२३ माघ ।
इंग्लिस प्रिमियर लिगमा वाटफोर्डले साविक विजेता चेल्सीलाई ४–१ गोलको फराकिलो अन्तरले हराएको हो । यो नतिजाले वाटफोर्टका प्रशिक्षकको पहिलो होम गेम अविस्मरणीय बनाइदिएको छ भने चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेमाथि दवाव झनै थपेको छ ।
चेल्सी खेलको ३०औं मिनेटदेखि नै १० खेलाडीमा समेटिएको थियो । ३० मिनेट निक्कै खराब खेल प्रदर्शन गरेका टिमोउ बाकायोको दोहोरो पहेलो कार्ड ब्यहोर्दै मैदान बाहिरिए, जसको कारण वाटफोर्डले ४ गोल गर्न सफल भयो ।
वाटफोर्ड जसले पछिल्लो १२ प्रिमियर लिग खेलमा एउटामा मात्र जित हाँसिल गरेको थियो , उसले विवादास्पद पेनाल्टीबाट अग्रता लियो । चेल्सीका किपर थिबाउट कर्टोइसले जोरर्ड डेलोफुलाई फल गरेको भनेर रेफ्रीले दिएको पेनाल्टीमा ट्रोय डिनीले गोल गरेका थिए ।
आर्सनलबाट यही जनवरीमा चेल्सी आएका ओलिभर जिरोर्डले डेब्यू गरेको खेलमा दोस्रो हाफ सुरु भएको केही समयपछि नै इडेन हाजार्डले बराबरी गोल फर्काए ।तर, खेलको अन्तिम १० मिनेट खेल पूरै घरेलु टोली वाटफोर्डको पक्षमा गयो । उसले खेलको ८४औं, ८८औं र इन्ज्यूरी समयको पहिलो मिनेटमा गोल गरेको थियो ।
जितपछि २६ खेलबाट ३० अंकसहित वाटफोर्ड अंकतालिकाको ११औं स्थानमा छ भने समान खेलबाट ५१अंकसहित चल्सी चौथो स्थानमा यथावत छ ।
२०७४ माघ २३ गते प्रकाशित