Fri. Dec 8th, 2023

भुकम्प, राहत, सरकार र गैसस

केशव दुवाडी – 

keshav
भुकम्प विचित्रको हुँदोरहे छ, यसलाई धार्मिक मान्यताले इश्वरीय लीला भन्छ, विज्ञानले प्लेटको घर्षण । तर जेहोस यो आयो गयो, क्षण भरमा यसले मानिसको आर्थिक, राजनितिक, धार्मिक, साँस्कयतिक सबैखाले चरित्रलाई प्रभावित पार्यो ।सामान्यतया दशा बाजा बजाएर आउँदैन भन्ने पुर्खाको भनाइ छ । तर दशाको आँकलन गनै सकिन्छ । सँस्कृतमा ”विनासकाले विपरित बुद्धि“ अर्थात् अनिष्ट हुने बेलामा बुद्धि विपरित हुन्छ भन्ने कुरा उल्लेख छ । सायद, नगरपालिकाले नक्सा पास गर्दा, इन्जिनियरले निर्माणको नक्सा कोर्दा, ठेकेदार र हाकीमले संझौता गर्दा, सिमेन्ट र छड उद्योगले उत्पादन गर्दा विपरित बुद्धि नबनाएको भए यत्रो जन धनको क्षति हुने थिएन ।हाम्रो जन धनको क्षतिको दोष निर्दोष भुकम्प कसरी हुन सक्छ ? दोषी हाम्रो स्वार्थहो, प्रवृति हो, हेलचेक्रयाई हो, अनि गैर जिम्मेवारी पनि हो ।

भुकम्प गयो, आयो गैरह्यो आइरह्यो । कसैले छेक्न सकेन । तर अब माथिका दुषित व्यवहार हरु आई रहन्छ कि रहदैन हेर्न बाँकी छ ।विपद सबैलाई पर्छ, विपदका बेला सरकार, व्यक्ति सामाजिक संघसँस्था सबै जुट्नु पर्छ । खास गरी राज्यको नेतृत्वमा । यस पटक थाहा भयो हाम्रो राज्य विपद व्यवस्थापनबारे त कुहिराको काग जस्तै रहे छ । विदेशी प्रधानमन्त्रीले थाहा पाएर ट्वीट् गरे पछि मात्र थाहा पाएँ भन्ने प्रधान मन्त्रीका प्रेस सल्लाहकारलाई धिक्कार छ, डा. उपाधी झुण्याएका सञ्चारमन्त्रीलाई धिक्कार छ, अनि धिक्कार छ प्रधानमन्त्रीका स्वकीय सचिबलाई । यसबाट के प्रमाणित हुन्छ भने हाम्रा शक्तिशाली मान्छेहरु विदेश जान पाए पछि स्वदेशको खबर सम्म पनि सुन्न रुचाउँदैनन् ।
भुकम्प गएको निमेश भरमा सामाजिक सञ्जालमा छ्यास्छ्यास्ती आएको खबर भ्रमण टोलीमा रहेको एक सदस्यले पनि प्रधान मन्त्रीलाई सुनाउन सकेन ।

अब मुहान धमिलो भए पछि पुछारमा सफा पानी खोज्नु त हाम्रो मुर्खता भन्दा अरु के होला र ? जिल्ला दैबी प्रकोप उद्धार समितिको वैठकमा योजना भन्दा पनि राजनितिक तथा सामाजिक कार्यकर्ताको मन्तव्य बढी सुनियो । संकटमा प्रवचन भन्दा एक्सन चाहिन्छ भन्ने कुरा भाषण गर्नु नै राजनिति गर्नु हो भन्ने बुझाई रहेको नेताहरु (?), संकटका बेलामा निति फेर्नका लागि एडभोकेसी हैन राहत तथा उद्धारमा जुट्नु स्वयम सेवा हो भन्ने कुरा अधिकारको कुरा गर्नु मात्र समाज सेवा गर्नु र जसरी हुन्छ आफ्नै दुनो सोझो पार्नु नै गैरसरकारी सँस्थाको काम हो भन्ने बुझाइ रहेका लाल बुझकड स्वनामधारी अगैसस तथा गैससका लिडरहरुको दबदबा भए पछि काम भन्दा कुरा धेरै हुनुनै थियो जो भयो पनि ।जे होस राहतको जिम्मा एनजिओहरुले तोकेरै लिए, गाडिको ओइरो लाग्या, १ लाखको राहत बोकेर १ करोडको कार चढेर आउने पनि देखिए । स्थानीय साझेदारलाई साछी राखेर ६० प्रतिशत व्यवस्थापन खर्च गरी बाँकी ४० प्रतिशतबाट स्थानीय साझेदारको स्वयम सेवक खर्च र समुदायमा राहत वितरण गर्ने तरिका जसलाई विकासको व्यंग्य भाषामा सोली मोडेल भनिन्छ त्यो पनि भएको देखियो । त्यही««४० प्रतिशत प्राप्त गरी भरिया बन्न र पाइन पाप्रो चाट चुट पार्ने धुनमा केही स्वनाम धन्य सँस्थाका प्रतिनिधिहरु दाताको पछि पछि धोती खुस्कने गरी कुदेको पनि देखियो ।ठुला ठुला गैससले गाउँ ठेक्का लिए पछि साना साना र व्यक्ति व्यक्तिले जुटाएका राहत सामग्री वितरणका लागि अप्ठ्यारो परेको गुनासो पनि सुनियो ।

यति लामा लामा सुँड भएका गाडि चढ्ने आफूलाई अर्कै ग्रहका मालिक जस्तो ठान्ने नीलो पिलेट गाडीवाला साहेबहरुको हाँको डाँको शिक्षा, स्वास्थ्य र वास क्लष्टरका वैठकहरुमा बाक्लै सुनियो । गीतामा कृष्णले अर्जुनलाई “अहम् ब्रम्होसस्मी” अर्थात् म नै सब थोक हुँ भने जस्तो विपद व्यवस्थापनमा तिमिहरु सरकारी र गैरसरकारी सँस्थाका मानिसहरुलाई के थाहा ? हामी हौ जानकार, हामीले बनाएको योजना नै राम्रो हुन्छ , तिमी सरकारी सँस्था र व्यक्ति भ्रष्ट छौ त्यसैले हामी सरकारी कोषमा रकम दिन्नौ हामी आफै गछौँँ भनेर कडकिँदा आफूलाई स्वाभीमानी ठान्ने राष्ट्रसेवकले देशको भिखारी प्रवृत्ति र लाचार सरकार सम्झी आत्मपीडा लुकाएर उकुस मुकुस भई चुपलागे, कार्यक्रम पाउने आशामा स्वनामधारी सँस्थाका नाइकेहरुले ताली पडकाए र उद्धार कार्यमा खटिएका सुरक्षाकर्मीहरु कसैको कुराको मतलबै नगरी आफ्नो ड्युटीमा अहोरात्र खटिए । समयमै सबै सामग्री र प्रविधि पाएका भए यी हाम्रा होनाहार सेना प्रहरीले विदेशीले भन्दा बीस गुणा राम्रो गर्दा रहेछन् भन्ने प्रमाणि गरे । सामाजिक सञ्जालमा देखिएका उनीहरु प्रतिको सदभाव यसका ताजा प्रमाण हुन् ।

हो हामी स्वाभीमानी बन्न चाहने नेपालीहरु हौँ , हामीलाई विपदमा होस् या खुसीको क्षणमा विदेशीहरुल बुट बजारेर हामीलाई हेपेको मन पर्दैन, तर के हामी हाम्रो दायित्व प्रति सचेत छौँ त ? जनता घर निर्माणमा घुस खुवाएर मापदण्ड मिच्दछ, विपदको बेला राहत लिन नक्कली पिडित बन्छ, राजनितिक दल तथा अन्य सामाजिक सँस्थाका मान्छेहरु आएर हाम्रो गाउँको भग्नाबशेष पन्छाउँदा ऊ राहतको पैसाले रक्सी खाई मातेर बस्छ, कोही तास खेलेर बस्छ, स्थानीय युवाहरु रमिते भएर बस्छन् के यही हो त हाम्रो स्वाभिमान ?

अन्त्यमा, यसपालीका भुकम्पले जिल्लाको उत्तरी क्षेत्रमा ठूलो विनास भो , बाटो नभएकोले राहत हेलिकप्टर बाट लानु परो जुन धेरै महँगो भयो । २५ बर्ष सम्म त्यही क्षेत्रबाट एक छत्र प्रतिनिधित्व गर्ने महामहिमलाई आफ्नो त्यत्रो लामो कार्यकालमा बाटो पुर्याउन नसकेकोमा लाज र आत्मग्लानी हुपथ्र्याे, कुन्नि भयो कि भएन नया प्रतिनिधिहरु हो बेलैमा सोचे राम्रो ।जाँदा जाँदै राहतमा बाइबल बाडनेहरु हो, विपदमा धर्मको खेती नगरेको बेस । ८५ प्रतिशत नेपालीलाई गीताको धेर थोर ज्ञान छ र त्यहा भगवान श्री कृष्णले ”दरिद्राम भर“ अर्थात् दुखिलाई दान गर पनि भनेका छन् र दान लिने दिने सबैलाई ”स्वधर्मे निधनम श्रेय पराधर्मो भयाबह” (गीता ३ः३५) अर्थात् आफ्नो धर्ममा रहनु नै सबैका लागि श्रेयश्कर छ अर्काको धर्म डरलाग्दो हुन्छ भनेका छन् । सबैलाई चेतना भया ।

About The Author

Loading...