१५ चैत, धादिङ –
एसिया कप छनौट अन्तर्गत नेपालले आज फिलिपिन्ससँग प्रतिस्पर्धा गर्दैछ । मनिलाको रिजल मेमोरियल रंगशालमा हुने खेल नेपाली समय अनुसार बेलुका पौने ६ बजे सुरु हुनेछ । एएफसी सोलिडारिटी कपको उपाधि जितेकाले नेपालले एसिया कप छनौट खेल्ने अवसर पाएको हो ।
सन २०१५ मा भारतसँग समग्रमा २–० ले हारेपछि नेपाल एएफसी सोलिडारिटी कप खेल्न गएको थियो । सोलिडारिटीको उपाधि जितेपछि नेपालले फेरि एसिया कप छनौटमा स्थान बनाएको हो । पछिल्ला ८ खेलमा अपराजित रहेको नेपाली टोलीलाई फिलिपिन्स यात्रा भने निकै कठिन हुने देखिएको छ ।
फिफा बरियतामा फिलिपिन्स नेपाल भन्दा ४६ स्थानमाथि छ । बरियतामा नेपाल एक सय ७० तथा फिलिपिन्स एक सय २४ औं स्थानमा छ । फिलिपिन्ससँगको नेपालको पछिल्लो अनुभाव त्यति सहज नरहेकाले यो खेल नेपाली टोलीका लागि चुनौती रहने छ । फिलिपिन्ससँगका पछिल्ला तीन खेलमा सबैमा नेपाल पराजित भएको छ ।
खेलाडीसहित प्रशिक्षक ग्योटिक कोजुका लागि पनि यो खेल त्यती सजिलो हुने छैन । खेल अघिको पत्रकार सम्मेलनमा प्रशिक्षक कोजुले फिलिपिन्स बलियो टिम रहेको तर आफूसँग पनि सन्तुलित टिम भएकाले आशावादी रहेको बताए । खेलाडीले अपेक्षा अनुसार खेलेमा जित असम्भव नरहेको उनको भनाई छ ।
नेपाली टोलीका कप्तान विराज महर्जनले टिम लयमा रहेकाले सबै खेलाडी राम्रो नतिजाका लागि प्रयासरत रहेको बताएका छन । फिलिपिन्सका कप्तान जेम्स योङहजब्याण्डले भने आफ्नो टिम नेपाली टोलीसँग सतर्क भएर खेल्ने बताए । सानो भुलले ठूलो मूल्य चुकाउनु पर्ने तर्फ आफूहरु सजग रहेको उनले बताए । फिलिपिन्सका प्रशिक्षक थोमस डोलीले नेपाली टोली अहिले धेरै सुधार भएकाले यसअघिको प्रदर्शनले कुनै अर्थ नराख्ने बताएका उज्याले अनलाईनले खबर लेखेको छ ।
नेपाली टोलीमा अनिल गुरुङ्ग परेका छैनन भने चोटका कारण टिममा युवा स्ट्राइकर नवयुग श्रेष्ठ पनि छैनन । नेपाल रहेको समूह ‘एफ’ मा ताजकिस्तान, यमन र फिलिपिन्स रहेका छन । नेपालले होम एण्ड अवे पद्धति अनुसार यी तीन देशसँग ६ खेल खेल्ने छ । समूहको विजेता वा उपविजेता बनेमा नेपालले सन २०१९ मा युएईमा हुने एसिया कप खेल्न पाउने छ ।
२०७३ चैत १५ गते प्रकाशित