Tue. Mar 2nd, 2021

यहाँ नाटक छ !

गायत्री खतिवडा


आजभोली
हर दिन
शहरमा जुलुस छ
टोल टोलमा भेला छ
घर घरमा बैठक छ
प्रतिगमन र प्रतिक्रान्तिको नारा छ
विकास र समृद्धिको गाना छ
अग्रगमन र अग्रगामी छलाङको भाका छ ।
कतै खबरदारीको कुरा छ
कतै बफादारीको कुरा छ
कतै नाटक छ
कतै नौटंकी छ ।
हर दिन
शहरमा जुलुुस छ
टोल टोलमा भेला छ
घर घरमा बैठक छ
तर यही शहरको
छेउछाउमा
आँशु छ, पीडा छ
र नलेलिएको जीन्दगीको कथा छ ।

देशले “देश” नदेखेको
अलि तलको बस्तिमा
गुलियो भनिने उखु
पीरो बनेर पोलेपछि
बगेको
नुनीलो आँशुको व्यथा छ ।
थकित र शिथिल जिन्दगीको
लेख्न छुटेको अनगिन्ती गीत छ ।
शहरले पाखे देख्ने
अलि मास्तिर पाखामा
हाँस्दै स्कुल गएका छोरीहरुको
प्राण हरण गरिएको
वियोगको वेदना छ ।
आँगनमा फक्रदै गरेका
कोपिलाहरु पत्र पत्र च्यातेर
रगतले नुहाउने नरपिशाचहरुको
कालो कर्तुतको कथा छ ।
यत्रतत्र चारैतिर
अन्धकार छ
चित्कार छ
र डरैडर छ ।
शासकको आँखाले “देश” नदेखेको
पर दुरको
झुपडी र छाप्रोहरुमा
केवल चिसो खरानी छ ।
त्यति मात्रै होइन
देशले “दोस्रो दर्जा” ठानेको
निर्धा र सोझालाई
मालिकको आदेशमा
हतकडी र नेलले
बाँध्ने भालेहरुको हुलमा
रुन पनि अनुमति चाहिने
हाँस्न पनि अनुमति चाहिने
बाँच्न पनि अनुमति चाहिने
घिनलाग्दो माहात्म्य छ ।
यत्रतत्र चारैतिर
दुखै दुःख छ
चित्कार छ
र डरैडर छ ।
यता शहरमा भने
शासकलाई रिझाउन
वा
आफैं शासक हुन
रैतीको टाउकोलाई
भ¥याङ बनाउँदै
सत्ताको गद्दी चढ्ने
सपनामा रमाएका
साँढेहरुको स्वार्थको जुलुस छ ।
ती भूइंमान्छेहरुका दुखाइले कहिल्यै नदुख्ने
गैंडाहरुको भेला छ, अनि बैठक छ ।
हो , यहाँ
हर दिन
नाटक छ
नौटकी छ ।

२०७७ फागुन ९ गते प्रकाशित

gayatri.dhading@gmail.com

Loading...