Wed. May 15th, 2024

गिर्दो शाख, बढ्दो चाख

– धनराज वास्तविक
ठोस परिस्थितिको ठोस् विश्लेषण नै माक्र्सवाद हो । माक्र्सवाद बुझ्ने र बदल्ने विश्व दृष्टिकोण हो । यहि वैज्ञानिक, व्यवहारिक र समाजवादी विश्व दृष्टिकोणलाई मार्गनिर्देशक सिद्धान्त मानेर राजनीति गरिरहेका कम्युनिष्ट नेताकार्यकर्ताहरूको व्यवहार भने अत्यन्तै घिन लाग्दो छन् । आफूलाई दुनियाँ बदल्ने ठेकेदार सम्झिने विश्वका कम्युनिष्टहरूको आन्दोलन आजको दिनमा रक्षात्मक अवस्थामा छन् । यति मात्र होइन, पूँजिवादले सेवाको नाममा फेरिरहेको स्वरूपले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाइरहेको छ । औलामा गनिने देशमा बाहेक विश्वका अधिकांश देशमा पूँजिवादी, दक्षिणपन्थी, नश्लवादी शासकहरूले शासन गरिरहेका छन् । कम्युनिष्ट नेताहरूले शासन गरिरहेका देशका जनताहरू पनि एक खालको उकुसमुकुसमा बाँचिरहेका छन् भन्ने सुनिदैछ । लोकतन्त्रको उच्चतम रूपलाई वैज्ञानिक समाजवाद भन्नेहरूले शासन गरिरहेका मुलुकको लोकतन्त्र, प्रेस स्वतन्त्रता, वाक स्वतन्त्रता मजबुद छैन । आलोचकहरू त कम्युनिष्ट नेताहरूले साशन गरिरहेका देशको लोकतन्त्र मृत प्रायः छ भनिरहेका छन् ।

समाजवादी मुलुकहरूका नेताहरू पछिल्लो समय अलोकप्रिय बन्दै गएका रिपोर्ट सार्वजनिक भइरहेका छन् । यो विश्व कम्युनिष्ट आन्दोलनका निम्ति दुःखद खबर हो । आफूलाई सबैभन्दा श्रेष्ठ मानिस ठान्ने कम्युनिष्ट नेताहरूबाट शासित जनताहरूले उकुसमुकुस र आत्मवञ्चनामा बाँच्नुपर्ने बाध्यता छ भनेर सुन्दा कसलाई पो प्रिय लाग्ला ? कम्युनिष्ट विचार बोकेर हिडिरहेका यात्रीहरू यस्ता खबरहरू सुन्दा लज्जीत बन्नु स्वभाविक हुन्छ । समाजवादको नाममा तानाशाह बन्ने, निरंकुश बन्ने, बाधशाह बन्न खोज्ने, सत्ताभन्दा बाहिर बस्न नसक्ने, व्यक्तिवाद, गुट र फुटमा रमाउनेहरू नेतृत्वमा रहेसम्म कम्युनिष्ट आन्दोलनले उभोगति लिन सक्दैन । यो त भयो विश्व दुनियाँको कुरा । 

यता नेपाली कम्युनिष्ट नेताहरूको अवस्था झन् नाजुक छ । दर्जनौं समूहमा बिभाजित कम्युनिष्ट नेताहरूका नारा क्रान्तिकारी छन् । उनीहरूका दस्तावेद खुब गरूङ्गा छन् । लिखतमा कम्युनिष्ट आन्दोलन अत्यन्तै सफल छ । कम्युनिष्ट पार्टीहरू असाध्यै सफल छन् । तर, व्यवहारमा ठोस् विश्लेषण यति सतही र अपरिपक्व छ कि भनि साध्य छैन । हाम्रो नेताहरूको वर्तमान अवस्थाको विश्लेषण फिक्का र हल्का छ । खासगरी रूपान्तरण, पुस्तान्तरण र हस्तान्तरणको मामिलामा नेपाली नेताहरू नमजाले चुकेको देखिन्छ । 

पूँजिवादी संस्कृति र उत्पीडनका विरूद्ध यतिबेला गाउँका कुना कन्दरा र सहरका गल्लि—गल्लिहरूमा रूपान्तरणका अभियान र नाराहरू घन्किरहेको हुनुपर्ने । कम्युनिष्ट नेताहरूले रूपान्तरणकारी क्रान्तिको नेतृत्व गरिरहेको हुनुपर्ने । तर, यसको ठिक उल्टो पूँजिवादलाई थप प्रसय दिनेगरी हाम्रा कम्युनिष्ट नेताहरू बिलासी बनेका छन् । विगतलाई भजाएर खाने गरिरहेका छन् । आँसुको व्यापार गरिरहेका छन् । लोकप्रियताको भूतमा बाँचिरहेका छन् । आफन्तवादको सीमाहिन श्रृखला जारी छ । अर्कातर्फ अनेकौं खालका तस्करी, ठगी र दलालीमा व्यस्त देखिन्छन् । अन्न्याय अत्याचारविरूद्ध वर्गसंघर्ष गरेका सर्वहारा वर्गका नेताहरू आज सबैभन्दा बढि धनी छन् । देश र जनताको अपेक्षा विकास र समृद्धि थियो । सुशासन थियो । कानूनी राज्यको स्थापना होस् भन्ने आशा थियो । यति सुन्दर सपना बोकेका जनताको अवस्थामा तात्विक भिन्नता छैन । तर, नेताको जीवनमा भने धेरै परिवर्तन भएको देख्न पाइन्छ । एकछिन पहिले सडकमा भएको दल सत्तामा पुग्छ । सत्तामा रहेको दल सडकमा आइपुग्छ । सत्ताका निम्ति नौटङ्की देख्न त पाइन्छ । तर, देश र जनताका निम्ति नेताहरूले उदार भावना र दूरदृष्टिका साथ काम गरेको देख्न पाइएको छैन । 

पहिलो पुस्तालाई विश्राम
अर्कातर्फ चौतर्फि रूपमा पहिलो पुस्ताका नेताहरूले विश्राम दिनुपर्छ भन्ने आवाज उठिरहेका छन् । यस्तो आवाज उठिरहेको बेला ७० कटेका नेताहरू भने अझैं जवान छौं भनिरहेका छन् । २३ चैत २०८० का दिन केपी ओलीले आफू अबको २० वर्षसम्म राजनीतिमा सक्रिय रहने भनेर भाषण गर्दै थिए । ओलीको उक्त भाषण पुस्तासँग मात्र नभएर अन्य राजनीतिक सन्दर्भहरूसँग पनि नजिक मान्न सकिएला । तर, पनि पहिलो पुस्ताका नेताप्रतिको जनविश्वास एकदमै घट्दो अवस्थामा छ । भन्न त राजनीति उमेरले नभएर मुद्धाले गर्ने कुरा हो । तर, हाम्रो शीर्ष नेताहरूसँग न उमेर छ, न त मुद्धा छन् । केवल उनीहरूसँग विगतलाई भजाएर खान सक्ने अराजनीतिक चरित्र छ । आँसुको व्यापार गर्न जानेका छन् । जनतालाई झुक्याउन माहिर छन् ।

सर्वहारा जनताको राज ल्याउने मुद्धा, मुलकलाई समृद्ध बनाउने योजना, जनतालाई शरीरिरको अधिकार दिनेबारे हाम्रा नेताहरू नराम्रोसँग चुकिरहेका छन् । नेताहरूको सत्तामोह सीमाहिन छ । विगत ४० वर्षदेखि प्रचण्ड पार्टी सत्तामा छन् । उनले आजका दिनसम्म पनि नेतृत्व हस्तान्तरण गर्ने कुनै संकेत देखाइरहेका छैनन् । माधवकुमार नेपालले कुनै बेला १५ वर्ष एमालेको नेतृत्व गरेका थिए भने अहिले एकीकृत समाजवादीको नेतृत्वमा छन् । निरधारित पार्टीको (आगामी जेठमा तोकिएको) १०औं महाधिवेशनमा उनले पनि अर्को कोही नेतालाई उत्तराधिकारीका रूपमा अगाडि सार्छन् भन्ने पूर्वअनुमान गर्न सकिने अवस्था छैन । मुलधारका कम्युनिष्ट नेताहरू मात्रै होइन, आफूलाई सच्चा कम्युनिष्ट नेता ठान्ने मोहनविक्रम सिंहको पार्टी सत्ता राज २०३१ देखि आजसम्म छ भने राज्य सत्तामा आफन्तवाद (श्रीमतीलाई सांसद) पवृत्तिबारे भनिरहन पर्दैन । नारायणमान विजुक्छे कुवाको भ्यागुतो बनेकै छन् । अर्का चर्चित नेता चित्र बहादुर केसी २०४४ पछि राजमोको नेतृत्वमै छन् । पछिल्लो समय पार्टी फुटाएर अध्यक्ष बनेका विप्लव, मोहन वैद्य, आहुतीलगायतका नेताहरूको कुरा फरक छैन । यसरी हेर्दा खासगरी कम्युनिष्ट पार्टीका मुख्य नेतृत्वको शाख गिर्दो छ । ओरालो यात्रामा रहेका र राजनीतिक जीवनको उत्तरार्धमा आइपुगेका नेताहरूको पार्टी सत्ता र राज्य सत्ता मोह, चाख अतिरिक्त छ । यिनीहरूले आफ्नो र आफूलाई जीवनभर साथ दिएका नेता कार्यकर्ताहरूबारेमा, देश र जनताको बारेमा ठोस् विश्लेषण गर्न सकिरहेका छैनन् ।

यी नै मुख्य नेताको सत्ता स्वार्थका कारण वर्तमान व्यवस्थामाथि चौतर्फी प्रहार भइरहेको कुरा घाम जस्तै छ । संघीयता कमजोर बनाउने काम पनि यी नै नेताहरूले गरिरहेका छन् । संघीयता कार्यान्वयन पश्चात सम्पन्न (दुईवटा ७४ र ७९) आम निर्वाचनबाट प्रदेशतर्फ कर्णाली, गण्डकी, बागमती र कोशीमा ६ वटा मुख्यमन्त्री बनेका छन् । त्यस्तै लुम्बिनीमा ५ र सुदूरपश्चिममा ४ सरकार बनेका छन् । मधेश प्रदेशले मात्रै पहिलो कार्यकाल एकजना मात्रै मुख्यमन्त्री झेल्यो । संघीय सरकारको अस्थिर छाल प्रदेशमा पुग्ने र हलचल ल्याउने गरेको पाइन्छ । यहि कारण पनि संघीयता विरोधितत्वहरूले संघीयता काम लाग्दैन भनेर चर्को नारा लगाइरहेका छन् । राज्यको स्रोत साधानको दुरूपयोग गर्ने, प्राकृतिक स्रोतमाथि अतिरिक्त हस्तक्षेप गर्ने काम भइरहेका छन् । यो सब हुनुमा हाम्रा मुख्य नेताहरूको अतिरिक्त सत्तामोह, आफन्तवाद, गुटवाद, फुटवाद र अवसरवाद जिम्मेवार छ । 

त्यस्तै यता संविधानले अंगिकार गरेको तीन खम्बे अर्थनीति (सरकारी, सहकारी र निजी) यतिबेला बहुत ठूलो संटकबीच गुज्रिरहेको छ । यस्तो बेला मुख्य राजनीतिक दलहरू मौन छन् । खासगरी सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रका नेताहरू नै सहकारी ठगी प्रकरणमा मुछिएको अवस्था छ । सरकारका वाहलवाला गृहमन्त्री रवि लामिछाने, माओवादीका नेता तथा मन्त्रीसमेत रहेका माओवादी नेता शक्ति बस्नेत सहकारी ठगी प्रकरणमा मुछिएका छन् । त्यस्तै रास्वपाकै नेता तथा श्रममन्त्री डोल प्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी सहकारी ठगिमा मुछिएको अवस्था छ । यहि कारण पनि सहकारी अर्थतन्त्र यतिबेला सबैभन्दा बढि चर्चामा छ । सरकारी अर्थ ढुकुटी कर्मचारी, नेता, विचौलिया, दलालहरूले गर्ने भ्रष्टचारमा दुरूपयोग भइरहेको छ । सामान्य मानिसहरूले छाक काटेर जम्मा गरेको सहकारीको पैसा ठगि भइरहेको छ । राष्ट्रिय ढुकुटीमाथि भ्रष्टचार र सहकारीमाथि ठगि धन्दा चल्दा देशको अर्थतन्त्र तहसनहस बनेको अवस्था छ ।  

२०८० साल नेपाली राजनीतिका निम्ति खासै उपलब्धिको वर्ष रहेन । अन्तीममा आएर ओली—प्रचण्ड र माधवहरू एक ठाउँमा उभिएका छन् । नयाँ वर्ष २०८१ को अवसरमा उनीहरूले दिएका शुभकामना सन्देशलाई आधार मान्ने हो विगतको समिक्षा गरेर मुलुक र जनाताको निम्ति नयाँ संकल्प गर्छन कि ? शीर्ष नेताहरूले वामध्रविकरण व्यक्ति होइन, मुलुक, जनता र कार्यकर्ताको भविष्यको नाममा गर्नुपर्छ । पुस्तान्तरण र रूपान्तरण आजको दिनमा अनिवार्य बनेको छ । यस कुरालाई विचार गर्दै पहिलो पुस्ताका नेताहरूले विश्राम लिनुपर्छ । नभए नयाँ नामका, वैकल्पिक शक्तिको भ्रममा उर्मेका तीनपातेहरूले वर्तमान व्यवस्थालाई वर्वाद पार्नेछन् । विगतको विरासत भत्किनेछ । असली मान्छेहरू किनारा लाग्नेछन् । नक्कली, झटु, स्टन्टबाज, फण्डावाल, सहकारी ठग, तस्कर, विचौलियाहरूले जनतालाई झुक्याइ रहनेछन् । यस्ता कर्मकाण्डी राजनीतिले लोकतन्त्रलाई बलियो बनाउदैन । यो मुलुकले आवश्यकता र औचित्य सकिएका नेताहरूको झुट र बेइमान राजनीति कहिलेसम्म खेप्ने ? नयाँ भनिएकाहरूको म्रममा देश र जनतालाई पार्ने काम पनि मुख्य पहिलो पुस्ताका नेताहरूबाटै भइरहेको छ । यसको छिनोफानो चाँडो गरौं । जति चाँडो यो काम गर्छौं, त्यति नै भलो हुनेछ ।

होइन, पहिलो पुस्ताले भरखर जुङ्गा पलाउदैछन् भनिरहने हो भने यो मुलुकले शान्ति र स्थिरता प्राप्त गर्दैन । नयाँ र वैकल्पिक शक्तिको भ्रममा जनाता झुक्किरहने खतरा बढ्छ । न यता वैचारिक आन्दोलन बलियो बन्छ । न त उता साच्चिकै वैकल्पिक शक्तिको जन्म हुन्छ । हाम्रो जस्तो भू—राजनीतिले गाँजेको मुलुकमा स—सानो प्रयासले वैकल्पिक शक्ति स्थापित भइहाल्छ भन्ने लाग्दैन । बरू सम्भावना पूराना र नयाँ भन्ने भाष्यलाई बदलेर सबै सच्चिऔं र देश बनाऔं भन्नुपर्छ । हामीले पूराना भनिएका एमाले, कांग्रेस, माओवादी, समाजवादीका नालायकी पनि देख्यौ । साथै नयाँ भनिएका रास्वपाहरूका नालायकीसमेत भोगिरहेका छौं । यस्तो खालको कर्मकाण्डी राजनीतिले मुलुक बन्दैन । जनताले सुखानुभूति गर्न पाउँदैनन् । जनताहरूले नोटमा भोट विक्रि गर्नु भएन । नेताहरूले नोट दिएर भोट किन्नु भएन । नेताहरूले भाषण गर्ने नाममा नसक्ने कुरा बोल्नु भएन । जे गर्न सकिन्छ, त्यो बोलौ । जे बोलिन्छ, त्यो गरेर देखाऔं । नैतिक राजनीतिको इतिहास गर्विलो हुन्छ । अनैतिक राजनीति आलोच्य बन्छ । अरूलाई नैतिकताको पाठ सिकाउनेहरू स्वयं आफू नैतिक हुनुपर्छ ।

अन्त्यमा, आज जतिपनी नेताहरू सत्तामा छन् । उनीहरूको राजनीतिक, नैतिक, सामाजिक, साँस्कृतिक चरित्र बहुत कमजोर र बदनाम छ । विवादित छ । के नयाँ ? के पुराना । सबका सब अवसरवादी छन् । नयाँ वर्ष २०८१ को अवसरमा सबै राजनीतिक दलहरूले मुुलुकलाई समृद्ध बनाउने, भ्रष्टचारमा निर्मम बन्ने र जनतालाई शुखी बनाउने काममा आफूलाई क्रियाशील बनाउन् हार्दिक शुभकामना ।

About The Author

Loading...