Wed. Nov 13th, 2024

मलामी छैनन् गाँउतिर

मोहराज शर्मा

mohoraj sharma

नाइटबस चढेर कलंकीबाट मुग्लिङ, दमौली हँुदै पोखरा कटेर भालेको डाँकैमा पर्वतको कुस्मा पुगिन्छ।

घर, बाग्लुङको दक्षिण भेग हो तर, त्यहीँ अडिएर दुईपटक चिया खाएपछि मात्र हिँड्न मिल्ने उज्यालो हुन्छ। फलेवासको गाडी ८ बजेसम्म कुर्नु भन्दा त हिँड्नै जाति हुन्छ भनेर म हिडेँ कालिगण्डकी माथिको आफ्नो गाउँ जान।
घर पुग्न अझै डेड दुई घण्टा हिडनुपर्छ सुम्सा तरेर। आजकल बाटोमा उस्तो मान्छेहरू हिँड्दैनन, फाट्टफुट्ट मात्रै हो हिँड्ने। त्यसैले सुम्साको वन जे छ त्यो भन्दा घना लाग्छ। निछ्याम्म!
यसै अप्ठ्यारो बाटो त्यसैमा करिडोर खन्दा भत्केको उपल्लो गाँउले बाटो झनै सकसपूर्ण भएको छ। वटुवाले प्यास लाग्दा खाने मूल सुकेको छ आजकल।
बाटो मुन्तिर कालिगण्डगी वगिरहे पनि बाटैको मूल सुकेपछि मैले त्यहाँ पानी खान छोडेको धेरै भैसकेको छ।
गाइ वाख्रा चराउनेहरू घाँस दाउरा गर्नेहरू कहाँ गए होलान?  कोही देखिदैनन्। कति वज्यो भनेर सोध्नेहरू अनि कहाँ पुग्ने हो भनेर सोध्नेहरू साँच्चै कहाँ गए होलान?
कुइनेटो पारेर पनि एकले अर्कालाइ छेकेर जामा तर्काएर वाटैमा पिसाव गर्ने स्कुले केटीहरू कहाँ गए होलान? झाडीले वाटो छेक्दा पन्छाएर उवारो पार्ने खुर्पेटेहरू कहाँ गएहोलान?
बोल्ने साथी नहुँदा बाटैभरि मनमा खेल्ने यिनै कुराहरूले मन भारि हुन्छ अचेल गाउँजाने बाटो हिँड्दा।
सुम्सा कटेपछि फेरी मनमा अर्को रन्को उठ्यो गाँउको विकास बारे।
गाँउमा विकास भएन भने पनि विजुलीका पोलहरू छन,यातायात छैन भने पनि डाँडै खल्किने गरी डोजरले थर्काएर चर्केको ठाँउ छ जताततै!
घर आँउदा एक केजी चिनी पनि राख्नुपर्दैन झोलामा भन्नुहुन्छ आमाले सधँै। झोलाको फिताले काँध दुखाउँछ भनेर वहाँले त्यसो भनेको होला।
मैले पनि खास ग¥हौ केही बोक्दिन झोलामा अचेल। पनि मन त्यति हलुंगो हुँदैन गाँउतिर जाँदा, जस्तो पहिले हुन्थ्यो।
बाटो तल्तिर मास्थेर र कहीँकतै बाटैसित सटेर वनाएका चिया पसलहरू किन वन्द छन? चुम्का ओध्रेपनि वटुवालाइ चिया उमाल्दा डडेको भुइ र धुवारिएका भित्ताहरूमा त्यो टाटो अझै छ। तर, खरिएका वटुवालाई चिया पानी र मोहि दिनेहरू किन देखिँदैनन,पर्खेर बसेका पसलेहरू?
घरसँगै जोडिएका गोठहरूबाट आउने पाडा बाच्छाको आवाज बाटो हिँड्दा पातलो सुन्न थालेको धेरै भैसक्यो। न उस्तो बाक्लो भेटिन्छन्, घाँसका भारि वोकेर पसिना चुवाउदै गरेका गाँउलेहरू!
मैले खासै देखिन वाटैमा पर्ने स्कुलमा केटाकेटीहरू। न सुनँ स्कुल देव्रे पारेर हिँड्दा झयालवाट उनीहरू कक्षाकोठामा पढेका पाठहरूको आवाज!
मलाइ घरीघरी आँङ जिरिङग हुन थालेको छ। किन गाँउहरू यस्तो शुन्य हँुदैछन? न देखिन्छन् कही कतै पर्महरू, न सुनिन्छन् उनीहरूले बारीमा गाएका वहका गीतहरू।
कुइदाङ कटेर नागढुङ्गा पुग्दा मैले त्यो ढुङ्गो ढोग्ने गर्छु सधैं, जहाँ अरुहरूले पाती चढाउँछन र हातले शिरमा पुर्याउँछन।
नागको आकार भएको त्यो ढुंगो उहिल्यैदेखि त्यसरी नै त्यहीँ छ जस्ताको तस्तै। थकाइ लाग्दा सँगैको चौतारिमा वसेर तल हेर्दा वगिरहेको कालीगण्डकी अनि त्यसैको शीर जस्तै वनेको सुलिकोट। कम्ती राम्रो देखिँदैन्। जुगाँदेखि ओहरदोहर गर्दा त्यही ढुंगो ढोग्नेहरू कहाँ पुगे होलान?
अव अलिकति विराउनेको उकालो उक्लिुनपर्छ रोहोटे पुग्न। यहीनेर पर्छ मेरो ६ कक्षादेखिको साथे भुपालको घुमाउरे घर। यहाँ भएका अरु धेरै घुमाउरे घरहरू भत्किसकेका छन आजकल।यस्ता घरहरू लोककथाको गाँउमा मात्रै हुन्थे जस्तो लाग्न थालिसकेको छ।
एउटा गोलघर भित्र परिवारको पुरै संरचना कसरी अटाएहोला,कसरी अटाए होलान् वुढावुढी, छोरावुहारी अनि नाति नातिना, वाफ रे! पहिले वाक्लै देखिन्थे गाँउघरमा यस्ता गोलघरहरू। अव छैनन्। वाटो उक्लिदा देखिएको त्यो घुमाउरे घर अव छाइएला कि नछाइएला? भुपालले पोखरा तिरै घडेरी जोडिसक्यो रे। उ पक्कै फर्किन्न यहाँ। त्यसैले भोलि म यही वाटो हिँड्दा यो विराउने अरु झन् विरानो हुनेछ।
ओहो खाना खाने वेला कटिसकेछ। खाना बनाएर बस्छु भन्नुहुन्थ्यो आमाले।
फोन गरेँ, ‘आमा तपाइँले खाना खानु नकुर्नु मलाइ। म वल्ल धारापानी आइपुगँे। अझै केही समय लाग्ला।’
यति लामो बाटो हिँड्दा पनि एकछिन सँगै हुने गरी कोही भेटिएन। गाविस भवनमा कोही त भेटिएलान भनेर म त्यसो बाटो लागेको हुँ।
कस्तो अचम्म! कोही छैन ।
सार्वजनिक विदा पनि होइन। किन खुलेन गाविस भवन?
द्वन्द्वकालमा माओवादीहरूले भवन उडाएका हुन्। कति कागज जले होलान्। कति वृद्धभत्ताका नक्कली फाइल जले होलान्। कति जले जले। कस्लाइ के मतलव। त्यही ठाँउमा अहिले भवन त छ तर, खास व्यवस्थित छैन। झण्डै एउटा खण्डहर पाटी जस्तै।
मनले मानेन सोधें एकजना पधेर्नी दिदिलाई।
‘गाविस खुल्दैन र दिनकै?’
भनिन्, ‘ह्या छोड्दिनुस्। मन लाउँदा आँउछन्। मन नलाउदा आउँदैनन्। भन्नी कस्ले के? साता दिन भो मैले गाविस खुलेको देखेकी छैन। किन यस्तो भनेर भन्ने कोही भए पो। रजाइँ छ।’
छेउमै रहेको ग्राउण्डमा कुनातिर वनमारा र बीचतिर झार माथि माथि भएको देखँे। कुनै पर्व दिन विशेषमा त्यो भेगैलाई समेटेर भब्य भलिबल प्रतियोगिता हुने यो ग्राउण्डमा पोल पनि देखिन। लाग्यो वर्षाँै भैसकेछ यहाँ वल खेल्न छोडेको।
कहाँ गएहोलान् ती भुसतिघ्रे नौजवानहरू, जसले भेगैभरि अघिल्लो दिन माइक फुकेर भोलि खेल हेर्न आउन निम्ता गर्थे? कहाँ गए होलान् आयोजक स्थानीय क्लवहरू?
अघिल्लो पटक गाउँ आँउदा कृषि सडक त्यही गाविस भवन मास्थेर आएर रोकिएको थियो विवादले।
छिः मन झन् कति भारी भएको होला। त्यही धारोमा एकपेट पानी खाँए। अझै आधा घण्टा कडकेर हिँड्नुपर्छ। ओडारे कटेपछि मेरो पूरै गाउँ छ्वांगै देखिन्छ। तल चौरदेखि माथि ब्यार्थला सम्म। वोर भेडावारी, काभ्रेदेखि पारी ढाव छिस्ती वाइनकुनासम्म।
हेरेँ एकैछिन अडिएरै धित मर्नेगरि।
बाले देख्नुभए होला मलाई अनि आमालाई अह्राउनु भएहोला, ‘ओए खाना तताइराख। केटो पारी देखियो भिरकुनामा ।’
जे होला होला, एकछिन वस्छु ।
आमालाइ फोन गरँे, ‘मँ त विसाइ मेटेको भिरकुनामा।’
भिरकुनामा को आयो को गयो, ठयाक्कै देखिन्छ गाँउबाट। बा केरालावाट आउने वर्ष वर्षैभरि यहीँ हेर्नुहुन्थ्यो आमा र हजुरआमाले।
आफना मान्छे परदेशवाट आउने यही मुल दिशा गाँउले नै हेरिरहन्थ्यो सँधैभरि। लाहुरेहरू राति पख गाउँमै तिर हान्ने लाइट वालेर टेप घन्काउदै आँउदा गाँउलाइ नै रमाइलो लाग्थ्यो। उनीहरू यहीँ आएर बिसाउथँे जहाँ अहिले म बिसाइरहेको छु।
तर, अहिले भिरकुनो उहिले जस्तो छैन। अहिले भिरकुनोले गाँउ छोडेर गएको मान्छे सितिमिति फर्काएर ल्याउदैन। पैसा कमाउन गएकाहरू कमाएर उतै कतै,कता कता बेगिन्छन। हराउँछन्।
म अघिल्लो पटक आँउदा गाँउ पूरै घुमेको थिँए तर मेरा दाँवल, मेरो तल्लो पुस्ताका भाइवैनीहरू। कोही भेटिन।
उनीहरू घर घडेरी र खरवारी वेचेर कोही जापान कोही अस्ट्रेलिया कोही वेलायत। सव लाखा पाखा।
हुन पनि यही केही गर्नुपर्छ भनेर उनीहरूलाइ कसैले सुझाएन। लोकसेवा पढेर यहीँको जागिर खान कसैले सल्लाह दिएन। पढ्न ऋण नदिने साहुहरू विदेश जान आफैले खर्च भर्दिएपछि के गरुन उनीहरू पनि? बरालिएर जिन्दगी कट्दो रैनछ भने, गए।
साउदी कतार जानेका श्रीमती र छोराछोरी सदरमुकाम छन्। जापान वेलायत जानेहरू अव गाँउ नफर्कने पक्का छ। गाँउमा बुढाबुढी मात्रै छन्। एकले अर्काको अढेसमा धानिएको जिन्दगी। अब बुढेसकालमा न फर्केला वेलायत पुगेको छोरो न फर्केलान् नाती बोकेर सदरमुकाम छिरेका बुहारीहरू। न आशा छ साउदी पुगेको छोरो मर्नेवेला आइपुग्ला भनेर।
मैले फेरि गनेँ गाँउको पुछारदेखि सिरानसम्म । कुन घर खाली छ विदेश जान भनेर।
अहँ कुनै घर खालि छैन।
मान्छे सामाजिक प्राणी हो। त्यसैले उसलाई समाज चाहिन्छ।
मर्दापर्दा छिमेक चाहिन्छ। तर, खै मेरो गाउँमा समाज? खै मेरो गाँउमा छिमेक?
ज्यूँदाको जन्ती र मर्दाको मलामी भन्छन्, तर, खै गाँउमा मर्दापर्दा मलामी जाने मान्छे ?
घर नफर्कने सन्तानको पर्खाइमा गाँउ खल्लो नियास्रो र वेढंगको समय बिताइरहेको छ।
अव १५ मिनेट।
झरेँ खोलामा। ढाँडखोलो र सिम्ले खोलामा वगेको पानी देख्दा मैले राजधानीमा ५० रुपैयाँ तिरेर किनेको जारको पानी पोखिएर खेर गएजस्तै लाग्यो।
अञ्जुलीमा कति पो अट्ला र? घोप्टै परेर खोलै तन्काउ जस्तै लागेर के गर्नु?
खोलो कटेर घरैसम्मका सिंढीहरू उक्लिँदा सम्झेँ, त्यही ढाँडखोलाका छपनी उक्काएर यही वाटो वनाउदा मैले करिव डेढ महिना काम गरेको हुँ।
भैलो खेलेर जम्मा गरेको जम्मा २५ हजारले खोलादेखि गाँउसम्मको उकालोमा सिढी मार्दा जनमुखी सामुदायिक संस्थाले नमुना काम गर्यो भनेका हुन धेरैले त्यतिखेर।
अहिले बाटो खल्केछ। सिँढीहरू भत्केछन्। कसले वनाउने यो बिग्रेको वाटो?
त्यही शून्य गाँउभित्र मेरो आस्थाको मन्दिर छ र त्यही भित्र मैले पुज्ने एकजोडी देउता।
म आइपुगँे जैदी सात वाँओ खेताघर। छिमेकका केही घरका मुलढोकामा ताल्चा झुण्डेका छन्।
आमा वुवा घरमै हुनुहुन्छ। ढोगेँ।
ढिलो गरिस् त सा’थाँ को थियो? बाले सोध्नुभयो।
‘एक्लै..!’ न गाउँमा कोही थियो, न जवाफ दिन।
(सेतोपाटीबाट साभार)

About The Author

अन्य समाचारहरु: