Tue. Dec 3rd, 2024

बाबुको सपना थियो इन्जिनियर, छोरो बन्यो खलासी

भानुभक्त
timthumb.php

हत्केला र औलामा बसेका ठेली देखाउँदै उनले भने– यसैको लागि त हो नी मैले दुःख गरेको। पढ्न नछोड बाबु, भन्दा मानेन। उनका छोरा  मौन बनेर बाबुका कुरा सुनिरहेका छन्।

कीर्तिपूर नयाँ बजारको एक साँघुरो कोठा। पलङ, ग्याँस र केही सामान गुजुमुज पारी राखिएका छन्। सामानजस्तै कोठामा बस्ने बाबुछोराका विचारपनि गुजमुजिएका छन्। छोराले पढाई छोडेकोमा बाबुलाई अचेल चैन छैन। बाबुले जतिबेलापनि पढ, पढ भनेको सुन्दा छोरालाई दिक्क लाग्छ।

सर्लाही, हजरिया १ का पूर्ण खड्काले छोरालाई पढाएर इन्जिनियर बनाउने सपना बुनेका थिए। तर उनका छोरा रिवेश खडकाले बाबुको सपना बोकेन। किताबको झोला बोकेर स्कुल जान छोडी ऊ भत्क्यापाटी–रत्नपार्कको बसको ढोकामा झुण्डियो, खलासी बनेर।

पूर्ण खडका साइकलमा ग्याँसका सिलिण्डर बोकेर कीर्तिपुरमा कहिले पांगा, कहिले भत्क्यापाटी पुग्छन। बिहान सबेरैदेखि राती अबेरसम्म उनी साइकलका पाइडल मारिरहेका हुन्छन्। जाडोमा उनको शरीरमा कहिल्यै बाक्लो ज्याकेट देखिँदैन। गर्मीमा खलखली पसिनाको पर्वाह नगरी उनी कानमा एयरफोन घुसारेर साइकलमा दौडिरहेका हुन्छन्।

उनले दुःख गरेर पनि छोरालाई बोर्डिङ स्कुलमा पढाएको देखेर खुसी लाग्थ्यो। तर केहीदिन अघि थाहा पाएँ – रिवेशले स्कुल जान छोड्यो।

‘भनेको मान्दैन सर, खलासी बनेको छ‘ बाटोमा भेटिएका पूर्णले भने। त्यति दुःख गरी बाउले पढाउँदापनि किन नपढेको होलारु बुझ्न उनकै कोठामा पुगें।

पूर्ण खडकाका एक छोरा एक छोरी छन्। गाउँमा काम गर्दागर्दै उनले एक कक्षाभन्दा बढी पढन पाएनन्। चारदाजुभाइमध्येका कान्छा उनी अलि ठूलो भएपछि कमाउन भारत गए। हरियाणा, लखनउ, दिल्ली, मुम्बईमा ज्यामी बनेर काम गरे। केही पैसा जम्मा गरेपछि २०४६ सालमा विवाह गरे। विवाहपछि पनि परदेश जान रोकिएन। ज्यामी काम छोडेर उनी सेक्युरिटी गार्ड बने। घर आउजाउ गरिरहन्थे।

०५२ सालमा छोरी जन्मिइन। ०५६ सालमा छोरो। छोरो जन्मिदा उनी दिल्लीमै थिए। पैसा कमाउँथे र श्रीमतीलाई पठाइदिन्थे। तर श्रीमती अरुसँगै लहसिएकी रैछन्। छोरो ८ महिनाको नपुग्दै उनी लोग्नेले पठाएको पैसा बोकेर अर्कैसँग हिँडिन्। छोराछोरी माइतीमा लगेर छोडिछन्।

खबर पाएपछि पूर्ण गाउँ फर्के। माइत गए। छोराछोरी ल्याए। श्रीमती लाहानतिर पोइल गएको सुने। तर, खोजी गरेनन्।

बाबु आमा दुवैको जिम्मेवारी उनकै काँधमा आयो। गाउँमा बस्न मन मानेन। काठमाडौं आए। काठमाडौंमा उनका दाइभाउजू बस्थे। दाइ घरमा रङ लगाउने काम गर्थे। उनी छोराछोरीलाई भाउजूसँगै राखेर ज्यामी काम गर्न थाले।

केहीसमय सँगै बसेपछि भाउजूसँग उनको कुरा मिल्न छोड्यो। पांगामा छुट्टै कोठा लिएर बसे। ‘छोराछोरी हुर्काउन रातदिन काम गर्थें, कम्ति दुःख पाइन‘ उनले भने। छोरी ठूली भएपछि पांगाकै वैष्णवी स्कुलमा भर्ना गरे।

छोरालाई  बाघभैरव बोर्डिङ स्कुलमा बोर्डस गरिदिए। अरुले झै छोरीभन्दा छोरालाई उनले बढी नै महत्व दिए। छोरालाई इन्जिनियर बनाउने सपना जो बुनेका थिए।

दिनभरी ज्यामी काम गर्थे। कमाएको पैसाबाट केही सहकारीमा बचत गर्थे। महिना पुग्दा त्यहि सहकारीबाट पैसा झिक्थे। छोराको ुफिु बुझाउँथे। मनमा छोरो पढेर इन्जिनियर बन्ने सपना थियो। त्यहि सपनामा रमाउँदा रमाउँदै कामको पीडा भुल्थे।

दुई कक्षा पास गरेपछि स्कुलको ुफिु उनको महिनाभरीको कमाइभन्दा बढी आउन थाल्यो। छोरालाई बोर्डिङ पढाउन नसक्ने भए। सामुदायिक विद्यालय मंगल मा।वि।मा छोरालाई भर्ना गरे।

छोराले मंगल माविबाट छ कक्षा पास ग¥यो र भन्यो ‘बाबा म बोर्डिङ पढ्छु।‘ त्यतिबेला सहकारीको उनको खातामा केही पैसा जम्मा थियो। छोराको इच्छा मार्न सकेनन्। फेरि बाघ भैरव बोर्डिङ स्कुलमा छोरालाई सात कक्षामा भर्ना गरिदिए। ‘एक वर्षमा ४० हजार पैसा सकियो‘ उनले भने।

आठ कक्षा पढ्दै गरेको छोराले गएको असारमा भन्यो –बाबा म स्कुल जान्न, गाडीमा काम गर्छु। सुरुमा त उनी रिसाए। तर छोराको जिद्धीका सामू उनको केही लागेन।

छोरो खलासी बनेर गाडीमा रत्नपार्क कीर्तिपुर ओहोरदोहोर गर्न थाल्यो। उनी भारी मन बोकेर साइकलमा ग्याँस सिलिण्डर झण्ड्याएर पाइडल मार्न थाले।

‘कहिल्यै घरै आउँदैन, खायो, खाएन, साह्रै पीर लाग्छ, यो छोराले मलाई टेन्सन दियो‘ उनले भने ‘बरु छोरी ज्ञानी छ।‘ सरकारी स्कुलमै पढेकी उनकी छोरीले यही वर्ष एसएलसी दिन्छिन। पूर्णले भने– छोरीले पढेको सम्झँदा मन उज्यालो हुन्छ।

उनका छोरा रिवेशको ड्राइभर बन्ने ठूलो सोख छ। उनलाई लाग्छ – ठूलाठूला किताब पढ्नु, होमवर्क गर्नु  र बाबासँग सँधै पैसा माग्नुभन्दा गाडी चलाउनु कति राम्रो राम्रो। गाडी सिक्न पाइने भएकाले खलासी बनेको उनले बताए।

‘गाडी सिकेर ड्राइभर बन्ने हो‘ उनले भने। छोराको कुरा नसकिदै पूर्णले सोधे– अब ड्राइभर बन्न पनि एसएलसी पास गर्नैपर्छ। कसरी बन्छस, ड्राइभररु मोबाइलको रेडियोमा उनले लाइसेन्ससम्बन्धी नयाँ नियम सुनेका रैछन्। बाबुको कुरा सुनेर छोरा मौन बने।

रिवेशलाई बुवा बस्ने साँघुरो कोठामा बस्न झ्याउ लाग्छ। उनले अर्को कोठा लिएका छन्। कहिलेकाँही बाबालाई भेट्न जान्छन, त्योपनि काम नपाएको दिन। बिहान सबेरै जो गाडीमा पुग्यो उसैले खलासी काम पाउँछ। आठ बजेसम्म सुत्ने उनी एक हप्तासम्म काम नपाएर बसेका छन। खल्ती रित्तो भएपछि त्यो दिन पनि बाबासँग पैसा मागे।

‘बाबा, सय रुपैयाँ दिनुस न, खाजा खान एक रुपैयाँ पनि छैन‘ रिवेशले भने।

पूर्णले खल्तीमा हात हाले। ‘धेरै खर्च गर्नु हुँदैन, ल पचास रुपैया लिएर जा, यत्तिले पुग्छ‘ उनले छोरालाई पैसा दिए।

उनको छोरासँगै मपनि निस्किएँ। ढोका छेउमा पूर्णको पुरानो साइकल थियो। त्यहि साइकलको भरमा उनले छोरालाई इन्जिनियर बनाउने सपना देखेका थिए। उनको सपना त पुरा होलाजस्तो छैन्। बरु उनी अब सरकारी सेवा सुविधाबाट बञ्चित हुन सक्छन।

सरकारले आगामी शैक्षिक सत्रदेखि छोराछोरीलाई आधारभूत शिक्षाबाट वञ्चित गर्ने अभिभावकलाई सरकारी सेवा सुविधा नदिने नयाँ नीति ल्याएको छ।

सरकारले भनेको आधारभूत शिक्षाबाट बाहिरीएसंगै पूर्णका छोरा उनको सपनाको घेराबाट पनि निरन्तर टाढा जादैछन्। सेतोपाटीबाट

About The Author

अन्य समाचारहरु: