राधिका सापकोटा
विसौं शताव्दिको सुरुवातसंगै यूरोपियन मुलुकमा औद्योगिकीकरणको विस्तार र विकासको व्यापकता संगसंगै क्रान्तिकारी विचारधाराहरुको विकासमा पनि तिव्रता आयो र विश्वमा विज्ञान र प्रविधिको विकास, उत्पादनमा वृद्धिसंगै श्रमिक र पुँजिपति वर्गको पनि विकास हुन थाल्यो । पुँजिपतिहरुले आफ्नो वर्गिय विशेषता अनुरुप श्रमिकहरुको श्रमको अत्यधिक शोषण गरी मुनाफा कमाउने होडवाजी गर्न थाले । यस्तो शोषणको प्रतिवाद गर्दै श्रमिकहरुले आफ्नो श्रमको उचित मूल्य, काम गर्ने स्वस्थकर वातावरण र सामाजिक सुरक्षा, ८ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम जस्ता आधारभूत अधिकारको माग राखि संघर्षको थालनी गरे । त्यस समयमा महिलाहरु भने सिमित संख्यामा मात्र रोजगारमा सामेल थिए, सार्वजनिक क्षेत्रमा महिलाहरु नगन्यरुपमा मात्र थिए । यहि परिवेशमा महिलाहरुले सार्वजनिक क्षेत्रमा प्रवेश पाउनुपर्ने, रोजगारीको अधिकार, मताधिकार जस्ता अधिकारको कुरा उठाउन थाले ।
सन् १९०८ मा महिलाहरुमाथिको दमन, दिनमा १८ घण्टाभन्दा धेरै काम गर्नु पर्ने बाध्यात्मक अवस्था र असमानता जस्ता कुराहरुको विरोध गर्दै महिलाहरु बोल्न र क्रियाशिल बन्न थाले र अमेरिकाको शिकागोमा काम गर्ने घण्टामा कार्य घण्टा घटाउने, उपयुक्त तलव र मताधिकारको माग गर्दै १५००० महिलाहरुले र्याली गरे । त्यसै बीच सन् २००९ मा अमेरिकामा समाजवादी पार्टीको घोषणा भयो । यसमा महिलाहरु पनि सम्मिलित भएर महिला अधिकारका कुराहरुलाई अझ व्यवस्थित रुपमा निरन्तर उठाउँदै आए । यही नै अन्तर्राष्टिय श्रमिक महिला दिवसको पुर्वाधार समेत बन्न पुग्यो । तत्कालिन समयमा महिलाहरुले आफ्नो अस्तित्वबोध गरेर परिवारको सीमित घेरालाई तोड्दै सार्वजनिक क्षेत्रमा महिलाको पहुँच हुनुपर्ने कुरा उठाएता पनि महिला आन्दोलनको स्पष्ट खाका कोरिईसकेको थिएन । अन्तर्राष्ट्रिय महिला आन्दोलनको विकास भैसकेको पनि थिएन ।
८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकै रुपमा स्थापित गर्नुपर्छ भन्नुका पछाडि स्पष्ट आधारहरु रहेका छन्। सन् १९१० मा क्लारा जेट्किन रोजा लक्जेम्वर्गको अगुवाई र समाजवादी महिलाहरुको एकतावद्ध प्रयासमा श्रमिक महिलाहरुको दोश्रो अन्तर्राष्ट्रिय सम्मेलन डेनमार्कको कोपेनहेगनमा आयोजना गरियो । जसमा १७ देशका १०० जना भन्दा बढी महिला प्रतिनिधिहरुमा ट्रेड यूनियन, समाजवादी पार्टीहरु, श्रमिक महिला क्लव र फिनिसका तीन प्रथम महिला सांसदहरु समेतले भाग लिएका थिए । उक्त सम्मेलनमा सहभागीहरुले विभिन्न देशहरुमा श्रमिक महिलाहरुको अवस्थाको समिक्षा गर्दै अन्तर्राष्ट्रिय महिला आन्दोलनको विस्तारका लागि व्यापक छलफल गरे । उक्त सम्मेलनमा क्लारा जेट्किनले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रुपमा विश्वभर नै मनाउने प्रस्ताव राखिएको प्रस्तावालाई सर्वसम्मतिबाट पारित गरियो । तसर्थ सन् १९१० को ८ मार्चका दिनलाई आधिकारिक दिनको रुपमा लिनु पर्दछ भन्ने मान्यता ऐतिहासिक रुपले पुष्टि गर्न सकिन्छ । क्लारा जेट्किनले राख्नुभएको उक्त प्रस्तावलाई मान्यता दिंदै ८ मार्च पहिलो पटक सन् १९११ मा अष्ट्रिया, डेनमार्क, जर्मनी र स्वीट्जरल्याण्डमा सम्पन्न गरियो जसमा १० लाख भन्दा बढी मानिसहरुले महिलाको कामको अधिकार, मतदान, तालिमहरुको व्यवस्था, सार्वजनिक कार्यालयहरुमा काम गर्ने अवसर र असमानताको अन्त्यको माग गर्दै भाग लिए । त्यस्तै गरी २५ मार्चमा न्यूयोर्कमा आगलागीबाट १४० जना ईटालियन र जेविस आप्रवासी श्रमिक महिलाको ज्यान गए पछि यसले पनि महिला श्रमिकहरुप्रति अरुको ध्यानाकृष्ट भयो । जसले गर्दा कामदारको काम गर्ने स्वस्थकर र सुरक्षित वातावरण र श्रम नियमावलीको माग गर्दै आन्दोलन गरे जुन आन्दोलनलाई व्रेड एण्ड रोजेज अभियानको नामबाट चिनिन्छ ।
८ मार्चलाई युद्धको विरुद्ध र शान्तिको पक्ष भएको आन्दोलनको रुपमा पनि सम्झनुु पर्दछ । ८ मार्चमा अन्तर्राष्टिय महिला आन्दोलनको उद्घोषसंगै विश्वभरका महिलाहरुमा पनि चेतना र जागरणको विकास भयो । यसैको प्रतिफल स्वरुप सन् १९१३ मा पहिलो विश्व युद्ध सुरु भएको साँझबाट नै शान्तिको अभियानहरु सञ्चालन गर्न थालियो । त्यसै गरी सन् १९१३ मा नै रसियन महिलाहरुले शान्तिका पक्षमा प्रभावकारी भूमिका खेले । सन् १९१४ मा यूरोपियन महिलाहरुले यूरोपभरी नै महिलाहरुको शान्तिको अभियानलाई ऐक्यवद्धता जनाए । रुसमा सन् १९१७ सम्ममा विश्व युद्धमा २० लाख सैनिकहरुको ज्यान गुमाएका थिए यसको विरुद्धमा महिलाहरुले ४ दिनसम्म फेव्रिवरीको अन्तिम शनिवारदेखि शान्ति र रोटीका लागि हड्ताल गरे जसबाट तत्कालिन जार झुक्न बाध्य भयो र महिलाको मताधिकारको समेत घोषणा गर्न बाध्य भए । यो पनि ८ मार्चको दिन नै थियो । यो आन्दोलनले लेनिनको नेतृत्वमा साम्राज्यवादीहरु विरुद्ध भएको तत्कालिन समाजवादी आन्दोलनलाई समेत बलियो बनाउने काम गरेको थियो ।
कुनै पनि आन्दोलन राजनैतिक दर्शनसंग अन्योन्याश्रित रुपमा जोडिएको हुन्छ । त्यसैको मार्गदर्शनमा जीवन र जगतलाई हेर्ने वर्गिय दृष्टिकोण पनि बन्दछ । ८ मार्च पनि समाजवादी आन्दोलनको जन्मसंगै स्पष्ट वर्गिय दृष्टिकोण वा माक्र्सवादी लेनिनवादी दर्शनलाई मानेर समाजवादी महिलाहरुले थालनी गरेको महिला आन्दोलन हो । यो आज क्रमश विश्वव्यापी बन्दै गएको छ भने महिलाहरुको संघर्ष र एकता पनि बलियो हुँदै गएको छ । ८ मार्चलाई विश्वभरी विभिन्न महिला समुदायले अनेकौं रचनात्मक कार्यक्रमहरुका साथ मनाउँदै आएका छन । राष्ट्रिय महिला आन्दोलनसंगै क्षेत्रिय, उपक्षेत्रिय र अन्तर्राष्ट्रिय महिला आन्दोलनको विस्तार पनि त्यत्तिकै तीव्र बन्दै गएको छ । जुन वेला अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको थालनी गरियो त्यतिवेला महिलाहरुको समस्या जस्तो थियो आज पनि केही भिन्न तर मात्रात्मक रुपमा उस्तै उस्तै छन् त्यो घट्नुभन्दा पनि विभिन्न स्वरुपमा बढ्दै गएको छ । जसरी हिजो पुँजिवादी साम्राज्यवादले विश्वलाई शोषण हिंसा मच्चाएको थियो त्यसरी नै आज पनि आर्थिक विश्वव्यापीकरणसंगै विकसित पुँजीवादी नवउदारतावादले विश्वमा मानवीय श्रम शोषण, हिंसा फैलाएकै छ । विश्वका सिमित पुुँजिपति वर्गले सबै भन्दा धनी बन्ने, पुँजिमाथि एकाधिकार कायम राख्ने होडवाजीकै कारण आज विश्वमा पुँजीको असन्तुलित वितरणको फलस्वरुप विश्व आर्थिक मन्दीले संसारलाई गाँज्न थालेको छ । आजभन्दा १०४ वर्ष अगाडि श्रमिक महिलाहरु अधिकारको पक्षमा जसरी आवाज बुलन्द गरेका थिए त्यसको सान्दर्भिकता वर्तमानमा अझ बढेको छ ।
अत्यधिक श्रम शोषणका वावजुद पनि तेश्रो विश्वका बेरोजगार युवा महिला तथा पुरुषहरु बैदेशिक रोजगारमा होमिँदै आएका थिए तर आज त्यही विकल्प पनि खोसिने अवस्था आएको छ । नागरिकको गाँस, वास, कपास, रोजगारी, स्वास्थ्य जस्ता आधारभूत अधिकारप्रति राज्य विमुख हुने स्थितिको सिर्जना भएको छ । यसबाट सिर्जना भएको सबै नकारात्मक परिणामहरुको शिकार सबै भन्दा पहिला महिला नै हुने गरेका छन् । आर्थिक मन्दीका कारण सम्पूर्ण दैनिक उपभोग्य बस्तुहरुमा भएको मूल्यबृद्धि, सबै खालका महिला हिंसा, चुलिएको बेरोजगारी, शिक्षा, स्वास्थ्य, खाने पानी, सञ्चार, विद्युत सबै क्षेत्रमा भएको निजिकरणले गर्दा महिलाहरुको जीवन कष्टप्रद भएको छ ।, प्रत्येक क्षण पीडा भोग्न महिलाहरु बाध्य बनाईएका छन् । यस्ता कुराहरुलाई आत्मसात गर्दै विश्वभरका महिलाहरु एकजुट भएर संघर्षमा जुटेका छन् । तर सबै महिलाका कुरा गर्दा पनि हामीले ८ मार्चलाई प्रभावकारी बनाउने हो भने सबै प्रकारका अवसरहरुबाट बन्चित निम्न वर्गका सिमान्तिकृत समुदायका महिलाहरुलाई केन्द्रविन्दुमा राखेर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउनु पर्दछ । हामी नेपाली महिलाहरुको कुरा गर्ने हो भने बहुसंख्यक महिलाहरु संगठित वा असंगठित वा घरायसी काममा संलग्न महिलाहरु पनि श्रमिककै कोटीमा पर्ने कुरालाई पनि विर्सन हुँदैन । अहिले हामी नयाँ नेपालको नयाँ संविधान बनाउने ईतिहासको ज्यादै महत्वपूर्ण मोडमा छौं । नयाँ बन्ने संविधानमा सम्पूर्ण श्रमिक महिलाहरुको हक अधिकारलाई व्यवस्थित रुपमा समेट्न सक्यौं र समयमा संविधान हाम्रो माझमा आयो भने मात्र हामीले अन्तर्राष्टिय श्रमिक महिला दिवसलाई सार्थक बनाउन सक्नेछौं ।
यस वर्ष पनि हामीले १०५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस “महिला सशक्तिकरण नै मानविय सशक्तिकरणको तस्विर हो” भन्ने अन्र्तराष्ट्रिय नारा र “लैङ्गिक मैत्रि संविधान, महिला हिंसाको निदान” भन्ने राष्ट्रिय नाराका साथ विश्वभरी विभिन्न कार्यक्रमका साथ मनाईरहेको छ । महिला हिंसाले चरम सिमा नाघेको वेलामा यो दिवस मनाईरहँदा महिला विरुद्ध हुने हिंसालाई कसरी कम गर्ने भन्ने ठूलो चुनौति वनेको छ । आज महिला माथि हुने हिंसा विरुद्ध आवाज उठाउनेहरुपनि जोखिममा परिरहेको अवस्था छ । उनीहरुलाई हेर्ने दृष्टिकोण र गरिने व्यवहारका कारण आफ्नो मुद्धाबाट कमजोर वनाउन खोजिएको छ । अहिले सम्मको इतिहासलाई हेर्दा आन्दोलनहरु जति दमन गरिन्छ त्यत्तिनै त्यो झन वलियो बन्दै जान्छ र उत्कर्षमा पुग्छ । त्यसैले महिलाहरुको हिंसा विरुद्धको आन्दोलन पनि दमनलाई परम्परा, संस्कार, पृतिसत्तात्मक सोच को दमनमा भैरहेपनि यसले उत्कर्षमा पुग्ने अवस्था सृजना भएको छ । अब महिलाहरुको मुक्तिका लागि र त्यसको पक्षमा लाग्नेहरुको एउटा लाइन खडा भएको छ भने त्यसको विरुद्धमा उभिनेहरुको एउटा लाईन, चाहे त्यो महिला होस् वा पुरुष । त्यसैले अब हामी सबैले आफुलाई कुन लाइनमा उभ्याउने भन्ने कुराको निर्णय गर्ने वेला आइसकेको छ ।
म यो १०५ औं अन्र्तराष्टिय श्रमिक महिला दिवसको अवसरमा सबैलाई म हिंसा गर्दिन, म हिंसा सहन्न र मैले हिंसा भएको देखे भने प्रतिवाद गर्छु भन्ने प्रतिवद्धत्ता गर्ने र सो प्रतिवद्धतालाई कार्यान्वयन गर्ने प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।