Sat. Jul 5th, 2025

कविता : सहिद सन्तान, सडक बालक

परिवर्तन देवकोटा –

आन्दोलनले उथलपुथल पारेको शरिर
एकचिम्टि स्वास मात्र साँचेर बाँचीरहँदा
प्रत्येक पलमा मृत्युलाई अँगालीरहँदा
आमा, कति सहज नै मेरो जन्म गरायौ

मनभित्र गुम्सिएर रहेका अनेकौँ चाहनाहरु
निरन्तर वर्षेका अश्रूभेलहरुसँग लडिबुडि गर्दै
कति बगे सपनाहरुसँगै, कति मरे तड्पिएर
तर पनि कति सहज नै जन्मायौ मलाई

तप।तप। शित चुहिने खरको छानो
त्यसै छानोमुनी न्यानोसँग बस्दैगर्दा
सुन्दर शान्त घरको सपना देख्दै गर्दा
र सुखी परिवारको कल्पना गर्दै गर्दा
सहिद बनेका थिए बा

हररात हरदिन तड्पिन्थे
र बर्बराउने गर्थे उनी
देशले रगत मागे मेरो बली चढाउनु
यस्तै यस्तै भन्दै

हररात चिन्तित थिए
आफ्नो परिवार र देशको लागि
त्यसैले मारिए
कम्रेडहरुको गोलीबाट
अनि सहिद बने त्यसै रात

एक देशभक्त नागरिकको भ्रुण,
नौरनौ महिनासम्म गर्भमा बसी
कतै झाडिमा मिल्किएको म
हो आमा,
मैले आफुलाई भाग्यमानी भन्नुपर्छ
कयौँ मृत्युहरु छिचोल्दै
कयौँ रात चिसो सडकमा बिताई
आजसम्म बाँच्न पाएकोमा

म सहज नै स्मरण गर्न सक्छु
स्मृतिका ति पानाहरु
ईतिहास बनेका ति दिन अनि रातहरु
हररात, हरदिन जलेका शरीरहरु र
गिडिएका शिरहरु

हो आमा
म सहजै देख्न सक्छु
झाडिमा आफु मिल्किएको त्यो रात
जिवित आमाको कोखबाटै जन्मिएर

झाडिमा मिल्किएको म
आज क्षितिज पारिबाट
स्मृतिका पानाहरु पल्टाउँदै छु
र गन्दैछु आफुले छिचोलेका ति कालहरु
र भर्दैछु स्मृतीका पानामा ।

आमा,
यो सडक ओहोरदोहोर गरिरहँदा
सक्छौ भने तिमीले
एकछिन नियालेर हेर
तिम्रै हातबाट झाडिमा फालिएको
एक सहिदको सन्तान
आज सडकपेटीमा
बा…बा… आ…मा…
भन्दै माया खोजिरहेको छ ।
माया खोजीरहेको छ ।

२०७५ असार २४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: