

तिलक घिमिरे ‘निर्मल’ –
बितिसक्दा बल्ल छैठौँ दिन
उग्रियो केहि आकाश
आगनमा
गिट्टीका गेगरै गेगर
अनि बडेमानका बालुवाका थुप्रा,
मझेरी देखि सागबारी
बस्तुभाउको गोठदेखि, पूरियो तुलसीमोठ सम्मै
मक्किएर बाँसका भाटा
भरिएका छन् सबै बाटा
चुहिएर खरको छाना
टुसाउँदै छन् भिजेका दाना
बडो मूस्किलले ज्यान बचाएका लालाबाला
चिचयाउँदै, कराउँदै भोकले
तर अहँ छैनन
न त कोही उद्धारकर्ता, नत राहतकर्ता ।
भंगाल थुनिएर
सातौ दिन सम्म पनि
अहँ सम्भावनै छैन, बाहिर निस्कने,
केबल हो–हल्ला अनि चिच्याहट
चारै तिर दुर्गन्ध मरेका चौपायको
उँदो–उँभो गर्दैछन्
घरका लालाबाला
नपाएर शुइ पानी
रोग व्याध अनि सम्भावना माहामारीको
यसपालीको कोशीको बाढीमा
अक्रान्त छ यो देहाती बस्ती
उहाँ त्यत्रो दिन बित्दा समेत
छैनन् कोही
सान्त्वना अनि राहत दिने ।
क्षितिज पारी सुगम ठाउँमा
राता टोपी, निला प्लेटका सुँडवाला गाडी
साइरन बजाउँदै देखिदैछ राहत बाँडेका
बोरीका बोरी अनाज, गुन्टो भरी कपडा
कयौँ भाँडा बर्तन, विदेशी त्रिपाल
अहँ आठौँ दिन वितिसक्दा पनि
झुल्किएनन् कोही सो घरमा
न त स्वदेशी, न त विदेशी नै
भोको पेट अनि राज्य विहिनता
सराप्दै छन् सरकार र दातालाई
बैठक मै मात्र डाटा केलाइरहेकोमा
मुर्मुरिन्छन्
बाढी पिडत भन्दा पनि
राहतमा विभेद भएकोमा ।
नवौँ दिनको मध्यान्ह
शहरबाट एक चिल्लो कार
आयो सोझिएरै त्यहि घरमा
भोको पेट
भिजेर ढाडिएका आशातित् शरिर
बढो उत्साहका साथ
उचिलिएका छन् सबैका भृकुटी
सरर आई रोकिन्छ ट्याक्क
सकुमार–सुकुमारीहरु निस्किए फुत्तफुत्त
सानो कोण सभा–राहत औचित्यको भाषण
बज्छ परर् ताली ।
घरका सबैभन्दा बृद्ध र नाबालकलाई
अगाडी डाकी
महङ्गो ट्याबलेट अनि आइफोन ब्राण्डले
खिचे धेरै सेल्फी, ङिच्च हाँस्न लगाई
थमाएर एक पाकेट भूजा र चाउचाउ
जे–जे भन्छन् , जसरी हाँस भन्छन्
गरे उनीहरुले पनि सोहि नै
खिचेका सेल्फी पोष्ट लाई
अंग्रेजी क्याप्सन दिई
पठाइदिए फेसबुक र ट्वीटर भरी
अनि फर्किए सामूहिक फोटो सेशन गरी
चाउचाउको संख्या र पिडितको संख्या
गणना नगरेपनि
लाइक र कमेन्ट
छिन छिन मै गन्दै
गर्व गर्दैछन्
राहत बाँडेकामा ।
२०७५ बैशाख २३ गते प्रकाशित