Sat. Jul 27th, 2024

पत्रकारको जीवन

purna p

  पूर्णप्रसाद न्यौपाने

आज विश्व रेडियो दिवस । यो अवसरमा सबैलाई शुभकामना । आवाजविहिनहरुको आवाज बनेर समाजको विकास र रुपान्तरणमा योगदान तथा विश्वसनीय सञ्चार सामुदायिक रेडियोसँग मेरो सम्बन्ध धेरै नजिक छ । २०६४ सालमा एसएलसी पास गरेँ, जुनबेला म १४ वर्षको थिएँ । त्यतिबेला एउटा रहर थियो मनभित्र, पत्रकार भएर समाजलाई बदल्ने । त्यो रहर पुरा हुने आशमा कलम चलाउँन थालेँ । अहिले ८ वर्ष बितेको पत्तै भएन । यो अवधिमा पाठकवर्ग र स्रोताको धेरै माया पाइयो, धेरै प्रसंसा पनि कमाईयो । सम्मानपत्र, प्रसंसापत्र र सानातिना पुरस्कार पनि ।

लाखौँ संघर्ष, हजारौँ  दुःख र केही मात्रामा सफलता मिलेको यसविचमा ७ वर्ष पूरा गर्दा ७ वटा कुरा सिकियोः

१) कोसँग के कुरा गर्ने ?

२) कोसँग कसरी कुरा गर्ने ?

३) कोसँग कति कुरा गर्ने ?

४) कोसँग कुन अवस्थामा कुरा गर्ने ?

५) कोसँग किन कुरा गर्ने ?

६) कोसँग कहिले कुरा गर्ने ?

७) सत्यको लागि किन कुरा नगर्ने ?

आभार व्यक्त गर्दछु सवै पाठक वर्ग र स्रोताप्रति । आशा र विश्वास पनि छ आगामी दिनहरुमा पनि तपाईहरुले यसरी नै माया गर्नुहुनेछ । यद्यपि गाली गर्ने, धम्की दिने र अवरोध गर्नेहरुको पनि कमी छैन, तर पनि मेरो जोस् रहर र पाठकले गरेको मायाको तुलनामा त्यो धेरै कम हो । माया जति पाईएपनि आत्म सन्तुष्टि लिने कुरा र एकछिनको लागि नाक फुलाउने वाहेक अरु केही हुँदो रहेनछ । पारिवारिक आवश्यकता, आफ्नो पेट, कोठा भाडा र रिचार्जको बिल यी सबैका लागि अझ कुरा पैसासंगै जोडिदो रहेछ, जोडिन्छ, जोडिनु पनि पर्छ । तर जम्मा गर्ने नहोला आवश्यकता टार्न खाँचौ छैन ।

‘सरकारी कर्मचारी भएर केही कमाउन सकेन, मान्छे वेकार रहेछ’ भन्ने हाम्रो समाजले पत्रकार भनेपछि धेरै पैसा कमाउने पेशा हो भन्ने सोच्नु अन्यथा होइन होला । तर, पत्रकारको कमाइ कस्तो छ भनेर भनी साध्य छैन । विहान पाँच बजेदेखि राति दश बजे सम्म खटेर काम गरे वापत सञ्चारगृहहरुले दाँतबाट पसिना चुहाएर दिने तलवले विहान बेलुकीको छाक टार्ने पेशाले सहरमा घर घडेरी किन्ने, परिवारका सदस्यसँग रमाएर बस्ने भन्ने त सपना मात्रै हो । चाँडवाड आउँदा परिवारका सबै सदस्यलाई एकसरो लुगा र एकछाक मिठो मसिनो खाना पु¥याउन पनि धौ–धौ को अवस्था हुँदो रहेछ । अझ दुःखको कुरा पत्रकारहरु विरामी भएपछि मर्नुपर्ने, बाँच्नका लागि भिख मागेर उपचार गर्नुपर्ने अवस्था छ । यस्तो समस्या धेरै अग्रजहरुले भोग्नुभयो, सायद अब त्यो पालो मेरो आउने निश्चित छ ।

विकटताका दृष्टिकोणले  पूर्वको कर्णाली भनेर चिनिने ओखलढुंगा अनि अविकसित ठाउँ त्यसमा पनि पहाडी जिल्लाहरु, सञ्चार क्षेत्रलाई सहयोग गर्नुपर्छ भन्ने भावनाको विकास भइनसकेको अवस्थामा मोफसलको पत्रकारिता जटिल छ भन्ने कुराको अनुभति यहाँ बसेर काम गरिरहेका पत्रकारहरुलाई मात्र थाह छ । त्यसो त पत्रकारहरु भत्ता बुझ्नका लागि मात्र कार्यक्रममा आउँछन् र पत्रकारिताको नाममा दुनियाँलाई सताउँछन् भन्नेहरुको संख्या पनि कम छैन । कलाकारिता र पत्रकारिताका क्षेत्र ख्याति प्राप्त दर्जनौ मानिसहरु जन्माउने ओखलढुंगेली आमाले त्यसको अर्थ र महत्व बुझ्ने सन्तान जन्माउन सकेकी छैनन् जस्तो लाग्छ ।

युगकवि सिद्धिचरण श्रेष्ठ, राष्ट्रियगानका रचियता व्याकुल माईला लगायतका दर्जनौ विशिष्ट तथा विश्व चर्चित व्यक्तिहरुको जन्मभूमि विकासका दृष्टिले पनि सधैं उपेक्षित रह्यो ओखलढुंगाको हर्कपुर र उदयपुरको घुर्मी जोड्ने सुनकासी पुल निर्माणका लागि १४ वर्ष लाग्यो, बनाउनेभन्दा कस्ले जस लिने भनेर गरिएकोे राजनीति देख्दा यसरी जिल्लाको विकास कहिले होला ? जस्तो लाग्छ । अनि जिल्लामा भइरहेका विकास निर्माणको नाममा हुने गरेको भ्रष्टचार, अनियमितता, शिक्षाको स्तर र युवा विदेशिने क्रम हेर्दा विकासको गति खासै अगाडि बढ्ला भन्ने सोच्न सकिन्न ।

देशभर पत्रकारिता गर्ने साथीहरु त्यसमाथि पनि पहाडी जिल्लामा बसेर पत्रकारिता गर्नेहरुका पिडाहरु मेरा पिडासँग हुवहु त नमिल्लान् तर यस्तै पीडाबाट उनीहरु कोहि पनि टाढा छैनन् । बेला बेलामा पत्रकारिता गर्ने साथीहरुले लेखेका यस्तै लेखहरु पढ्दा साँच्चै मलाई हेरेर मेरा कुराहरु लेखेको त हैन ? भन्ने जस्तो लाग्छ ।

नेपाल पत्रकार महासंघका सदस्यहरु मात्रै गणना गर्ने हो भने अन्य जिल्लाहरुमा सयांैको संख्या पुग्दा पनि ओखलढुंगामा दुई दर्जन पुग्न सकेका छैनन् । भलै महासंघको सदस्य भएका थुप्रै व्यक्तिहरु बिगत लामो समयदेखि पत्रकारिता पेशासँग बोका बेचेको जत्तिको साईनो पनि राख्दैनन् तर पनि उनीहरुको सदस्यता नियमित रुपमा नविकरण हुने भएका कारण उनीहरुलाई हामीले सदस्य मान्नै पर्ने हुन्छ । अहिले सम्म जिल्लामा महासंघबाट सदस्यता लिनेहरु जम्मा १९ जना छन् । महासंघका सदस्यका अलवा पनि थुप्रै पत्रकारहरु छन् जो महासंघका सदस्य नभएर पनि क्रियाशिल छन् । उनीहरुको संख्यासमेत जोड्ने हो भने बल्ल २५ जना पुग्ने अवस्था छ ।

यी पत्रकारहरुमध्ये केही राष्ट्रिय स्तरका नाम चलेका सञ्चारगृहमा पहिले देखिनै काम गरिरहेका भएका कारण साँझ बिहान हातमुख जोड्नेसम्मको पारिश्रमिक आउँछ अन्यथा राष्ट्रियस्तरकै सञ्चारमाध्यममा काम गर्ने साथीहरु र स्थानीयस्तरमा काम गर्ने साथीहरु सबैको अवस्था छाक टार्न धौ–धौ को छ । अझ अधिकांश नाम चलेका पत्रकारहरुको व्यथा सुन्न नसक्ने छ, कहिले मौका मिलाएर अरब कुदौँ ? कहिले के गरौँ ? के व्यवसाय पो गरौँ ? यस्ता आवाजहरु सुन्न पाइन्छ । त्यसैले अधिकांस साथीहरुले बाँच्नका लागि बैकल्पिक बाटो रोज्नु पर्ने बाध्यता छ ।

समाजले जसरी सञ्चार क्षेत्रलाई सम्मान गर्छ ठीक त्यसरी नै सञ्चारकर्मीहको राम्रो कमाई छ भन्ने पनि ठानेको छ । कतिपय अवस्थामा त्यस्तो देखिएको पनि छ । असार मसान्तमा सरकारी कार्यालयहरुमा धाउने केही सञ्चारकर्मीहरु छन् भन्ने हल्ला पनि वजारमा चल्ने गरेको छ । समाचारको बिषयलाई लिएर मोलमोलाई गर्ने सञ्चारकर्मीहरु पनि छन् भन्ने प्रसंग पनि वेलावेलामा आउछ । यो कति सत्य हो भन्ने कुरामा मैले कुनै टिप्पणी गर्दिन किनभने मैले त्यो बिषयमा कुनै अध्ययन वा प्रमाणहरु भेटाएको छैन । एक पत्रकारले त्यसो गर्दैन होला भन्ने मात्र कल्पना गर्छु । आफु जस्तै अरुलाई पनि सोच्छु ।

म जस्ता नेपालका सामुदायिक रेडियोकर्मीहरु पक्कै मिडिया हाउसका मालिक र ठुला पदमा बस्नेहरुको पेलान र हेपाईबाट विचलित छन् । ठुला ठुला चर्चा योग्य काम गर्दा धन्यवाद दिन नसक्ने मालिकहरु सानो कमजोरी औँल्याउन पछि पर्दैैनन् । यति सम्म तल गिरेर व्यवहार गर्छन् कहिले काँहि त लाग्छ मालिक हुन कि अरु केहि…………….. ??

रेडियोकर्मीको स्वतन्त्रता मालिकहरुले बुझ्न कहिले सक्लान् ? अनि भाषाका आधारमा, जातका आधारमा, धर्मको आधारमा र राजनैतिक आस्थाका आधारमा विभेद कहिलेसम्म चलिरहला ? यो सबै कुरा सोच्ने हो भने १ मिनेट पनि पत्रकार बनेर बस्न मन हुँदैन । म जस्ता साथीहरुलाई । हुनत संघर्ष र चुनौति विनाको कुन पेशा हुन्छ र ? प्रश्नै प्रश्न घुमिरहन्छन् अघि पछि ।

निश्चितै रुपमा पेशा दैनिक गुजरा चलाउनका लागि गरिन्छ, पारिवारिक आवश्यकता पुरा गर्नका लागि हुन्छ, छोराछोरीको अध्ययनको आधार जुटाउनका लागि हुन्छ, बाबा, ममी श्रीमती लगायतको खुःसीका लागि हुन्छ । यदि यतिसम्म पनि गर्न सकिएन भने त्यो पेशा गर्नु र नगर्नुको कुनै अर्थ हुँदैन तर के गर्ने जीवनको महत्वपूर्ण आठवर्ष यसै पेशामा बिताईयो । त्यसै छोडेर पनि जान सक्ने ठाउँ रहेन । एक खालको पहिचान, एक खालको अनुभव, एक खालको अनुभुति सवै कुरा यसै पेशामा भइयो । कहिले काँहि त फुत्त उठेर हिँडउँ, पेशा परिवर्तन गरौँ जस्तो लाग्ने तर यो त्यस्तो पेशा रहेन, लत बसेपछि अरु पेशामा ध्यान सायदै कसैको जान्छ होला ?

तर पनि एक प्रकारको सन्तुिष्ट छ, कम्तिमा कलमले कोरिएका दुई अक्षरले धेरै मान्छेलाई खुशी बनाएको छ । अरुको तुलनामा आर्थिक उपार्जन बाहेक अरु कुरामा सन्तुष्टि गर्ने ठाउँ छ । यद्यपि धेरै मान्छेहरु अहिले समाचारको बिषयलाई लिएर सडकमै, भट्टीमा, कार्यालयमा, सार्वजनिक स्थलहरुमा गाली गर्दैछन्, धम्की दिँदैछन्, हातपात पनि गर्दैछन् तर पनि हामी सञ्चारकर्मीहरुले सञ्चारकर्मीहरुका स्थायी मित्र र स्थायी शत्रु कोही हुँदैनन्, सवालगत रुपमा शत्रु र मित्र बन्दै र फेरिदै जान्छन्  भन्ने मान्यताका साथ अगाडि बढ्नुको कुनै विकल्प छैन । यसैमा रमाउनु र सन्तुष्टि लिनु वेश छ ।

जय पत्रकार जय पत्रकारिता …………………………

About The Author

Loading...

अन्य समाचारहरु: