
काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाण्डौ उपत्यकाको फोहर व्यवस्थापनलाई प्रभावकारी बनाउने सम्बन्धमा सरोकारवाला निकाय र पक्षका प्रतिनिधिसँग छलफल गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज मङ्गलवार प्रधानमन्त्रीले काठमाण्डौको फोहर व्यवस्थापन, फोहरको दीर्घकालीन समाधान र सरकारको तर्फबाट चाल्नुपर्ने कदमबारे सरोकारवाला पक्ष तथा निकायसँग छलफल गरेको हो ।
बैठकमा फोहरको दीर्घकालीन समाधानका विविध पक्षबा सहभागीहरूले आफ्नो धारणा राखेका थिए । बैठकमा बञ्चरेडाँडाको फोहर व्यवस्थापन, स्थानीय प्रभावित नागरिकले उठाएका माग, डम्पिङ साइटका लागि जग्गा खरिद लगायतका विषयमा छलफल भएको थियो । यसका लागि उच्चस्तरीय संयन्त्र आवश्यक रहेको र त्यसका लागि कानुनी प्रबन्ध आवश्यक रहेकोमा जोड दिइएको छ ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले आउँदो मन्त्रिपरिषद्को बैठकबाट देशभरिको फोहर व्यवस्थापन गर्ने जिम्मेवारी र संयोजन सहरी विकास मन्त्रालयको हुने गरी निर्णय गरिने जानकारी गराए । उनले भने, ‘सङ्घीय सरकार काठमाण्डौ उपत्यकालगायत देशभरिको फोहर व्यवस्थापनका निम्ति गम्भीरतापूर्वक लागिरहेको छ । त्यसका लागि मन्त्रिपरिषद्को बैठकबाट निर्णय गर्नुपर्दछ । आउँदो मन्त्रिपरिषद् बैठकमा देशभरिको फोहर व्यवस्थापनको कार्यादेश सहरी विकास मन्त्रालयलाई दिने गरी निर्णय लिन्छौँ ।’
प्रधानमन्त्रीले फोहर व्यवस्थापन सङ्घीय, प्रादेशिक र पालिका सरकारको साझा दायित्व भएकोमा जोड दिँदै फोहरको दीर्घकालीन व्यवस्थापनका निम्ति गठन आदेशसहितको कानुनी व्यवस्था र दीर्घकालीन संयन्त्र निर्माण गरिने उल्लेख गर्दै त्यसका लागि गृहकार्य गर्नसमेत निर्देशन दिए।