

तिलक घिमिरे (निर्मल)–
“स्थानीय तहको निर्वाचन पश्चात् मुलुकमा १४ वर्ष देखि रिक्त जनताका असली प्रतिनिधिहरु आउँछन् वर्षौ देखि कर्मचारीतन्त्रबाट शासित हुुनपरेको वाध्यात्मक परिस्थितिबाट मुक्ति पाइनेछ, गाउँगाउँमा, टोलटोलमा सिंहदरबारको सेवा सुविधा उपलब्ध हुनेछ, अनि विकास निर्माणले यति ठुलो फड्को मार्नेछ कि अबको ५ वर्ष भित्रमा मुलुकमा कायापलट नै भएर सबै जनता खुसी र सुखी भई जीवनयापन सञ्चालन गर्नेछन् ।” यि र यस्तै न्यारेशनहरु गतसाल सम्पन्न स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा गाउँघर, शहर, बजार, मेलापात खेत खलियान, चिया चमेना, बाटोघाटो, गोठालो जाँदा होस् या चौतारीमा गफिदा यस्ता विषयवस्तुले प्राथमिकता पाउँथे र सारा जनताहरु अत्यन्तै हर्षित एवं आशातित थिए – स्थानीय तहको निर्वाचनमा निर्वाचित भई आउने नव जनप्रतिनिधिहरु प्रति । हाम्रो स्थानीय तह जनप्रतिनिधि विहिन भएको लगभग १४ वर्ष पछि स्थानीय तहको निर्वाचन सम्पन्न भयो र निर्वाचन पश्चात् प्रायः जसो हाम्रा स्थानीय सरकारको संरचनामा अधिकांश जोश र उत्साहले भरिएका यूवा जमातको बाक्लो उपस्थिति भयो । बृद्धबृद्धाहरुलाई भन्दा पनि सर्वसाधरण जनताहरुले आफ्नो ब्यालेट राइट यूवा जमातलाई चढाए र यूवा शक्तिबाट नै आफूहरु शासित हुन चाहे ।
जनप्रतिनिधिहरुजो निर्वाचित भएर आएका छन्, पहिलो १ महिना त उनीहरुको अबिर जात्रा मै व्यतित् भयो । त्यसपछिको महिना शुभकामना ग्रहण गर्दैमा सकियो । तत् पश्चात् सुरु भयो जुँगाको घमासान लडाई र प्रतिस्पर्धा । ब्यालेट भर्सेज लोकसेवा अर्थात स्थानीय तहमा कर्मचारीतन्त्र र जनप्रतिनिधिहरु वीचको मपाइत्व एवं अहम्ताको वाकयुद्ध, जुन अन्तरविरोध चरमोत्कर्षमा पुगेको बेलामा मैले एक आलेख प्रकाशन गरेको थिए – “ब्यालेट सर्भेस लोकसेवा” ।
जसमा तत्कालिन समयमा नेपालका अधिकांश स्थानीय तहमा देखा परेका समस्याहरु र सो ले सर्वसाधरण जनताहरुलाई पारेको असरका बारेमा उल्लेख गरेको थिए । लोकसेवा पक्षकाले जनप्रतिनिधिहरुलाई सौता आएको ठान्ने र विषयवस्तुमा विज्ञता नभएको र आफ्नो जति पढाई नभएको कारण आफूहरु अनपढ ल्याप्चेहरुको शासनबाट शासित हुन नसक्ने भाव सहितको तर्क अगाडी सार्थे भने ब्यालेट पक्षहरुले चाँही हाम्रो १४ वर्ष सम्मको अनुपस्थितिमा कर्मचारीतन्त्रहरुबाट भएको मनोमानी अब चल्न नदिने, आफूहरु जनताको अपार विश्वासबाट विभुषित भएर आएको कारण अब चुप लागेर नबस्ने र कर्मचारीहरुको खुरापातीपनलाई तह लाएलै छोड्ने भन्ने तर्कको कारण तेश्रो महिना देखी अठौँ महिना सम्मै धेरै जसो ठाउँमा घमासान वाकयुद्ध जारी रह्यो र कयौँ स्थानीय तहले आफ्नो वडा, गाउँ, र नगर परिषद् समयमै सम्पन्न गर्न सकेनन् ।
स्वभाविक नै हो कि, सो समय जनताहरुले आफुलाई कर्मचारीतन्त्रबाट शासित हुँदा पक्कै पनि केही कठिनाई व्यहोरेकै थिए । किनकी कर्मचारीहरु भनेको सरकारद्धारा निर्धारण गरेको विज्ञताको परीक्षाबाट उतिर्ण गरी आएका हुनाले उनीहरुको पृष्ठभूमी फरक भएको कारण नीतिमा जे जस्तो उल्लेख छ, त्यसरी नै प्रावधान अनुरुप काम मात्र गर्ने परिपाटी र जनताको दुःख पिडालाई प्रत्यक्ष रुपमा समानुभुति नगरेको पृष्ठभुमिबाट पदार्पण भएको कारण स्वभावैले उनीहरु नीति नियमहरुको अक्षरस पालना गर्ने र जनताहरुको दुःख लाई सहानुभुति होइन कि सहानुभुति चाँही दर्शाउँथे , जसले सर्वसाधारणलाई सेवा सुविधा उपयोगमा कठिनाई सिर्जना भई सो कर्मचारी तन्त्र प्रति रुष्ठ हुनु स्वभाविकै थियो ।
द्धन्द्ध र असुरक्षाको कारण द्धन्द्ध समाप्ती भएको १ दशक पुगिसक्दा पनि सदरमुकाममै बसी कार्यसञ्चालन गर्दा गाँउ–गाउँबाट काम लिएर आएको सर्वसाधरण जनताहरुका सानो कागजी प्रकृया नमिल्दा पनि काम नगरिदिएका र अनावश्यक दुःख पाएका कारण नेपाली जनताहरु तत् समय अत्यन्तै स्ष्ट थिए । उता कर्मचारीहरुको भने फरक लजिक युक्त पिडा थिए । आफू एकलैले ४७ जना जनप्रतिनिधिहरुको जिम्मेवारी सम्हाल्नु पर्दाको कार्यबोझ जनताहरुले नबुझेको र जति बेला पनि अपजस मात्र दिने गरेको हुँदा सो ले आफूलाई टिमोटिभेसन् बनाएको कुरा बताउँदै आएका थिए । जुन ल्याप्चे र खुरापाती विशेषण सहितको उपनामले एकले अर्कालाई सँधै शंकाको नजरले हेरिरहँदा जनताहरुले गाउँगाउँमा सिंह दरबार केबल नारामा भन्दा बढी अनुभुति गर्न पाएका थिएनन् ।
त्यसपछिका महिना केन्द्र सरकारले नै गाउँमा नगई बखेडा मात्र निकाल्न खोज्ने कर्मचारीहरुलाई निष्काशन सम्म गर्ने परिपत्र जारी गरे पश्चात् जुँगाको लडाई देखावटी रुपमा मत्थर भयो र गाँउ, वडा, नगर अधिवेशनहरु सम्पन्न भए । तत् पश्चात् शुरुभयो असली जनप्रतिनिधिहरु शासनकाल, जुन यद्यपी जारी छ । यसले आलेखको मक्सद पक्कै यो होइन कि, सबै जनप्रतिनिधिहरु खराब स्वभावका छन् भन्ने होइन । धेरै जनप्रतिनिधिहरुले आफुले राज्यबाट पाएका सेवा सुविधाहरु समेत देश र जनताहरुलाई उनीहरुको विकासका लागि पठाएका छन् । जनप्रतिनिधिहरु आगमन पश्चात् कयौँ स्थानीय तहले विकासको काममा फड्को मारिरहेका छन् । कयौँ गाउँघरमा अुभुति नै हुने गरि सर्वसाधरणहरुको वास्तविक समस्याहरुलाई सम्बोधन हुने नै गरी “इन्टिकेटर बेष्ड डेभलपमेन्ट” पनि नभएको होइन तर यहाँ उल्लेख गर्न लागिएको विषय भने इन्डिकेटर वेष्ड नभई “फेसबुके डेभलपमेन्ट” को हो ।
सामाजिक सञ्जालले यस्तो उग्र रुप लिइसक्यो कि, आफुलाई खान मल नलागेको, पढ्न मन नलागेको, दुःख लागेको, खुसी लागेको, श्रीमान श्रीमती वीच झगडा भएको, दागवत्ति दिदैँ गरेको, रुदै गरेको, हाँस्दै गरेको, हिड्दै गरेको, नाच्दै गरको, लड्दै गरेको सबै नै पोष्ट गर्न सेन्सरले नछेक्ने हुँदा जे को पनि पोष्ट भएको हामी देख्न सक्छौँ ।केही दिन अगाडी बाघसँग लडाई गरेकी एक केटीको फोटो भाइरल भयो, धादिङ्ग जिल्लामा एक जना केटो मोटरसाइकल दुर्घटना भई रक्ताम्मे भएछ, उसले आफ्नो उपचार भन्दा पहिला सेल्फि खिचेर “हल्का घाइते भएको अवस्था” भनेर पोष्ट गरको इत्यादी घटनाबाट लाग्छ हामीलाई आफू यस्तो प्रचारवाजी चाहिएको छ कि यसले कालान्तरमा ठुलो समस्या निम्त्याउँछ । हो हाम्रो वर्तमान समाज यति विध्न प्रचारमुखी र प्रशंसाभोगी भएको छ कि, यस्तो परिपाटी अन्त विरलै देख्न पाइन्छ । कही नभएको जात्रा हाँडीगाउँमा भने झौ हाम्रो पपुलारिज्म मेन्टालिटीले यतिसम्म जरो गाडेको छ कि जुन उल्लेख जति नै गर्दा पनि सकिन्न ।
हामीले दर्शाउने पपुलारिज्मको मूख्य माध्यम बनेको छ सामाजिक सञ्जाल अर्थात फेसबुक । कसै कसैले ट्वीटर र इन्स्टाग्रामको पनि प्रयोग गरे तापनि प्रायः जनप्रतिनिधीहरुलाई फेसबुक भन्दा बाहिरको सामाजिक सञ्जाल सायद चलाउन नआएर हो कि, विकास जति हाम्रो फेसबुक मै देख्न सकिन्छ । कामको सिलसिलामा म हिमाल, पहाड, तराई प्रायः दौडिरहेको हुन्छु । जहाँ–जहाँ पुग्छु त्यहाँ–त्यहाँ यस्तो फेसबुके विकास देख्न सकिन्छ । कि, देख्दा पनि अचम्म लाग्छ । हाल पहाड तिर यात्रा गर्ने हो भने जो कोहीले देख्न सक्छौ कि अधिकाँश पाखा पखेरामा पहेला डोजर चलिरहेका हुन्छन् । अधिकांश डाँडा पाखा नाङ्गिदै छन् । वनजंगल विनासको कुरै छोडौ यहाँ हरेक टोल टोलमा बाटो निकाल्नु पर्ने र त्यसका लागि मान्छेहरुले खनेर नहुने रे । सबै ठाँउमा (मान्छेहरुले खन्दा पनि सम्भव हुने ठाँउमा) डोजर नै चलाउनु पर्ने । पर्यावरण जोखिमको कुनै मतलबै छैन । जहाँबाट पायो त्यहिबाट डोजर दौडिएको छ । अझ हाम्रो जस्तो असारे विकासमा त झन डोजरको माहत्मे यति उम्दा गतिमा रहेको छ कि यो बताउनै मुश्किल छ ।
डोजरको यत्रो विकास कसरी भयो भनेर खोज्दै जाँदा थाहा भयो कि वडाको, गाउँपालिकाको १०% बजेट डोजर खरिदमा सकिने रहेछ । त्यसले नपुगेर हाम्रा जनप्रतिनिधिहरुले आफँैले एक–एक डोजर श्रीमती, सालो, भाई, काका, दाई इत्यादी नाममा खरिद गर्ने र सरकारी बजेट कुम्ल्याउने गरी आफ्नो साधन प्रयोग गराउने । “कन्फ्ल्क्टि अफ इन्ट्रेस्ट” को अवधारणा र सो को सचेतिकरण सायद नभएर हुन सक्छ भौतिक संरचना निर्माणमा यस्तो एकाधिकार कायम भएको । पहाडी र हिमाली क्षेत्रमा बाटो खन्ने काम भनेको विकास हो भन्ने जुन “चिसो भनेकै कोकाकोला” झै मानसपटलमा गहिरो छाप बसेको छ भने तराईका सडकमा ग्राभेल बिच्छाउने काम । ५० ट्रिप ग्राभेल भर्नुपर्ने ठाँउमा २० ट्रिप हाली बाँकी ठकेदार र स्थानीय जनप्रतिनिधिहरु दामासही बाँडेर खाएका कयौँ उदाहरण विभिन्न सञ्चार माध्यममा सुनिदैँ आइरहेको छ । अझ यो महिनामा यस्ता घटनाहरु नघटेका सायदै कुनै जिल्ला होलान् ।
यस प्रकारको मनोमानी तथा विरालाको घाँटीमा घण्टी बाँध्ने निकायको प्रभावकारी अनुगमन हुन नसक्दाको परिणाम हो यो । सानो काम गर्दा पनि त्यसलाई राम्रो मोवाइलले तस्बिर कैद गरी प्रचारमुखी भएको देख्दा लाग्छ । अब विकास गाँउमा होइन फेसबुकमा मात्रै गरेपछि हुन्छ । ५० रुपैयाँ जति पर्ने १० वटा स्टेशनरी सामग्रीहरु दलित विद्यार्थीहरुलाई वितरण गरेको फोटो फेसबुकमा पोष्ट गरी ५० औँ लाखको विकास गरे झैँ प्रशंसा बटुल्न खोज्ने, सामान्य भन्दा सामान्य काम गर्दा होस् या, अनुगमनका लागि यसो निस्किदा होस्, किराना पसल उद्घाटनको रिबन काद्दा होस्, या केही वक्तत्ववाजी दिई खोक्दा होस्, धान रोप्दा होस् या मकै गोड्दा, पुल हाउस उद्घाटन गर्दा होस्, या फुटबल उद्घाटन गर्दा होस्, याखाँदा, खेल्दा, बस्दा, उठ्दा, आफ्ना नेताका भजन गाउँदा होस् या अत्यन्तै सानातिना र वेट नभएका काम कुरा गर्दा समेत गर्वसाथ फेसबुकमा फोटो पोष्ट गरी ५० औँ जनालाई ट्याग र मेन्शन गर्ने र सो को प्रचारबाजी गर्ने काममा उनीहरुका चम्चे तथा झोले–झम्टेहरुको दिनचर्या त्यसैमा बित्ने गरकोछ ।
समान्य भन्दा सामान्य विषयवस्तुहरुलाई अनेक मिठा–मिठा क्याप्सन दिई धरातलमा भन्दा पनि फेसबुकको वालमा फोटाहरु पोष्ट हुँदा सामाजिक सञ्जालमा सेयर गर्ने काम पनि आफ्ना चिया चम्चेहरुले गर्ने र सो को सन्देश माथिल्लो निकायसम्म पुगी प्रदेश र केन्द्र सरकारबाट वाहीवाही एवं स्याबासी पाउँछु भन्ने दरिद्र मासिकताले हाल हाम्रो स्थानीय तह अत्यन्तै ग्रसित छ । अत्यन्तै साना–साना कुराहरुको व्यापक प्रचारवाजी र भौतिक रुपमा नभई शब्दमा मात्र विम्वात्मक रुपमा यस्तो विकासले व्यापकता पाएको देख्दा लाग्छ हाम्रो समाज अब प्रचारात्मक व्यवहारबाट नै रमाउन अभ्यस्त भई सकेको भावानुभुति हुँदैछ । जतिबेला सर्वसाधारण नेपाली जनताहरुले आफ्नो अमुल्य मत दिई आफ्नो स्थानीय सरकारको रुपमा विजयी गराएर जनप्रतिनिधीहरुलाई पठाए त्यतिबेला सबैलाई लागेको थियो कि अब राज्यले विनियोजन गरेको आफ्ना अधिकार प्राप्त गर्ने कुरामा सहज हुनेछ र अब आफुलाई भोट नदिएको र आफ्नो भन्दा फरक आस्था राखेको वाहनामा कुनै पुर्वाग्रही सोच राखिने छैन भनेर तर अहिले देखिँदैछ त्यसको विपरित । जसले गर्दा सर्वसाधारणहरुको आशा भरोषामा तुषारापात भएको भान हुँदैछ ।
हामीले आफ्नै शासन गर्न भनी पठाएको जनप्रतिनिधीहरुको अहिलेको चाला र विकासको कुरामा काम भन्दा बढ्ता प्रचारबाजी र बहानाबाजी देख्दा त्यो भन्दा धेरै सर्वसाधारण जनताहरुको मन कुडिएको छ । मेरो एक जना मनोविज्ञ साथीसँग यस सम्बन्धमा छलफल भएको थियो उनका अनुसार यो फेसबुके प्रवृति अहिले सम्म त भएकै कामलाई नै बुट्टा भरेर प्रचार गरेका छन् तर अबको ५ वर्ष पश्चात् हुँदै नभएको कुरा पनि सत्य सावित गर्न यो सञ्जालको प्रयोग व्यापकता आउनेछ र समाजमा झन द्धन्द्धात्मक अवस्था सिर्जना हुनेछ भनेर बताउनु भएको थियो ।ह्यान र त्यान विकास गर्नेछु भनी भोट मागेका नेताहरुलाई सोध्यो भने कानुन तथा स्पष्ट नीति नभएकोले गर्न सकिएन भन्ने जुन ओठे जवाफ दिने गर्दछन् ।
त्यसबाट एक दिन त्यस्तो दिन नआओस जति बेला यिनीहरु भन्दा त बरु कर्मचारीतन्त्र नै वेश थिए । इच्छा शक्तिको कमी मात्र देखिएको छ यहाँ, हामीमा नियमको नभई नियतमा मात्र खोट हुँदा जनताहरुको सेवा गर्नेछु भनी जिम्मेवारी लिएकाहरुले आ–आफ्ना जिम्मेवारीहरुलाई मम भनि छातीमा हात राखी काम गर्न सक्नु पर्दछ अन्यथा फेसबुकको भित्तामा मात्र देखाएको विकासशले सर्वसाधरणहरुको विश्वासमाथी कुठाराघात हुन्छ र सो बेला हाम्रो हौसला केबल “पिसाबको न्यानो” सिवाय हरुनहुन सक्छ ।
२०७५ असार १७ गते प्रकाशित