Thu. May 16th, 2024

भुस्याहा कुकुर, घुस्याहा नेता–कर्मचारी र छुल्याहा पत्रकारिता

– रामकुमार एलन

२०५३ सालतिर एसएलसी दिएपछि पत्रकारिता गर्ने हुटुहुटीले घोक्र्याएर सहरतिर पुर्‍यायो, त्यो पनि जिल्लै छाडेर । त्यतिखेर सहर र शहर दुई थरि लेखिन्थ्यो । एउटा सहरले खोलामा पाइने ठूलो माछा र अर्को शहरले विकास भएको व्यवस्थित बस्ती भन्ने बुझाउँथ्यो, हो कि बिर्सिएँ, न उल्टो भयो कि ? तर अचेल कुन ठूलो माछा, कुन विकसित बस्ती, सबै मन लागेका बेला शहर पनि लेख्छन्, सहर पनि लेख्छन् । यहाँ कैयौँले नामसमेत अनर्थ लाग्ने लेख्न थालिसके । जस्तो कि विर भनेको सुँगुरको पाठो हो, वीर भनेको बहादुर हो । तर अचेल नागरिकतामा पनि विर लेखिन थालियो । बहादुरको ठाउँमा ‘वहादुर’ लेखिन थाल्यो । बसलाई ‘वस’ लेख्ने पत्रकारहरु टन्नै हुनुहुन्छ । नरिसाउनु होला, ‘ब’ र ‘व’ एउटै होइन । ‘बकालत’ र ‘वोका’ दुवै अशुद्ध हुन् ।

त्यतिखेरकै कुरा गरौँ, चितवनको भरतपुरमा एउटा कोठामा बस्न थाल्यौँ भनेको हामी गाउँ छाडेर शहरमा पढ्न बसेकाहरु मिलेर बस्न सुरु भयो । साथीभाइ दमाली चैँ काठमाडौँतिर गलैँचा बुन्न जान्थे । गाउँका नानीहरु हराउँथे, पछि सर्कसतिर पुगेको कथा सुनिन्थ्यो । कोही भारतीय शहर कालापहाड खन्न जान्थे । दशैँमा आउँदा तिनको हरक नै अर्कै । घाँटीमा रुमाल बेरेर अत्तर मग्मगाउँदै बास्नावाला मधु सुपारी चबाएर देखाउँथे । त्यो देख्दा यो मधेशी मास्टरले पढाउने ‘डिओजी डाँग, डाँग माने कुत्ते’ भन्ने स्कुल पढेर किन बस्ने, जाउँ कि क्या हो गलैँचा बुन्न भनेर २–३ पटक त मन बेस्कन भौँतारियो । तर ‘विद्या धनेः सर्व धने, विद्या ददाति विनयम्’ ले अत्तरको बास्नाले भन्दा बढी तान्यो र आज ‘लक्ष्मी प्रसाद’ हुन नसके पनि ‘सरस्वती प्रसाद’ भएर ‘दालभात डुकु’ भइरहेको छ । लक्ष्मी प्रसाद हुन त्यतिखेर गाउँका सोझासाझाका छोरी सर्कस, गलैँचा, वेश्यालय पुर्‍याउनु पर्थ्यो । पछि आएर गाँजा, अफिम लगाउने, क्रसर चलाउने गर्न पर्ने भयो । अहिले आएर वनको रुख काटेर बेच्ने काम पनि सकियो । कति दिन हो गाँजा र अफिल अनि ढुंगा गिटी बेचेर धनी हुने । यस्तो लक्ष्मी प्रसाद जिन्दगी झट्ट हेर्दा लोभलाग्दो देखिए पनि तिनको जिन्दगी निकै तीतो देखिन्छ । कतिको घर भाँडिएर बिहानै ‘ट्रे’ मा ‘गुड मर्निङ बुढा, चिया लिस्यो’ ठाउँमा बालबच्चाका अगाढि बुढीले ‘जुत्तैजुत्ता’ हान्ने गरेका उद्योगीहरु पनि देखेको छु ।

अँ, फेरि माथिकै विषयमा जाउँ, त्यतिखेर ‘सुरू’ पनि मोटो थियोः शुरू । भरतपुरमा एउटा कोठा, अहिलेजस्तो थिएन, त्यतिखेर । घरबेटीले खाट पनि दिन्थे । एउटा खाट थियो ठूलो । कोठाभाडा ८ सय रुपैयाँ । बस्ने पनि ८ जना थियौँ । दुई जना चैँ आक्कलझुक्कल आउने, ६ जना चैँ सधैँजसो हुन्थ्यौँ, ती दुई जनाबारे अहिले बिर्सेँ । खाटमा चैँ ३ जना अट्थ्यौँ । स्टोभमा खाना पकाउने, भूइँमा गुन्द्री ओच्छ्याएर ३ जना सुत्ने । साँझ कोठामा पुग्ने पहिलो ३ जना खाटमा सुत्न पाउने नियम राखेका थियौँ । किनभने उनीहरु चाँडै पुग्दा खाना पकाउने काम हुन्थ्यो, ज्याला, बनिबुतो गरेर साँझ पुग्दा भोकमा खाना खान पाइएपछि सुत्न खाट पर्थेन, भूइँको गुन्द्री काफी थियो । ८ जना आठ थरिकै थियौँ । कोही विद्यार्थी नेता, कोही स्वास्थ्य पढिरहेका । कोही क्याम्पस पढ्न सहर छिरेका, म चैँ एसएलसीको नतिजा कुरिरहेको । खाली समयमा केही काम सिक्न सहर छिरेको, रुची पत्रकारितामा । एक जना पत्रकार पनि हुनुहुन्थ्यो । एक जना बितिसके । बाँकी ७ जनामध्ये एकजना नेता छन्, एकजना कता छन् कुन्नि ? अर्का चितवनतिर छन् । अर्का काठमाडौँमा शेयर आन्दोलनमा आमरण अनशन बसेर झण्डै मरेका ? अर्को म भइहालेँ । दुई जनाको सम्झना धमिलो भइसकेछ, कुरा ३ दशक पहिलेकै हो नि त !

त्यतिखेर पत्रकारिताको मूल्य थियो । मान्यता थियो । समाचारमा कोही आए, निकै लजाउँथे–डराउँथे । ओहो ! समाचारले सोत्तर पारिहाल्यो नि, बेइजत भयो भन्दै मान्छे निकै सचेत हुन्थे । अहिलेजस्तो काण्ड मात्र भएको मान्छेहरुको शहर थिएन नेपाल । त्यतिखेर एउटा काण्डले नै ‘काण्ड’ पुग्थ्यो । सबैभन्दा राम्रो के हुन्थ्यो भने, विवाह कहिले गरिसकेका हुन्थे, जब चुनाव आउँथ्यो, टिकट पाउन लागेका नेताहरुको बहुविवाह काण्डको समाचार बनाइन्थ्यो । त्यो समाचार आएपछि टिकट पक्का भएका नेता पनि मौका गुमाउँथे । पत्रकारहरु हाम्रो समाचारले बदमासहरु टिकट पाउनबाट रोकिए भनेर रमाउँथे । पत्रकारको इज्जत पनि थियो । पत्रिका नपढे भात नखाने, अफिस नजाने चलन थियो । पत्रकार तथा पत्रिकाको मूल्य र मान्यताले जो पायो उही पत्रकार हुन सक्दैन, ‘दिमागी किरो’ हुनुपर्छ भन्थे । भाका पुर्याएर समाचार र लेख लेख्न सक्नेहरुको भविष्य थियो ।

पत्रकारितामा एउटा पढेको पुस्ताको आगमन भयो । राजनीति बुझेको पुस्ताको बाढी नै आउन थाल्यो । त्यतिखेर चितवनको वीरेन्द्र क्याम्पसमा बिए तेस्रो वर्षको एक सय नम्बरको मात्र पत्रकारिता पढाइ हुन्थ्यो । पत्रकारिता पढ्न काठमाडौँको आरआर क्याम्पस जानु पर्थ्यो । त्यसैले पत्रकारिता गर्न चाहे पनि सैद्धान्तिक पत्रकारिता अध्धयन परको विषय थियो । सबै काठमाडौँ जाने कुरा पनि थिएन । पत्रकारिताको मूल्य र मान्यता स्थापित गर्ने काममा लागेका पुस्ताहरु अहिले कोही भविष्य नभएर विदेशिएका छन् । कोही पत्रकारिताको भरेङ चढेर राजनीतिमा छन् । कोही मन्त्रीसम्म भए । कोही मुद्दामामिलामा फसेका छन् । पत्रकारिता गरेर पत्रकार मात्रै हुन्छु भन्नेहरु थोरै छन् । त्यहीबाट पत्रकारिता भासिन थालेको हो र भासिने क्रम जारी छ । पत्रकारिता अहिले ‘माता’हरुले चलाएका छन् । उनीहरु कहिले ‘नाग’ निकाल्छन्, कहिले ‘राजा’ ल्याउँछन् । कहिले ‘नेता मारिने’ कुरा गर्छन् । केहीले फेरि पत्रकारितालाई मागिखाने भाँडो बनाए । सबै पत्रकारको जिम्मा लिएर हालिमुहाली गर्नेहरु पनि छन् । तिनले लिएको ठेक्का पत्याउने एउटा तप्का र वर्ग छ । उनीहरु सबै पत्रकार भेटेर किन ‘ह्याङ’ हुनु, ‘ल्याङ’मात्र गर्छन्, एउटैलाई ठेक्का दिउँ भन्ने नागरिक समाजको नेता, कर्मचारी, ठेकेदार पनि तयार भए । यसरी पत्रकारिता भत्कन थाल्यो । यो यस्तरी भत्कियो कि हुँदाहुँदा पत्रकारबाटै राजनीतिमा उदाएका रवि लामिछानेले पनि पत्रकारलाई गाली गर्न थाले । अहिले पत्रकारिताबाट रवि लामिछाने मन्त्री हुँदा उनको अन्तरवार्ता लिने पत्रकारकै देशमा खडेरी छ । पत्रकार लखेट्नेमा पछिल्लो पटक कम्पनीमार्फत अनलाइन र टेलिभिजन भन्दै ‘स्वास्नी खोज्ने समाजसेवा’मा लागेका युट्युबरहरु सबभन्दा बढी देखिन्छन् । उनीहरु नै पत्रकारिताको गला दबाइरहेका छन् । जनताको नजरमा फेरि यस्तै युट्युबरहरु ‘असली पत्रकार’ देखिएका छन् । किनभने उनीहरुको ‘सौतासँग रत्तिइरहेको लोग्ने’ भेटिएको छ । ‘सम्पत्ति कुम्ल्याएर भागेकी पत्नी’बारे गाली गर्ने ठाउँ पाएका छन् । पत्रकारिताका नाममा गाली, रुवाबासी सबै निर्लज्जसँग पत्रिकामा आउँदैन । युट्युबमा आउँछ । त्यसैले पत्रकारितालाई पछिल्लो समय कर्मचारी, नेताले त लखेटे नै । माफियाहरु त पाए गोली हानिहाल्छन् । काठमाडौँका ठूला पत्रकार सम्मेलनमा राष्ट्रिय मिडियाहरुले माइक र क्यामेरा राख्न नपाउने गरी युट्युबरहरुले ढाकिसकेको अवस्था हुन्थ्यो । साँच्चै पत्रकारिता परिस्कृत हुन सकेको थिएन होला तर बहिस्कृतको सूचीमा पर्नुमा पत्रकार, पत्रकारिताकै आडमा अरु स्वार्थ उद्योगमा संलग्नहरुका कारण हो । तपाईं हामीजस्ता सपाट लेख्ने र पढ्नेले पत्रकारिता बिगारेका छैनौँ । बिगार्दैनौँ पनि ।

अठारौँ शताब्दीतिर एक दार्शनिकले भनेका थिए, ‘कुकुरले मान्छे टोके समाचार हुँदैन, मान्छेले कुकुर टोके समाचार हुन्छ ।’ हाम्रो पत्रकारिता पढाउने गुरुहरुले यसै भनेर पत्रकारिता घोकाए । समय कस्तरी बदलियो भने, हाम्रो टोलबस्तीमा भुस्याहा कुकुरको यस्तरी बिगबिगी भयो कि, यद्यपि समाजमा भुस्याहा कुकुर भन्दा घुस्याहा कर्मचारी र भुस्याहा नेता नै बढी छ भन्ने पनि तपाईं हामीलाई थाहा छ, भुस्याहा कुकुरले टोकेर जनता मर्न थाले भनेर नगरपालिकाले हरेक वर्ष भुस्याहा कुकुर नियन्त्रण अभियान चलाउन थालेको छ । बजेट नै व्यवस्था हुन थालेको छ । कतिसम्म भने भुस्याहा कुकुर नियन्त्रण अभियानमा छुट्याइएको बजेटमा समेत घुस्याहा कर्मचारीले तर मारेको कुराहरु आएका छन् । यस्तो समाचार पनि नलेखेर पत्रकारले फेरि अर्को छुल्याहा पत्रकारिता गरिरहेका छन् । कुकुरले टोकेर उपचार नपाएका जनताको समाचार लेख्नु पर्यो कि परेन ? अब कुकुरले मान्छे टोकेको समाचार हुन्न भनेर हुन्छ ? समय अनुसार परिभाषा बदलियो भने पत्रकारिता बदलिनु पर्छ कि पर्दैन ? अझै पनि हाम्रा अग्रज पत्रकारहरु ‘आत्महत्याको घटना घटिरहेका छन्’ भन्छन् । घटना ‘घट्यो’ भने त समाचारै लेख्नै परेन नि । आत्महत्या बढेको भएर बर्सेनि आत्महत्या बढ्यो भन्नु पर्ने हाम्रा वरिष्ठ पत्रकारहरु चैँ ‘घट्यो’ भन्छन् । घटना भएकाले समाचार हुने हो, घटना घट्दा समाचार लेख्नै पर्दैन । फेरि वकिल जाँच दिएर वरिष्ठको लाइसेन्स लिन्छन् । पत्रकार चैँ समाचार लेख्न छाडेर झोले र चियापसलमा गफ लगाउने भएपछि एकाएक ‘वरिष्ठ’ हुँदै जान्छ । केही जाँच पनि दिन पर्दैन, लेख्न पनि पर्दैन । अनलाइनखबरका प्रधानसम्पादक कुनै पत्रकारिता तालिममा भन्ने गर्छन्, ‘जति कम लेख्यो, उति वरिष्ठ, जति वरिष्ठ, उति लेख्न कम ।’ यस्ता वरिष्ठ पत्रकारहरुले पछिल्लो पटक लेखेको समाचार के होला ? उक्त पत्रकारलाई सोबारे सोध्नुहोस्, उनले उक्त समाचार भन्न सक्दैनन् । उक्त पत्रकारहरु अहिले वर्ष्ठि पत्रकार भएका छन् । हामी अचेल समाचारमा उक्त र सो पनि लेख्न छाडिसकेका छौँ, किन भने हामी वरिष्ठ भएका छैनौँ ।

पत्रकारले सबैबारे जान्ने तर पत्रकारिता नजान्ने रोगले हामी नेताबाट हेपिएका छौँ । विज्ञापनका लागि कर्मचारीलाई कमिसन दिन सिकायौँ, त्यसैले अचेल कर्मचारी हामीसँग डराउँदैननन्, बरु विज्ञापन नदिएपछि लखेटेको भनेर हामीलाई चरित्रनाश पारिदिन्छन् । कलाकारको संगतमा छौँ । हाम्रा कलाकारहरु कस्ता छन्, उनीहरुबाट नयाँ के सिक्यौँ ? नेता, धर्मगुरुहरुबाट पनि सिक्न लायक केही छैन, भर्खरै एउटा धर्मगुरुकी पत्नीले मेरा श्रीमान बहुनारीसँग संसर्गमा भेटिएँ भन्दै पत्रकार भेट्न आइन । घरमै माता पीडित पारेर हाम्रा गुरुहरु समाजसेवा गरिरहेका छन् । हाम्रो संगत नै खराब छ । क्रसरवालादेखि युट्युबरवाला हामीलाई बाधक देख्छन् । त्यसैले समाज सुधार्ने नाममा पत्रकारिता बिग्रियो, यस्तो बेला धमाधम पत्रकारका चुनाव आएछन् । भुस्याहा कुकुर, घुस्याहा नेता–कर्मचारी र छुल्याहा पत्रकारिताले समाज बिग्रियो भनेर नयाँ र जान्नेहरु आएका छन् । उनीहरुलाई छान्नेहरु पनि चकित छन् । अस्ति रवि लामिछानेमाथी भरोसा राख्ने एक जना प्रेम सञ्जेल भन्दैथिए, ‘रविजीले भागेको मान्छे समातेर वाहवाही पाउनु भयो तर अस्पतालमा उपचार गरेर घर पठाउनु भयो, नयाँ भन्नेहरु पनि कानै चिरेका !’

About The Author

Loading...