका हुन्।

शनिबारको बैठकमा स्थायी समिति २१ जनाको बनाउने बताइए पनि आइतबार यो निर्णय गरिएन। स्थायी समितिमा सुरेन्द्र पाण्डे, शंकर पोखरेल र छविलाल विश्वकर्मा लैजाने सहमति दुवै पक्षको छ। अर्का एकजनामा वामदेव गौतमले किरण गुरुङ, नेपाल पक्षले लालबाबु पण्डितको नाम राखेपछि यो निर्णय हुन सकेको थिएन।

सबैलाई अटाउन २३ जना पूर्ण र दुई वैकल्पिक सदस्य गरी २५ जनासम्मको स्थायी समिति गठन गर्ने सम्भावना सचिव भट्टराईले व्यक्त गरे। स्थायी समिति सदस्यमा यीबाहेक नेपाल पक्षबाट उपाध्यक्ष लडेर पराजित राजेन्द्र पाण्डेको पनि दाबी छ। ओली पक्षका रामप्रित पासवान, सत्यनारायण मण्डलको पनि चर्चा छ।

स्थायी कमिटी सदस्यबाहेक आइतबार चयन भएका पूर्ण पोलिटब्युरो सदस्यमध्ये १७ जना ओली पक्ष र १३ जना नेपाल पक्षबाट चुनाव जितेका केन्द्रीय सदस्य हुन्। वैकल्पिक पोलिटब्युरो सदस्यका १५ जनामध्ये ओली पक्षका नौ र नेपाल पक्षका ६ जना छन्।

ओली पक्षकै दोस्रो तहका केही नेता चुनाव गराएर नेपाल पक्षलाई किनारा लगाउने मनस्थितिमा रहे पनि ओलीले सबैलाई समट्ने निर्णय गरेका थिए। शनिबारको चुनाव लड्न उपाध्यक्ष वामदेव गौतमले बाहिरै आउने गरी अस्वीकार गरेपछि एमालेभित्र दबाब बढेको थियो।

नेपाल पक्षले पनि चुनाव गराउने भए आफूहरूले एकलौटी छाडिदिने भन्दै ओलीलाई दबाब दिएको थियो। नवनिर्वाचित पोलिटब्युरो सदस्य रामनाथ ढकालले भने, ुजसरी पोलिटब्युरो बन्यो, यसले अध्यक्षको नेतृत्व कुशलता देखायो। यसमा जजसले सघाए पनि यो अध्यक्षको कुशलता हो। यसले पार्टीलाई सरकार र संविधान निर्माणमा प्रभावकारी बनाउनेछ।
(अन्नपूर्ण अनलाइनबाट साभार)

About The Author

Loading...

अन्य समाचारहरु: