Sun. Jun 16th, 2024

मेरो पट्टु, मेरो बिरालो

timthumb.php

 

‘बुद्धि उठ्।’
यसपल्ट सुगाले एकपल्ट मात्र बोलायो। र, आकाशै च्यातिनेगरी करायो। पखेटा भ्यात्त–भ्यात्त फड्फडाए। यस्तो सुगाले अहिलेसम्म गरेको थिएन। के भएछ रु म निद्रामै थिएँ। झस्किदै उठेँ।

कठै, पिँजरा किलाबाट उछिटिउँलाझैं बेस्मारी हल्लिरहेको थियो। त्यसमा सुगा थिएन। पिजराका खियादार मसिना तार भाँच्चिएका थिए।

लौ, केले तानेर लग्यो सुगालाई रु

मेरो मुटु चिसो भयो। पिजरा झुन्डिएकै ठाउँनेर दुई घरका भित्ताबीच मसिनो चर थियो, त्यतै लगेको हुनुपर्छ। चर मान्छे पस्न सक्ने खालको थिएन। भित्रसम्म चिहाएँ, केही देखिनँ।
के गरूँ के गरूँ भयो।

अत्तालिएर फेरि पिजरातिर हेरेँ, त्यो अझै हल्लिरहेकै थियो। सुगाका चुँडिएका प्वाँख भने हुरी चल्दा खसेका सालका हरिया पातझैं झरिरहेका थिए।

***

४८ सालतिरको कुरा होला, कैलाली मटेराको। म ५ मा पढ्थेँ। स्कुल जान भनेर घरबाट त हिँड्थेँ तर दिन सालघारीमा घुमेर बिताउँथेँ। त्यसमा मलाई पूर्णेले साथ दिन्थ्यो, ऊ पढ्नमा भन्दा रुख चढ्नमा सिपालु थियो। कतै रुखका प्वाल देख्यो कि हात छिराइहाल्थ्यो। एकपल्ट त सर्प गुँडुल्किएको प्वालमा हात छिराएछ, अत्तालिँदै रुखबाट भाँचिएको हाँगाझैं तल खसेको थियो। रुख होचो थियो, त्यसैले खासै केही भएन। तर, तीन दिनसम्म खोच्याउँदै हिँड्यो। रुखबाट खस्दा बेस्मारी ठोक्किएर उसका अन्डकोष साइजभन्दा डबल भई फुलेका थिए रे।

पूर्णेको शरीर हरेक दिन कतै न कतै ददारिन्थ्यो। अनुहार पनि त्यस्तै धर्कैधर्काले भरिएका थिए। रुख चढेको थाहा पायो कि बाउले पिच्च–पिच्च सुर्ति थुक्दै हातमा जे आउँछ त्यसैले हिर्काउँदै सारा मटेराभरि उसलाई फनफनी रिंगाउँथे।
मलाई रुख चढ्न डर लाग्थ्यो। त्यसैले कर गरीगरी उसलाई लिएर म सालघारी फन्का लगाउँथेँ। किनभने, मलाई सुगा चाहिएको थियो। मटेराका घरहरूमा त त्यति सुगा थिएनन्, थारू गाउँमा त घरैपिच्छे सुगा।

ती सुगा मान्छे देख्नेबित्तिकै पिजराभित्र फनफनी घुम्दै कराउँथे, ‘राम राम – राम राम।’

मलाई पनि यस्तै ‘राम राम’ भन्ने सुगा पाल्ने रहर पलायो। एकपल्ट आमासित रोइकराइ पनि गरेको थिएँ, ‘सुगा ल्यादिनु के १’
‘तेरा बाले मार्छन्’ भन्दै आमाले डर देखाइदिनुभएको थियो।

बालाई सुगा पालेको मन पर्दैनथ्यो। मलाई सधैं बाको मुड्कीदेखि डर लाग्थ्यो, त्यसैले रहर मारेँ। सालघारीमा फेरि पात पलाउन थालेपछि मेरा रहर पनि पलाए। मैले थाहा पाइसकेको थिएँ, थारूहरूले त सबै सुगा रुखका टोड्काबाट झिकेर ल्याएका हुन् रे।

मटेराजस्तो गाउँमा देख्नलाई अरू पनि सपना हुन्छन् भन्ने मलाई थाह थिएन। त्यै भएर मेरो एउटै सपना थियो, सुगा। म त्यो सपना जसरी पनि पूरा गर्नेवाला थिएँ। भन्छन्– साँचो मनले सपनालाई पछ्याउनुपर्छ, त्यसले एकदिन अगाडि आएर घुँडा टेक्छ र शिर निहुराउँछ।

उराठलाग्दो गर्मीको दिन थियो। बेसरम घारीमा दिनभरि लुकीचोरी खेलेर पूर्ण र म सालघारी लाग्यौं। अचानक मैले एउटा सुगा भुर्र उडेको देखेँ। सुगा अग्लो सालबाट उडेको थियो।

‘एई पूर्णे, हेर् त, सुगा उड्यो,’ मैले अत्तालिँदै भनेँ, ‘यो रुखमा सुगाको गुड छ कि क्या हो रु’

सूर्य ठ्याक्कै रुखको टुप्तातिर थियो, त्यसैले एकछिन उसले निधारमा ख्याप्प हत्केला राखेर माथि हेर्‍यो। रुखका पातपातबाट घामको प्रकाश छ्यासमिस भएर छरिइरहेको थियो।

‘छजस्तो छ’ भन्दै उसले मैलो झोला भुइँमा फाल्यो। लामो सास फेर्‍र्यो र बादरझैं रुख उक्लिन थाल्यो। स्यार्र–स्यार्र पाइतालाले आफूलाई माथि धकेल्दै एकैछिनमा ऊ रुखको टुप्पातिर पुग्यो। एकछिन अल्मलियो।
लौ, टोड्को भेटेजस्तो छ।

उसले मतिर हेर्दै मुस्कुराउँदै टोड्कामा हात छिरायो। म तर्सिएँ। ए बा, फेरि टोड्कामा सर्प भेटिने हो कि रु

एकछिनसम्म टोड्को छामछुम गरेपछि पूर्णे मतिर हेर्दै खिस्स हास्यो। मैले थाहा पाइहालेँ, सुगा रैछ। खुसीले मेरा कुर्कुच्चा उचालिन थाले। पूर्णेले सावधानीपूर्वक सुगा सर्टको जेबमा हाल्यो र हतारिँदै बाँदरझैं स्यार्र–स्यार्र तल झर्न थाल्यो।

‘एउटै रैछ, क्यार्नी रु’ उसले पाइन्टको घुँडानेर लागेको धुलो टक्टकाउँदै सोध्यो।

‘मलाई दे न।’

‘नाइँ, म पाल्छु’ भन्दै उसले जेबबाट सुगा झिक्दै हत्केलामा राख्यो।

सुगा ठ्याक्कै एक पाउको मासुको डल्लोजस्तो थियो। छाला भुत्लाएको कुखुराको जस्तो देखिन्थ्यो। आँखा पनि उघ्रिएका रैनछन्। कत्तिपल्ट यसरी ल्याउँदा सुगाका बचेरा रुखमा ददारिएर मर्थे, यो भने जिउँदै रैछ। उसले सुस्त–सुस्त सास फेरिरहेको थियो।

‘मलाई दे न,’ रूँला–रूँला जस्तो गरेर भनेँ।

‘दिन त दिन्छु,’ पूर्णेले गम्भीर स्वरमा भन्यो, ‘तैंले सधैं मलाई हाफटाइममा रोटी दिनुपर्छ।‘

पूर्णेलाई जहिले पनि मेरी आमाले पकाएको रोटी मनपथ्र्यो। पातला र भुक्क फुलेका हुन्थे। यस्तो सुगा पाउनलाई त म हजार रोटीको रिन बोक्न सक्थेँ।

‘दिम्ला,’ मैले भनेँ।

उसले एकछिन सोच्दै ‘ला त’ भनेर सुगा मतिर बढायो।

सुगा मेरो हत्केलामा आयो। उसको ज्यान काँचो माटोझैं नरम थियो र चुच्चो सिन्दुर पोतिएजस्तो गुलाबी। एकछिन ढुंगाझैं शान्त भएपछि सुगा चल्मलायो। नंग्रा मेरा हत्केलामा बिझाए। अचानक उसले आफ्नो चुच्चोले मेरो चोरऔंला क्याक्क पार्‍यो।

दुखाइले मेरा आँसु पित्रिक्क निस्किए। म दुवै हत्केलाबीच सुगा च्यापेर घरतिर दगुरेँ। सुगाको ढुकढुकी बढ्दै गयो। अनि मलाई लाग्यो– मैले मुटु हत्केलामा च्यापेको छु।

***
‘फेरि काँबाट ल्याइस् १’ चल्मलाउन छाडेको सुगा देखेर आमा बम्किनुभो, ‘तेरा बाले मार्छन्।’

साँझ बा आएपछि जे त होला।

म सुगालाई काँ राखुँ भनेर अल्मलिएँ। बिरालो पनि मेरो हातको सुगा देखेर मेरा गोडामा लडिबुडी गर्न थाल्यो। बिरालो हाम्रै घरमा हुर्किएको थियो, दुधकै साक्षी राखेजस्तो पनि हुने।

एउटा बर्खेझरीमा खै कुन्नी कताबाट बिरालो हाम्रो घर आइपुगेको थियो। सानै थियो। झरीले लुछुप्प रुझेको थियो। त्यसपछि अन्त गएन। हाम्रो भयो। अझ मेरो। सुत्दा पनि मैसित सुत्थ्यो।

‘कुन दिन यसले एक गाँस बनाउँछ, अनि थाहा पाउँछस्,’ बिरालोतिर हेर्दै आमाले शंका देखाउनुभो।

‘पिजरामा राखेपछि खान्न।’

‘किन यस्तरी हुक्क पार्छस्, यई रु’ आमाले सुस्केरा हाल्नुभो, ‘कल्ले ल्यादिन्छ पिजरारु’

म बोलिनँ।

दैलोछेउको डेरीमा पूरानो बोरा फेला पारेँ र सुगालाई त्यसमै छोपछाप पारेर डेरीमाथि राखेँ।

‘साँझ बाउको थप्पड खाइस् भने रुँदै मकहाँ नआउनु’ भन्दै आमा भान्सातिर लाग्नुभो।

मैले फेरि बोरा अलिकति माथि उठाउँदै बिस्तारै काँपिरहेको सुगालाई हेरेँ, भोक लागेर होला सायद। थारूहरूले फट्यांग्रा खुवाएको खुवायै गर्थे, त्यसैले म फट्यांग्राको खोजीमा खेततिर दगुरेँ। बिरालो पनि पछि लाग्यो, पुच्छर नचाउँदै।

गहुँका हरिया पातमा एउटा फट्यांग्रा देखियो। म हातखुट्टा टेकेर लम्किएँ। सुस्त बिरालोले पनि पछ्यायो। पछाडिको एउटा खुट्टा के समाएको थिएँ, फट्यांग्रा छट्पटायो। मैले हतार–हतार फट्यांग्राका सबै खुट्टा उखेलेँ, टाउको निमोठिदिएँ।

आखिर फट्यांग्रो ठूलो गहुँको गेडोजस्तो देखियो। करिब आधा घन्टाभित्रमा मेरो सर्टको गोजीमा पाँचछ वटा फट्यांग्रा जम्मा भए।

म सुगातिर दगुरेँ।

बेलाबेला मेरा हत्केलामा ठुँग्दै सुगाले चारवटा फट्यांग्रा खायो। र, फेरि चल्मलाउन छाड्यो।

साँझ बा भान्सामा भात खाँदै हुनुहुन्थ्यो। म बाकै छेउमा थिएँ। सुस्त केही कराको आवाज आयो। आमाले मतिर हेर्नुभो।

मैले चुपचाप भात खाइरहेँ।

फेरि सानो आवाज आयो।

‘जा मर् त। सुगा कराको होला,’ आमाले भन्नुभयो। बाको डरले थुरथुर काप्दै बाहिर दगुरेँ।

बोराभित्र सुगा चल्मलाइरहेको थियो। मैले गोजीमा दुइटा फट्यांग्रा भेटेँ र सुगालाई दिएँ।

घरभित्र जान डरलाग्यो। अबेरसम्म बाहिर उभिरहेँ।

‘एई भात खा। फेरि काँ मरिस्रु’ आमा कराउनुभो।

म लुरुक्क भित्र पसेँ।

बा अगेनाछेउ आँखा चिम्लेर बस्नुभएको थियो। शान्त आवाजमा सोध्नुभो, ‘सुगा ल्याछस्रु’

म शिर निहुराएर उभिइरहेँ।

‘जाँबाट ल्याथिस्, भोलि त्यैं लगेर छोडेस्। नत्र मुड्क्याउँछु,’ बाले अगेनाको अगुल्टो चलाउँदै भन्नुभयो, ‘अब भात खा।’

मैले हतारहतार भात खाएँ।

बिरालोको डरले मैले सुगा रातभरि आफ्नै पलङमुन्तिर लुकाएँ। बेलाबेला ब्युँझिएर के गरिरहेको छ, हेर्थें।

बा बिहानै हिँडिसक्नुभएको रैछ। म भने ज्यान गए पनि सुगा छोड्नेवाला थिइनँ। डेरीकै छेउछाउ लुकाएर राख्न थालेँ। मैले फाटेको सर्ट ओछ्याएर सुगाको ओछ्यान बनाइदिएको थिएँ। सुगा चुच्चाले कपडा कोतर्दै बसिरहन्थ्यो। जंगलबाट मान्छेको भीडमा आएर होला, अलि डराए–डराएजस्तो पनि देखिन्थ्यो।

बाले एकहप्ता पछि थाह पाउनुभो, सुगा त घरमै छ। मलाई हेर्दै दाह्रा किट्दै मुर्मुरिनुभो, ‘पाजी, सुगा मरेको थाहा पाएँ भने मुड्क्याउँछु।’

‘मर्दैन,’ मैले भनेँ, ‘म मर्न दिन्नँ।’

बाको यही धम्कीसँगै मैले घरमा सुगा पाल्ने अनुमति पाएँ।

***
फट्यांग्रा र जुठो भात खाँदाखाँदै सुगा हुर्कियो।

बिस्तारै सुगाका आँखा उघ्रिए। आँखावरिपरि रंगीन घेरा बसे। चुच्चो झन् गुलाबी हुँदै गयो। र, एकदिन सुगाका पखेटाभरि सलाईका काँटी रोपेजस्ता प्वाँख उम्रिए।

बिरालोले पनि सुगालाई घरकै सदस्य मानिसकेको थियो, दिनभरि लर्खराउँदै आँगनमा हिँडिरहेको सुगालाई हेर्दै टोलाउँथ्यो। बेलाबेला सुगालाई जिस्काएझैं झम्टिन खोज्थ्यो, खेलेझैं।

आखिर पखेटामा वसन्त आएझैं सुगाका प्वाँख बाँसझैं हरिया हुँदै गए। अनि त, भुवादार मुलायम प्वाँखले पखेटा भरिए। बेलाबेला सुगा उड्न खोज्थ्यो। त्यही डरले मैले उसलाई डेरीभित्र राख्थेँ र डेरीको प्वाल कार्टुनले छोप्थेँ।

एकदिन आमाले कैंची दिँदै भन्नुभो, ‘ला, प्वाँख काटिदे। नत्र उड्छ।’

प्वाँख रेटिएपछि सुगा हुरीले पात झारेको रुखजस्तो खङरंग पर्‍यो। भ्याट–भ्याट पखेटा तन्कायो र लुत्रुक्क पर्‍यो।

सुगा हुर्किंदै त गयो तर बोल्न सुरु गरेन। मलाई त मान्छे घरमा आउनेबित्तिकै ‘राम राम’ भन्ने सुगा चाहिएको थियो। यस्तो ठुस्स परेर बस्नेवाला त होइन। बेलाबेला बिरालोले झम्टिन खोज्दा एकदुई पल्ट कराउँथ्यो, अनि दिनभरि शान्त।

‘खुर्सानी ख्वाउनुपर्छ।।। बोल्छ,’ मेरो समस्या सुनेर पूर्णेले सिकायो।

‘अनि राम राम भन्छ रु’

‘भन्छ। सबै थारूले सुगालाई खुर्सानी पो ख्वाउँछन्।’

खुर्सानी त घरमै फालाफाल। बारीमा गएर एउटा हरियो ‘जिरेखुर्सानी’ ल्याएँ। सुगा भान्साको संघारतिर मुडुलो पुच्छर नचाउँदै घुमिरहेको थियो। बिरालो अल्लि पर भुइँमा च्यापु अड्याएर चिम्सा आँखाले हेरिरहेको थियो।

‘पट्टु पट्टु’ भन्दै सुगालाई च्याप्प समाएँ र चुच्चो च्यातेर खुर्सानी कोचिदिएँ। उसका पखेटा बेस्मारी फड्फडाए। उड्न खोज्यो, सकेन। बुथु्रक–बुथु्रक उफ्रिदै आँगनभरि फन्का लगाउन थाल्यो।

अचानक ह्वात्त चिलले सुगालाई समायो। कहाँबाट आएको थियो चिल, थाह छैन। आफ्ना धारिला नंग्राले सुगाको मुलायम शरीर च्यापेको थियो। केही सोच्नै पाइएन। चिल बेलौतीको रुख हुँदै उड्यो।

मेरो सास घाँटीमै अड्केलाजस्तो भो। म खाली खुट्टा त्यतातिर दगुरेँ, जता चिल हुइँकिइरहेको थियो। बिरालो पनि मेरा पछिपछि दगुर्‍यो। चिलका लामा–लामा नंग्रामा कैद सुगा आकाशै च्यातिने गरी कराउन थाल्यो। मेरो हिक्का छुट्लाजस्तो भयो। चिल गोठतिर हुँदै उडिरहेको थियो।

पर खेत जोतिरहेका कान्छाबाले म रुँदै दगुरिरहेको देखे। एकछिन उनले अचम्म मान्दै हेरे र चिच्चाए, ‘के भो कान्छा, किन रोको रु’

‘मेरो पट्टु लग्यो।’

उनले आकाशतिर हेरे। चिल धेरै माथि पुगिसकेको थिएन। एउटा माटोको डल्लो समाए र चिलतिर हुर्‍याए। संयोगले, डल्लो बत्तिँदै चिलको छातीतिर बज्रियो। चिल खस्न लाको प्लेनझैं ढल्पलायो। स्वात्त सुगा भुइँतिर झर्‍यो। हतारिँदै कान्छा बाले सुगालाई च्याप्प समाते र भने–

‘लौ भाग्य रछ। फेरि पायौ। अब खुल्ला नछोड्नु।’

मैले डरले थुरथुर कापिरहेको सुगालाई लिएँ। सुगा छट्पटाइरहेको थियो। उसले चोरऔंलाको छाला निस्किनेगरी ठुँग्यो। औंलाबाट रगत रसायो। तर, मैले सुगालाई छाडिनँ। दुखाइले छट्पटिँदै घरतिर दगुरेँ।

‘नपाल भनेको मानिनस्, धन्नै चिलले खाथ्यो,’ आमाले मेरो बेहाल देखेर भन्नुभो, ‘यसरी मर्‍यो भने त पापै लाग्छ।’

मेरो रगतले सुगाको एउटा पखेटा लुछुप्पै भिजेछ। मैले पखालिदिएँ। कपडाले पुछपाछ पारेर सुगालाई डेरीको ढक्कन खोलेर भित्र हुलिदिएँ। सुगा अबेरसम्म कराइरह्यो। बिरालो पनि डेरी वरिपरि घुपमरह्यो।

आमाले फुफु गर्दै मेरो औंलामा मलहम दलिदिनुभो।

साँझ भात खाने बेला मेरो सुन्निएको चोरऔंला देखेर बाले हकार्नुभो, ‘फेरि के बिठ्याइँ गरिस्, भन् १’

म टाउको निहुराएर बसिरहेँ।

आमाले नै दिउँसोको चिल–सुगा र मेरो कथा सुनाइदिनुभो। त्यसपछि बा बोल्नुभएन। भोलिपल्ट बजारबाट फर्किंदा भने बाको हातमा गोलो पिजरा झुन्डिरहेको थियो।

***
‘पट्टु पट्टु।’

पिन्जरामा हुलेको तीनचार दिनपछि बल्ल सुगा बोल्यो। खुसीले मेरा हातगोडा काँपे। त्यो सुनेर आमा पनि मुसुमुसु हाँस्नुभो।

पिजराभित्र फिजाउँदा–फिजाउँदै सुगाका पखेटा फेरि पलाउँदै गए। खानाका लागि मैले पिजराभित्रै सानो कटौरा राखिदिएको थिएँ। त्यसैमा भात, खुर्सानी र पानी आमा र मैले पालैपालो राखिदिन्थ्यौं।

करिब एक महिनासम्म ‘राम राम भन्, पट्टु’ भनेर म कराएपछि एकदिन सुगाले टर्रो आवाजमा दोहोर्‍यायो, ‘राम राम।’

लौ, सुगा बोल्ने भो। त्यसपछि त नयाँ मानिस घरमा देख्यो कि सुगा कराइहाल्थ्यो। एकदिन बा आउँदा पनि ‘राम राम’ भनेछ। बाले रमाइलो मान्नुभो।

बिरालो पनि सुगासँग नजिकिइसकेको थियो। बुरुक्क उफ्रिँदै पिजरालाई झम्टन खोज्थ्यो, सुगा पनि पिजराभित्र फनफनी नाच्थ्यो। र, आफ्नो टाउको हावामा फनफनी घुमाउँथ्यो। सुगा र बिरालोको यस्तो खेल भर्खरै लभ परेका किशोर–किशोरीको ठट्टाजस्तो लाग्थ्यो। पिरतीमा पनि कसैले कसैलाई चोट पुर्‍याउला र १

एकदिन त के भो, कुन्नि १ सुगा दिनभरि टर्रो आवाज निकालेर पिजराभित्र छट्पटाइरह्यो। पखेटा पिँजराका जालीमा जोडले ददाथ्र्यो। आफ्नो कडा चुच्चाले पिजराको तार टोक्थ्यो। सुगा त बौलायो कि क्या हो रु जे खान दिए पनि शान्त भएन।

‘किन यस्तरी करा छ रु’ आमाले भन्नुभो, ‘पिजराभित्र गुम्सिएजस्तो छ। खोल्दे त।’

‘नाइँ,’ म अत्तालिएँ।

‘खोल्दे, भाग्दैन,’ आमाले भन्नुभयो।

जे पर्ला पर्ला भनेर मैले पिजरा खोल्दिएँ। सुगा पखेटा फिजाउँदै बाहिर निस्कियो। उड्न खोज्दा एकछिन आँगनमा पछारियो। फेरि प्रयास गर्‍यो, अलिकति माथि उड्यो। बिचराका पखेटा कुजिएछन्। र, एकछिनपछि भुर्र उड्दै आँगनछेउको
डुम्रीको रुखको हाँगामा थपक्क बस्यो। अनि यताउता उड्दा–उड्दै किम्बुको रुखका हाँगा हुँदै देखिन छाड्यो।

मेरो सातो उड्यो, लौ अब सुगा गयो।

तर, सुगा साँझपख त आँगनमा आइपुग्यो। त्यो देखेर बिरालो झम्टिन गयो। भुर्र उड्दै सुगा मेरो छेउ आयो र मेरा हत्केलामा थपक्क बस्यो। मेरो हर्षको सीमा रहेन।

त्यसदिन पहिलोपल्ट सुगाले आफ्ना पखेटा फिजारेर उड्न पाएको थियो।

केही दिनपछि मेरो हर्षले खुसीको सगरमाथा नाघ्यो, एकाबिहानै सुगा करायो, ‘एई बुद्धि, उठ्।’

बिहान–बिहान आमाले भन्ने वाक्य उसले सिकेको थियो। त्यसपछिका दिनमा त आमा कराउनुअघि नै सुगा कराइहाल्थ्यो, ‘एई बुद्धि, उठ्।’

मेरो सपना पूरा भयो। सुगाले बोल्न थाल्यो भन्ने थाह पाएपछि पूर्णे पनि हेर्न आयो। र, उसले भन्यो, ‘मैले पाल्न पर्नि रैछ।’

म हाँसेँ।

‘पूर्णे पूर्णे भन्थ्यो होला,’ उसले बाबुले आफ्ना सन्तानतिर हेरेझैं हेर्‍यो, ‘जे पनि मैले झिकेको सुगा हो नि।’

त्यसपछि त हरेक बिहान आमा र सुगा एकैपल्ट कराउँथे– एइ बुद्धि उठ्। पछिपछि आमाले मलाई उठाउन छाड्नुभयो। आमाको मधुरो आवाजले उठाउदा नउठ्ने म सुगाको तिखो स्वर कानमा पर्नेबित्तिकै उठ्थेँ।

कहिलेकाहीँ सुगाले उठाउन बिस्र्यो भने आमा सुगालाई भन्नुहुन्थ्यो, ‘आज त तेरो बाउलाई उठाइनस् त।’

***

करिब एक वर्षपछि हामी मटेराबाट कटासे बजार बसाई सर्‍यौ।

बिरालो पनि पछि लाएर आयो। सुगालाई त छोड्ने कुरा भएन। वनैवनको बाटो बजारतिर जाँदा एकपल्ट सुगा पिँजरा नै च्यातेर बाहिर निस्कुलाझैं छट्पटाएको थियो। आखिर वन नै त हो उसको घर। आखिर सुगालाई सुनको पिँजराभन्दा आफू जन्मेको रुखको टोड्को नै प्रिय लाग्दो हो।

मैले सुगाको छटपटी देख्न सकिनँ र कपडाले उसको पिँजरा ढाकिदिएँ। सायद, मैले सुगालाई वनमै छाडिदिएको भए हुने। बिचरा रुखका हाँगाहाँगामा दगुर्दो हो। आकाशलाई छोप्नेगरी आफ्ना पखेटा फिँजाउँदो हो। मैले उसका गहिरा आँखाको उदासी देखिनँ।

मैले सुगालाई मान्छेहरूको समुद्रमा पुर्‍याइदिएँ।

गाउँमा हुर्केको मलाई त बजारमा उकुसमुकुस भयो। मान्छेको होहल्ला। हजार पाइलाको आवाज। चर्कोचर्को आवाजमा बज्ने गीत। बजारभरि मान्छे नै मान्छे थिए। म मान्छे त रमाउन सकिनँ, झन् सुगा र बिरालोको के कुरा १

बजार आएपछि सुगा र बिरालो केही आतंकित देखिन्थे। पिजरा मेरो सिरानछेउ माथिपट्टि झुन्डियो। बजारमा अल्मलिएला भनेर सुगालाई पिजराबाहिर निस्कन मनाही भो।

बिरालो पनि घरबाट बाहिर निस्किँदैनथ्यो, दिनभरि घरमै हुन्थ्यो। एकदिन बजारका लुते कुकुरले लखेटेर उसको सातो लिएछन्। बिचरा घरको चर र छानामा छट्पटिँदै घुमिरहन्थ्यो। बिरालोलाई प्रेम गर्ने कोही थिएन, बजारमा। राति लुसुक्क मेरो ओछ्यानमा सुत्न आइपुग्थ्यो। बिरालोको सुद्धि हराउँदै गएजस्तो लाग्थ्यो। बिरक्तिएको बुढो मान्छेझैं टोलाइरहन्थ्यो।

बजारमा मेरा त्यति साथी थिएनन्। मैले खासमा साथी पनि बनाउन सकिनँ। सुगा र बिरालो नै साथी भए। म दिनभरि तिनैसँग खेलेर बस्थेँ। हुन त बिरालो र सुगाजति असल साथी को नै भेटिन्थे र १ स्कुलबाट फर्कने बेला बिरालो मेरो नै बाटो कुरिरहन्थ्यो। जब म घरभित्र पस्थेँ, सुगा आफ्ना पखेटा फटफटाउँदै स्वागत गथ्र्यो।

सारा कटासेमा मलाई देख्दा खुसी हुने यी दुवै त थिए।

सुगालाई जे भए पनि मिठो लाग्ने त फट्यांग्रा नै रैछन्। बजारमा गाउँमा जति फट्यांग्रा पनि हुँदैनथे। कहिलेकाहीँ जाँगर चल्यो भने म जमराखोलाको किनारमा पुगेर केही फट्यांग्रा ल्याइदिन्थेँ। सुगालाई दसैं नै आउँथ्यो, त्यतिबेला।

आँखा नउघ्रेको सुगा ल्याएको थिएँ। अब त लक्का जवान भइसकेको थियो। आवाज पनि पहिलाजस्तो तिखो थिएन। रेडियोको भोलुमभन्दा पनि जोडले कराउन सक्थ्यो। उमेर हुँदै गएकाले होला सुगा पहिलाजस्तो कराइरहँदैनथ्यो। चाहिएको बेला कराउँथ्यो। उसको खानाको मात्रा पनि बढेको थियो।

कहिलेकाहीँ म सुगाको पिँजरा पसलको ढोकामा झुन्ड्याइदिन्थेँ। सुगा गल्लीमा हिँड्ने मान्छे देख्यो कि ‘राम राम’ भन्थ्यो। टर्रो ‘राम राम’ सुनेर मानिसहरू सुगातिर हेर्थे र अचम्म मान्थे। कसैले जवाफ पनि फर्काउँथे। बजारका कुकुरहरू भने पिँजरातिर हेर्दै बेस्मारी भुक्थे।

पिजरा मेरो सिरानछेउ झुन्डिन थालेपछि मैले कहिल्यै अबेरसम्म सुत्न पाइनँ। बिहान भयो कि सुगा कानका जाली फुटाल्ने गरी कराउँथ्यो, ‘एई बुद्धि, उठ्।’

मेरो जीवनको एउटा लय बनिसकेको थियो। पछिपछि त लाग्न थालिसकेको थियो, सुगाले उठाएन भने सुतेको सुत्यै हुन्छु कि १ सुगाको टर्रो आवाज मलाई असाध्यै आत्मिय लाग्थ्यो। प्रेमले बोलायो भने जस्तो टर्रो आवाज पनि मिठै सुनिँदो रैछ।

हजार सुगा वनमा पखेटा फैलाउँदै उड्थे। ताजा फल खान्थे। आफ्नै आवाज फर्किएर आउने वनमा कराउँथे। मेरो सुगा भने कटासे बजारको तेस्रो गल्लीमा आफ्ना कुँजिदै गएका पखेटा पातझैं हल्लाउँदै मेरो नाम लिइरहन्थ्यो। सायद, मेरो सुगाले आफूले बोलेको आवाज फर्किएर आफ्नै कानमा आउँदाको आनन्द महसुस गर्न पाएन।

म आफ्नो प्रेमका लागि सुगालाई बन्दी बनाइरहेको थिएँ। प्रेममा त पखेटा फैलाउन पो दिनुपर्छ।

***

बजार सरेको छ महिनापछि एक बिहान सुगा एकपल्ट मात्र करायो। जब मैले पिजरातिर हेरेँ, त्यहाँ सुगा थिएन। एउटा खाली पिँजरा हल्लिरहेको थियो।

सुगाको अन्तिम भ्याट–भ्याट सुनेर आमा पनि भान्साबाट बाहिर आउनुभो। रित्तो पिजरा बेस्मारी हल्लिरहेको थियो।

‘काँ गयो सुगा रु’ आमाले सोध्नुभो।

म छट्पटिएँ, ‘खै, म उठ्दा थेन।’

‘ढाडेले खायो कि क्या हो रु’ आमा अत्तालिनुभो।

मलाई भनन रिङटा चल्न थाल्यो। मैले हिक्का थामेर घरका कुनाकाप्चा र चेप खोजेँ। सुगा कतै भेटिएन। सुगाको एउटा प्वाँख भने दुई घरबीचको साँघुरो चेपमा अल्झिएको थियो। सुगालाई त्यतै लगेको हुनुपर्छ, मैले सोचेँ, तर केले रु

बिहानको त्यो घटनापछि भने बिरालो साँझसम्म पनि घर आएन। मैले म्याउँ–म्याउँ गर्दै जताततै खोजेँ। र, थाह भो– मेरो सुगालाई मेरै बिरालोले खाएछ।

‘नपाल् भनेकै त थेँ,’ राति बाले भन्नुभो, ‘देखिस् रु पाप लाग्छ तँलाई।’

म घोसेमुन्टो लाएर बसिरहेँ।

मैले अचानक सबथोक हराएको थिएँ। म रित्तो भएको थिएँ। हृदयभरि एउटा खालीपन उब्जियो। म त्यसलाई क्यै क्यैले भर्न सक्दिनथेँ।

‘देउताजस्तो थ्यो बिरालो,’ आमाले निरस स्वरमा भन्नुभो, ‘सहराँ आएपछि राक्षस भो।’

त्यसपछि बिरालो घरमा देखिएन।

***

करिब दुई हप्तापछि, म मध्यरात अचानक ब्युझिएँ।

क्यैले क्याक्क टोकेजस्तो लाग्यो, पिडौलामा। मेरो गोडानेर केही गुजुल्टिएजस्तो लाग्यो। लौ, मेरो ज्यान थरर्र काँप्यो। म चिच्याएँ, ‘आमा, सर्पले टोक्यो।’

‘के भन्छ यो १’ आमा कराउनुभो। झिलिक्क बाको तीनसेले टर्च बल्यो। बाआमा दगुर्दै आउनुभो। मैले ह्वात्त सिरक फालेँ।

टर्चको उज्यालोमा बिरालो पो देखियो। उसले निला आँखाले हेर्दै म्याउँ गर्‍यो।

मेरो सास आयो।

‘लौ बिरालो त फर्केछ,’ आमाले बिरालोलाई हर्कानुभो, ‘एई, आफ्नै पट्टु खाइस्, फेरि किन आइस् रु’

बिरालो झोक्राएर बसिरह्यो। बेलाबेला आफ्ना अगाडिका खुट्टाले जुँगामा ताउ लाइरह्यो। गल्ती गरेझैं चुपचाप बसिरह्यो। सकेसम्म मायालु अनुहार लायो।

‘भो गाली नगर,’ बाले भन्नुभो, ‘मान्छेले त गल्ती गर्छन्। यो त जनावर नै भो।’

बिरालो खुबै दुब्लाएछ। रौं पनि झरेका थिए। बिचराले कहाँ–कहाँ हन्डर खायो होला। डराए–डराएजस्तो देखिन्थ्यो। भोलिपल्ट म स्कुल जाँदा ऊ घरमै थियो, फर्किंदा पनि घरमै भेटियो।

ऊ पहिलाजस्तो थिएन। म स्कुलबाट फर्किंदा मेरा गोडामा लडिबुडी गर्न आइपुग्ने बिरालो टुलुटुलु हेरिरन्थ्यो। म नै काखमा राख्थेँ। पहिला भोक लाग्दा म्याउँ–म्याउँ गर्दै कराइरहने बिरालो चुपचाप बस्थ्यो। खाना दियो भने खुरुक्क खान्थ्यो।

ऊ समाजमा बदनाम भइसकेको मान्छेजस्तो लुरे भएको थियो।

‘यो त सुत्केरी भएजस्तो छ,’ एकदिन आमाले भन्नुभो, ‘बच्चाहरू काँ फालेछ खै।’

उमेर पनि भएर होला– छानाछानामा उफ्रिँदै हिँड्दैनथ्यो। टोलाइरहन्थ्यो। मान्छे भए धुरुधुरु रुँदै माफी माग्थ्यो होला। उसको दुख्ख यत्ति थियो, ऊसित मान्छेको भाषा थिएन। मसित पनि ‘तँलाई माफ गर्दें’ भन्ने उसको भाषा थिएन। भाषाहीन हुनुजत्ति ठूलो पीडा अरू क्यै हुँदो रैनछ।

राम्रो रेखदेख पाएर होला, बिरालो फेरि मोटाउँदै गयो। उसका झरेका रौं फेरि टम्म भरिए। बैंस फेरि फर्कियो। तर, बिरालोको उत्साह फेरि फर्किएन। बिस्तारै बिरालो घरमै भए पनि नभएजस्तै हुँदै गो। केवल राति मेरो ओछ्यानमा लुसुक्क पस्थ्यो र निदाउँथ्यो। म उसलाई सुमसुम्याइरहन्थेँ।

दिनहरू मिलको पट्टाझैं फनफनी घुम्दै गए।

ऊ फर्केको दुई महिना भएको थियो। एकसाँझ बिरालो खाना खानेबेला भान्सातिर देखा परेन। आमाले कटौरामा उसको लागि खाना छुट्याइदिनुभएको थियो।

म चाँडै सुतेँ।

राति खै किन हो, म जागेँ। बिरालोको सम्झना आयो। बिरालो मेरो ओछ्यानमै थियो। तर, सधैं छातीनेर हुन्थ्यो, त्यसदिन गोडानेर थियो।

म्याउँ–म्याउँ गर्दै मैले बोलाएँ तर बिरालोले जवाफ दिएन। निदाएको होला भन्ठानेर म फेरि निदाएँ।

बिहान पो थाह भो– मेरो बिरालो त मरिसकेको रैछ।

उसको ज्यान ढाडिएको थियो। उसको आधा ज्यान मेरो ओछ्यानमै थियो, टाउको भने ओछ्यानबाहिर। उसले वाकेको थियो। ओछ्यानबाहिर नै वाकेछ। मेरा आँसु तुरुक्क झरे।

भन्नेहरू भन्छन्– कुकुर होस् या बिरालो मान्छेको संगतमा मान्छेजस्तै हुन्छन्। मेरो बिरालो पनि मान्छे भइसकेको थियो। उसले थाह पाएको थियो, ओछ्यानमा वाक्नु हुँदैन।

‘बिष खाएर मरेको मुसो खायो होला,’ आमाले निरास स्वरमा भन्नुभो।

मैले बिरालोलाई कागजको कार्टुनमा राखेँ। र, साइकल कुदाउँदै कटासेछेउको सालघारी पुर्‍याएँ। खाल्डो खनेँ।

मेरो सानो बिरालो, सानै खाल्डो।

खाल्डोमा बिरालोलाई सुताइदिएँ। एकपल्ट नियालेर हेरेँ। उसका आँखा उघ्रेकै थिए। तर, धमिला थिए। वनमा चरा कराइरहेका थिए। तर, बिरालोले जिन्दगी निभाइसकेको थियो। लखेट्न उठेन।

एकपल्ट मनभरि बिरालोलाई हेरेँ। आँसु पुछेँ र माटो खसालिदिएँ।

(सेतोपाटीबाट साभार)

About The Author

Loading...