धादिङ । इन्सेकले प्रकाशन गर्ने नेपाल मानवअधिकार वर्ष पुस्तक २०२६ को पूर्व समिक्षा गरिएको छ ।
७७ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा बुधबार धादिङबेसीमा पुस्तकमा प्रकाशन हुँदै आएको घटना तथा सामाग्री र समेट्नुपर्ने विषयमा समिक्षा गरिएको हो ।
कार्यक्रममा इन्सेक प्रतिनिधि एवं नेपाल पत्रकार महासंघ धादिङ सीताराम अधिकारीले धादिङमा भएका मानवअधिकार उलंघनका घटनाहरुको बारेमा प्रतिवेदन प्रस्तुत गरेका छन् । ५२ ओटा घटनामा ५९ जना पीडित भएको प्रतिवेदनमा उल्लेख छ ।
संकलित घटनामध्ये कारागारमा मृत्यु ३ जना, घाइते ७ जना, हत्या ३ जना, संचारकर्मीमाथी धम्की २ जना, बलात्कार घटनामा ५ जना, बलात्कार पीडितको मृत्यु एक जना, बलात्कार प्रयासमा ३ जना, घरेलु हिंसामा १६ जना, बालिका बलात्कारमा १२ जना, बालयौन दुरव्यवहार तथा बालयौन दुरुपयोगमा ७ जना बालिका पीडित भएका छन् भने जातीय विभेदको घटनामा एक जना पीडित भएको इन्सेकले प्रतिवेदनमा उल्लेख गरेको छ ।
नेपाल पत्रकार महासंघ, गैसस महासंघ, इन्सेक, रोयम नेपाल, आइसिडिसि नेपाल, फोकस नेपाल, प्रयास नेपाल, सहयात्री समाज नेपाल, मानवअधिकार एलाएन्स, ग्लोबल नेपाललगायत संघसंस्थाहरुको संयुक्त आयोजना र नीलकण्ठ नगरपालिका, लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान मूल आयोजक समितिको सहकार्यमा कार्यक्रम गरिएको हो ।
यसैबीच युवा मानवअधिकार रक्षक संजालको गठन गरिएको छ । मानव अधिकारका लागि पैरवी गर्ने र मानवअधिकार रक्षकहरुको संरक्षणमा काम गर्ने लक्ष संजालले लिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति प्रमुख कुलमान विश्वकर्माले नागरिकको आधारभुत अधिकार नै मानवअधिकार भएकोले पुरा गर्नका लागि नागरिकलाई शशक्तिकरण गर्दै अघिबढ्नु पर्ने बताए । बालबालिका, लिंगीय, जातीय, अपांगता भएका तथा जेष्ठ नागरिकको अधिकारका लागि सामुहिक रुपमा काम गरेर मानवअधिकार प्रत्याभुति गर्न प्रतिवद्धता व्यक्त गर्नुपर्ने उपप्रमुख विश्वकर्माले बताए ।
नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले लैंगिक हिंसा पीडित राहत कोष, अपांगता तथा जेष्ठ नागरिक सामाजिक सुरक्षाका थप कार्यक्रम ल्याएको जानकारी दिए । समान सहभागिता र परिवर्तको लागि स्थानीय सरकारले काम गरेको र अझै मानवअधिकार मैत्री काम गर्न आफु प्रतिवद्ध रहेको पनि उनले बताए ।
प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले मानवअधिकार संरक्षणका लागि सरकारले स्थापना गरेका संरचनाहरु प्रयोग गर्न आग्रह गरे । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमित खड्काले महिलामाथी हुने कुनैपनि हिंसा र यौनजन्य घटनामा सुन्य सहनशीलता रहने बताउँदै मानवअधिकार वर्ष पुस्तकमा प्रकाशनका लागि आएका मानवअधिकार विरोधी घटनालाई जस्ताको तस्तै उल्लेख गरिदिन अनुरोध गरे ।
गैसस महासंघका अध्यक्ष तोलाकुमारी पाठकको अध्यक्षतामा भएको कार्यक्रममा मानवअधिकारको क्षेत्रमा काम गर्ने संघ संगठनका प्रतिनिधिहरु सहभागी थिए ।