Thu. Sep 19th, 2019

साउन : हरियाली र प्रकृतिको महिना

सरिता श्रेष्ठ–


प्रकृतिले शीतलता छर्ने महिना । सुन्दर अनि हरिया पालुवाहरुले मन लोभ्याउने महिना । हुस्सुको पातलो आवरण हरिया जंगलहरुमा हावाको तालसँगै रंगमगाउँदा सुन्दर संगीत ध्वनित हुन्छ । यसै महिनामा सत्यम् शिवम् सुन्दरम्को भाव छचल्किन्छ नेपालका पहाडी पाखाहरुमा । अनि प्रकृतिको सौन्दर्यसँगै गुञ्जन्छ एक प्रकारको शालीन मौनता । अनि साउन रंगिन्छ मानवका सुकुमार भावहरुसँगै बतासिएर । हो, प्रकृतिले नै सुन्दर अनि शीतल तुल्याएको साउन महादेव शिवको समेत प्रिय महिना ।

नेपाली पञ्चाङअनुसार साउन चौथो महिना हो । संस्कृतको श्रावण महिना अपभ्रंश भएर नेपालीमा साउन भएको हो । शास्त्रमा साउनलाई मासोत्तम मास अर्थात् सबैभन्दा उत्तम महिना भनिएको पाइन्छ । साउन महिना प्राकृतिक रुपमा पनि हरियो महिना हो । साउनमा वन जंगल खेतबारी सबैतिर हरियाली हुन्छ । नेपाली संस्कृति अनुसार साउन १ गते विधिवत रुपमा लुतो फालेपछि हिलो मैलोको काम सकिएको भन्ने बुझिन्छ भने वर्खाभरिको कामको चटारोले आफ्नो शरीरको सरसफाई गर्न नभ्याएकाहरुले साउनलाई नुवाईधुवाईको महिनाको रुपमा पनि लिन्छन् ।

श्रावण शब्द श्रवणबाट बनेको हो जसको अर्थ हुन्छ सुन्नु अर्थात् सुनेर धर्मको मर्म बुझ्नु । सनातन धर्मको प्रमुख ग्रन्थ वेदलाई श्रुति पनि भनिन्छ । श्रुतिको अर्थ नै त्यस्तो ज्ञान हो जुन ईश्वरबाट सुनेर ऋषिहरूले आम मानिसलाई सुनाए । त्यसैले श्रावण अर्थात् साउन महिनालाई पवित्र मानिएको हो । यसलाई आदिगुरु भगवान् शिवको प्रिय महिना पनि मानिन्छ । श्रवण नक्षत्र तथा सोमवारलाई भगवान् शिवको प्रिय महिना मानिन्छ । त्यसैले यो महिनामा शिवलाई खुसी पार्न विशेष धार्मिक अनुष्ठान एवं रुद्राभिषेकका साथै सोमवारका दिन व्रत बस्ने गरिन्छ ।

साउनको सुरुको दिन अर्थात् संक्रान्तिलाई विशेष महत्व दिइएको पाइन्छ किनभने यसै दिनदेखि सूर्य दक्षिणायन हुन्छ र दिन छोटा अनि रात लामा हुन थाल्छन् जुन क्रम माघेसंक्रान्तिसम्म रहन्छ । ज्योतिष विज्ञानअनुसार साउन अर्थात् श्रावण महिनाको पूणिर्माका दिन आकाशमा श्रवण नक्षत्रको योग निर्माण हुन्छ । त्यसैले यो महिनाको नाम श्रावण रहेको हो । साउन महिनालाई पवित्र महिनाका रूपमा लिने सनातन परम्परा छ । हरिशयनी अर्थात् आषाढ शुक्ल एकादशीदेखि हरिबोधिनी अर्थात् कार्तिक शुक्ल एकादशीसम्मको चार महिने अवधिलाई चतुर्मास भनिन्छ ।

यो महिनालाई भगवान् शिवको महिनाको रुपमा पनि लिने गरिन्छ । त्यसमाथि साउनको सोमबारमा भगवान शिवको ब्रत बस्ने चलन छ । देशभरका शिव मन्दिरमा आज महिलाको भीड लागेको छ । साउन महिना हिन्दु नारीहरुका लागि विशेष महत्वको महिना हो । साउन सुरु भए लगतै महिलाहरु रङिगन थाल्दछन् । हरियो पोते, पहेलो चुरा, हातमा मेहेन्दी र बस्त्र पनि हरियो नै देख्न पाइन्छ । साउन महिनामा खास गरी हिन्दु धर्मालम्बीहरुले भगावन शिवको पूजा आराधना र व्रत बस्ने परम्परा छ ।

हरेक वर्ष आउने साउन महिना महिलाहरुका लागि विशेष हुने गर्दछ । धार्मिक, तथा साँस्कृतिक मान्यता अनुसार साउन महिनालाई महत्वपूर्ण मानिन्छ । हरिया चुरा, पहेलो वस्त्र, हातमा गाढा मेहन्दी त्यसमाथि हरिया पहिरनलाई महिलाहरुको विशेष चाडको रुपमा लिन सकिन्छ । असारमा खेत रोपाईमा व्यस्त हुने महिलाहरुले यस समयमा आपसमा खुसीयाली साटफेर गर्ने मौका पाउँदछन् । घर देखि शहर बजार सबैतिर साउन सुरु भएसंगै महिलाहरुको गला हरियो पोतेले सजिएका छन् भने हातहरु हरिया चुराले भरिएका छन् अनि पहिरन पनि हरिया लगाएका छन् । शहरबजारमा आजभोलि हरियो चुरा र लुगा साउन महिनाको विशेष पोशाक जस्तै बनिसकेको छ ।

हिमालयन पार्वतीले साउन महिनाभर निराहर रहि कठोर व्रत बसेर भगवान शीवलाई प्राप्त गरेकी सम्झानामा महिलाहरुले साउन महिनामा व्रत बस्ने गर्दछ । यहि मान्यता अनुसार नेपाली महिलाहरुले पनि साउन महिनालाई विशेष चाडका रुपमा मनाउन थालेको हो । साउन महिनामा विशेष गरी शिवको पूरा गर्दछ । अझ बढी साउन महिनाको सोमबार महिलाहरुका लागि विशेष हुने गर्दछ । सोमबार शीवजी प्रशन्न बनाउन पानी पनि नखाइकन व्रत बस्ने गर्दछ । वर्षा, प्रेम र झरीको संगम साउन महिना धार्मिक हिसावले पनि हिन्दु नारीहरुको लागि अर्को महित्वको महिना हो । झरीमा रुझदै हिड्दा छुट्टै आनन्दको अनुभूति पैदा हुन्छ । प्रेमीपे्रमीको जोडीहरुमा नयाँ उमङग छाउँछ । यसबेला हाँसेको प्रकृतिको त्यो चम्किलो अनुहारले मानिसमा शक्ति, साहस, सुख प्राप्ति गरिदिन्छ भन्ने एक प्रकारको अनगन्तिी भावहरु रहेका छन् ।

साउन महिनाका सबै दिन उत्तिकै पवित्र हुने भए पनि सोमबारलाई अझ विशेष मान्ने चलन छ । यसबाहेक साउनमा नागपञ्चमी, मंगलचौथी, घण्टाकर्ण चतुर्दशी, जनैपूर्णिमा, गाईजात्रा आदि पर्व पर्छन् । साउने संक्रान्तिका दिनदेखि सूर्य मिथुन राशि छोडेर कर्कट राशिमा प्रवेश गर्छन् । नेपालको ग्रामीण भेगमा संक्रान्तिका दिन लुतो फाल्ने परम्परा छ । पौराणिक मान्यताअनुसार पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेकी हुनाले भगवान शिवलाई खुसी पार्नका लागि यो महिना विशेष हुन पुगेको हो ।

वास्तवमा हरियो रंग प्रेम र वातावरणको प्रतिक मानिन्छ । त्यस्तै हरियो वस्त्रलाई प्रकृतिको सम्मानका रुपमा पुजिन्छ । त्यसैले साउन महिनाभरि नै हरियो वस्त्र, हरियो चुरा, हरियो पोते र हरियो टिका लगाउने चलनलाई प्रकृतिको सम्मानसँग जोडेर हेर्न सकिन्छ । प्राकृतिक रुपमा साउन महिनालाई हरियालीको उपनाम दिइन्छ । धान रोप्नु, लुतो फाल्नु, शीवको ब्रत बस्नु साउन महिनाको विशेषताको रुपमा लिइन्छ ।

हरियो प्रेम र वातावरणको प्रतिक हो । त्यस्तै रातो सौभाग्यको प्रतीक हो भने पहेलो पवित्राको प्रतीक मानिन्छ । त्यसैले साउन महिनमा रातो, हरियो र पहेलो सम्मीश्रण गरी लगाइन्छ । अझ हत्केलामा जति गाढा मेहन्दीको रंग बस्यो त्यति नै श्रीमानको माया पाइन्छ भन्ने जनविश्वास नेपाली समाजमा रहेको छ । यसैलाई सावित गदै साउनलाई महिलाहरुको विशेष बनाउन थालेका हुन् ।

हरियो पहेंलो र रातोपोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेम, रातोलाई शौभाग्य र पहेँलोलाइ पवित्रताको प्रतिकको रुपमा लिइन्छ । यद्यपी साउन महिनामा हरियो रातो पहेलो समिश्रण गरी लगाउने चलन स्थापित हुदै आएको छ । अघि पछि सुनसान रहने पसलहरु पनि अहिले चुरा पोतेले सजिएका छन् भने बजारमा त्यस्ता सामग्री खरिद गर्नेहरुको भीड बढ्न थालेको छ । साउन महिना प्राकृतिक रुपमै पनि हरियाली महिना हो । यस्ता सकारात्क संस्कृतिहरुलाई जोगाउदै लानु पनि उत्तिकै आवश्यक छ ।

२०७६ साउन २० गते प्रकशित

Loading...