संविधान कार्यान्वयनका कुरा

चैत ३, २०७२

लक्की चौधरी –

Lucky chaudary

नयाँ संविधानको प्रस्तावनामा ‘सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने’ उल्लेख छ । तर यी लेखिने र गरिने कुरा मात्रै हुन् । व्यवहारमा अहिलेका नेता र शासककै चिन्तनमा त्यस्तो विभेद र उत्पीडन हावी  छन् । व्यवस्थापिका संसदमा यस्तो कुनै दल छैन, जो केन्द्रीकृत व्यवस्था अंगीकृत नगरेको होस् ।

No data was found

लोकतन्त्र र गणतन्त्रको ठूला कुरागर्ने लोकतान्त्रिक दलको नेतृत्वमा रहनेहरुकै सोच र प्रबृत्ति केन्द्रीकृत छ । नेतृत्वमा हुने अधिकांश छलफलका विषय, गरिने निर्णयहरुमा पार्टी पङ्क्तिको ठूलो जमातको सहभागीता र समन्वय हुने गर्दैन । निर्णय लाद्ने गरिन्छ । नेतृत्वले सकेसम्म आफै, नभए आफ्नो आसेपासेको सहयोग लिएर एकलौटी निर्णय गर्नेगर्छ । त्यसैकालागि गुटगत राजनीति चाहिएको हो । यो समस्या केवल दलमा मात्रै होइन, दलको प्रत्यक्ष अप्रत्यक्ष छायाँपरेका भातृ संगठनमा पनि छ । यो केन्द्रीकृत सोच र प्रबृत्ति नै हो । दलका नेताहरु आफूलाई जति लोकतान्त्रिक भन्ने गर्छन्, सारमा उनीहरु लोकतन्त्रको अभ्यास गरेकै छैनन् । गर्न चाहँदैनन् । कारण, उनीहरु नै केन्द्रीकृत र विभेदकारी सोचबाट ग्रसित छन् ।

त्यस्तै, संविधानको प्रस्तावनाको अर्को अनुच्छेदमा ‘सबै प्रकारका जातीय छुवाछूतको अन्त्यगरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित् गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तकाआधारमा समतामूलक समाजको निर्माण गर्ने’ उल्लेख छ । यी सब सिद्धान्तका कुरा हुन् । पढ्दा राम्रो लाग्छ । व्यवहार र कार्यशैलीमा आउँदैन । कानूनमा छुवाछूत अन्त्य गर्ने तर घरमा त्यसको फित्तिकै कार्यान्वयन नगर्ने प्रबृत्ति छ । पुराना सामन्ती सोचबाट नेता, कार्यकर्ता र नेतृत्व ग्रसित छ । समानताको ठूला कुरागर्ने तर रातदिन आफ्नै दुनो सोझ्याउने प्रबृत्ति छ । अवसर प्राप्त हुने ठाउँमा, नेतृत्व गर्ने ठाउँमा सबै आफ्नै नजिकका नातेदार, भाइ भतिजा, दिदीबहिनी, आफन्त, पार्टीका कार्यकर्ता तथा स्थानविशेषका आधारमा जनशक्ति भर्तीगर्ने नेता र नेतृत्वकर्ताको कार्यशैली छ । प्रबृत्तिलाई नसुधारेर समानता र समताको कुरागर्नु खोक्रो आदर्शमात्र हुन्छ ।

संविधानको धारा ४२ मा रहेको सामाजिक न्यायको हकमा राज्यबाट सामाजिकरुपले पछाडि पारिएका वर्ग समुदायलाई समानुपातिक समावेशीको आधारमा राज्यको हरेक निकायमा सहभागिताको हक हुनेगरी माघ ९ गते पहिलो संशोधन गरिएको छ । तथापि त्यसमा जनसंख्याको आधारमा सबै जातजातिको सहभागितालाई समानरुपमा व्यवस्था गरिएको छैन । संशोधन अझै अपुरो छ । राज्यको सबै निकायमा जनसंख्याको अनुपातमा सहभागिताको व्यवस्था गर्न सकेको भए, बैज्ञानिक हुन्थ्यो । राज्यको निकायमा प्रतिनिधित्व बनाइसकेका जाति र समुदायको अधिकार कटौती हुनेडरले त्यो व्यवस्था गरिएन । घुमाईफिराई शब्दजालमा फँसाएर पछाडिपरेका वर्गलाई भुल्याउने काम भएको महुशस हुन्छ ।

त्यस्तै, संविधानको धारा २६१ मा आदिबासी जनजाति आयोग, २६२ मा मधेसी आयोग, २६३ मा थारु आयोग, २६४ मा मुस्लीम आयोग गठन हुने व्यवस्था छ । तर त्यसको काम, कर्तव्य र अधिकार तथा कार्यविधि संघीय कानून बमोजिम हुने व्यवस्था छ । संघीय कानून भोलि कस्ले र कसको सहभागितामा बन्छ, त्यो स्पष्टै छ । थारु आयोग सञ्चालन गर्ने विषयमा थारु प्रतिनिधिको सहभागितामा कानून बन्नेवाला छैन । मधेसी आयोगको कानून मधेसीको बाहुल्यतामा बन्ने छैन । मुस्लीम आयोग सञ्चालन गर्ने कार्यविधि र कानूनहरु उनीहरुको राय, सल्लाह र सहभागितामा बन्ने छैन । आदिबासी जनजाति आयोगको विषय पनि त्यही हो । कानूनले बाँधेर आयोगको स्वतन्त्रता कसरी खोज्न सकिन्छ ? यो टिप्पणी अहिले नै गर्दा हतारो भएको महुशस होला तर हुने त्यही हो ।

अर्को कुरा धारा २६५ मा त्यसरी गठन हुने आयोगको पुनरावलोकन गर्नसक्ने व्यवस्था छ । संघीय संसदले संविधान प्रारम्भ भएको दशवर्ष पछि पुनरावलोकन गर्ने छ । २०७२ असोज ३ गतेबाट संविधान कार्यान्वयनको गणना गर्दा आयोग गठन हुनै कम्तिमा चार–पाँचवर्ष लाग्नेछ । विभिन्न झमेला र समस्याकाबीच आयोग गठन भैहालेमा त्यसको पूर्णता र कार्यविधि बनाउँदै थप समय लाग्नेछ । आयोगले कतिबेला काम गर्ला ? आयोगको औचित्य कसरी पुष्टि होला ? दश वर्षपछि संघीय संसदले त्यसको पुनरावलोकन गर्नेछ ।

अनावश्यक लागेमा संविधान संशोधनबाट हटाइ दिनसक्छ । त्यसैले यी आयोग गठनका विषय केवल देखाउने दाँतमात्र हुन् । विभिन्न जाती, समुदायलाई लोभ्याउनका लागि गरिएका व्यवस्था हुन् । यी आयोगले गर्नेकाम र कार्यशैलीले सो समुदायको उत्थान र विकासमा कुनै औचित्य पुष्टिहोला जस्तो लाग्दैन । आयोगमा एक अध्यक्ष र चारजनासम्म सदस्य रहने व्यवस्था छ । त्यसैमा भोलि राजनीतिक खिचातानी होला । ठूला दलकै प्रतिनिधित्व गर्ने नेता, कार्यकर्ता नै त्यसका अध्यक्ष तथा सदस्य बन्नेछन् । सर्वसाधारणको पहुँचभन्दा टाढा हुनेछ । गठन भएको छवर्ष सो आयोगका अध्यक्ष तथा सदस्यहरुको कार्यकाल रहने व्यवस्था गरिएको छ ।

यस्ता अनेक कमजोरी र समस्याहरु नयाँ संविधानमा छन् । यसको कार्यान्वयन गर्दैजाँदा त्यसबारेमा थप जानकारी हुँदैजानेछ । एक अर्को विषय संविधानमा थ्रेसहोल्ड (मतमा सीमा) लगाउने व्यवस्था छैन । तर संघीय कानूनअनुसार थ्रेसहोल्ड लगाउनेमा प्रमुख नेताहरु करिब एकमत छन् । थ्रेसहोल्ड कायम भएमा अहिलेका क्षेत्रीय पार्टीहरु सबै कटौती हुनेछन् । उनीहरुको राजनीतिक अस्तित्व संकटमा पर्नेछ । धारा २७४ ले संविधान संशोधनको बाटो खुला नै राखेको छ । तर संविधान संशोधन गर्न सहज छैन । कि त ठूलै आन्दोलनको जरुरत पर्छ । कि प्रमुख दलका नेताहरुलाई रिझाउनु पर्छ ।

यी दुई विकल्प बाहेक जोकोहीले चाहँदैमा संविधान संशोधन सम्भव छैन । कुनै प्रदेशको सिमाना हेरफेर वा अन्य व्यवस्थालाई संशोधन गर्नुपरेमा संघीय संसदमा प्रस्तुत विधेयकलाई सम्बन्धित प्रदेश सदनमा सो सदनले ३० दिनभित्र पठाउने व्यवस्था गरेको छ । सो सदनको बहुमत सदस्यबाट स्वीकृत भएर पुनः संघीय संसदमा पठाउने व्यवस्था छ । संघीय संसदमा रहेको कुल सदस्यको दुई तिहाईबाट पारित भएमात्र सो विधेयक पारित हुनसक्छ । त्यसरी पारित विधेयकलाई राष्ट्रपतिले पन्ध्र दिनभित्र स्वीकृत गर्ने र स्वीकृत भएको मितिबाट लागुहुने संवैधानिक व्यवस्था छ ।

प्रदेश सदनमा पनि ठूला दलकै वर्चस्व रहने छ । साना दलको प्रतिनिधित्व झिनोमात्रामा रहने छ । त्यस्तो अवस्थामा संविधान संशोधनको विषय फलामको चिउरा चपाउनुजस्तै हुनेछ । आदिबासी, जनजाति, थारु, मधेसी, मुस्लीम तथा पछाडिपरेका वर्गले उठाउने माग सम्बोधनका लागि फेरि पनि ठूला दलको आडभरोसा अनिवार्य हुनेछ । ठूला नेताको जसरी आज राजनीतिमा, राज्यको निकायमा वर्चस्व कायम छ । भोलि पनि त्यसरी नै रहने छ । शक्तिको खेल जहिले हाबी नै रहने छ । समाजमा हुनेखाने र गरीखानेकोबीचमा द्वण्द्व यसैगरी चलिनै रहने छ । नयाँ संविधान बन्यो । अब आकाशबाटै फल खस्यो, सबै समस्याको अन्त्य भयो भन्नु कोरा कल्पना मात्रै हो ।

उत्तम त के हुन्छ भने पछाडि परेकावर्गले आफ्नो व्यक्तित्व र क्षमता बढाउनेतिर केन्द्रीत हुन सक्नुपर्छ । क्षमता र सीप आफूसँग छ भने बाँच्न र सफलता पाउन कठिन हुँदैन । जोसँग क्षमता छ, व्यक्तित्व छ, उसले राजनीति बाहेक जे कामपनि गरेर खानसक्छ । राजनीतिक दौडधूप र नेताले देलान् र खाउँला भनेर ठूलै आश लिएर पछाडि दौड्नु मरुभूमिमा मृगले पानीका लागि दौड्नु सरह हो । नेताको काम ठूलो आशा देखाउनु नै हो । आशा र आश्वासन नबाँड्दासम्म नेताको राजनीति नै हुँदैन । सर्वसाधारण, आम नागरिकहरु त्यही आश्वासनको जालमा परेर आफ्नो जीवन सकाएका कैयौं उदाहरण छन् । आज, राजनीतिकलाभ लिनकालागि नेतृत्वमा आफ्नो मान्छे नभइ हुँदैन ।

हात समातेर तान्ने मान्छे छैनभने राजनीतिबाट लाभ हासिल होला भन्ने विश्वास गर्नु मुर्खता मात्रै हो । अहिलेको राजनीति नातावाद, कृपावाद र फोस्रा नाराले भरिएको छ । विकृतिले भरिएको छ । जसको मान्छे नेतृत्वमा छ, उसलाई त सहज छ । तर नहुनेका लागि पीडा बाहेक केही छैन । हो, हिजो त्यस्तो राजनीति थिएन । क्षमता हुनेले नेतृत्व पाउँथे । त्यो परिस्थिति बेग्लै थियो । आज बेग्लै छ । आज सक्नेले सबथोक गर्छ । शक्तिमा हुनेको क्षमता र व्यक्तित्व नहुँदा पनि हुन्छ । माथि राजनीतिक आडभरोसा दिने छन् भने क्षमता बनाइ रहनु पर्दैन । यही विकृतिले समाजलाई अधोगतितिर लगिरहेको छ । यो मुलुककै लागि विडम्बना हो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

‘डिजिटल पार्लियामेन्ट प्लेटफर्म’ को परीक्षण सुरु

नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो

बाढीपीडितका समस्या समाधानमा सांसदहरूको जोड

कृष्णभिरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

चलचित्र क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना

सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता खुला

यो पनि पढ्नुहोस