स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन नागरिक अभियानको माग

राष्ट्रिय समाचार समिति

मंसिर ११, २०८३

काठमाडौँ। स्थानीय तहको निर्वाचनलाई गैरदलीय प्रणालीमा रूपान्तरण गरी नागरिकमैत्री बनाउनुपर्ने माग ‘समृद्धिका लागि नागरिक शक्ति निर्माण अभियान’ले अघि सारेको छ ।
सो अभियानले स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन सकिएमा नागरिकमैत्री सरकार बन्ने र यसबाट मुलुकको विकासमा ठूलो सघाउ पुग्ने भन्दै  राजनीतिक दलहरूको ध्यानाकर्षण गराएको छ ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत अभियानले यस प्रयोजनका लागि आगामी स्थानीय तहको निर्वाचन अगावै संविधान र कानुनमा आवश्यक संशोधन गर्न पनि माग गरेको छ ।
स्थानीय सरकारहरू सबैजसो राजनीतिक दलका स्थानीय अखडा र विजयी दलका कार्यकर्ताको प्रभावमा सञ्चालन हुने गरेको भन्दै दलीय प्रतिस्पर्धाका कारण स्थानीय तहमा राजनीतिक एकाधिकार, भ्रष्टाचार, पक्षपात र स्रोतसाधनको दुरूपयोग बढेको आरोप पनि लगाएको छ ।
पत्रकार सम्मेलनमा कानुनविद् तथा लेखक डा युवराज संग्रौलाले स्थानीय तहमा दलीय ‘सिन्डिकेट’ अन्त्य गर्न गैरदलीय निर्वाचन आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले स्थानीय स्रोत र बजेट उत्पादनशील क्षेत्रमा परिचालन हुनुपर्नेमा भ्युटावरलगायत अनुत्पादक संरचनामा खर्च भइरहेको टिप्पणी पनि गर्नुभयो । गैरदलीय निर्वाचनमार्फत स्थानीय उत्पादन, उद्यमशीलता र रोजगारी प्रवर्द्धन गर्न सकिने उहाँको भनाइ थियो ।
त्यस्तै, सामाजिक अभियन्ता तथा नेपाली सेनाका पूर्वउपरथी बाबुराम श्रेष्ठले स्थानीय सरकारलाई नागरिकप्रति उत्तरदायी बनाउनका लागि पनि गैरदलीय स्थानीय सरकार आवश्यक छ भन्नुभयो ।
नेपाल दलित उत्पीडित केन्द्रका अध्यक्ष नन्दराज घतानीले राजनीतिक नेतृत्व र स्थानीय सत्ताको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै देशको वर्तमान सङ्कट समाधानका लागि आमूल परिवर्तन आवश्यक रहेकाले निर्वाचनबाट सक्षम र इमानदार व्यक्तिहरू छान्नुपर्ने धारणा राख्नुभयो ।
सो कार्यक्रममा सामुदायिक विद्यालय अभिभावक सङ्घका अध्यक्ष रामप्रसाद न्यौपानेले पछिल्लो राजनीतिक गतिविधिले स्थानीय तहमा गैरदलीय निर्वाचनको आवश्यकता थप पुष्टि गरेको बताउनुभयो ।
इन्जिनियर थलबहादुर तामाङले स्थानीय तह र प्रदेशसभाको निर्वाचनमा समेत दलीय प्रतिस्पर्धा तथा राजनीतिक गतिविधिको प्रभावले देशको अर्थतन्त्रमा असर गर्न सक्ने चिन्ता व्यक्त गर्नुभयो ।
अभियानले स्थानीय तहको निर्वाचनमा पालिका प्रमुखको नेतृत्वमा समावेशी समूह गठन गरी गैरदलीय निर्वाचन चिह्नमार्फत प्रतिस्पर्धा गर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेको छ ।
साथै, निर्वाचनमा सहभागी समूहले पाँच वर्षे विकास योजनासहितको घोषणापत्र पेस गरी त्यसकै आधारमा प्रतिस्पर्धा गर्ने कानुनी व्यवस्था गर्न पनि माग गरेको छ ।
स्थानीय उत्पादन, प्रविधि, नवप्रवर्तन, उत्पादनको प्रशोधन तथा बजार व्यवस्थापनलाई प्राथमिकता दिँदै स्थानीय उत्पादनको खरिद गरी ब्रान्डिङ र बिक्रीको व्यवस्था स्थानीय सरकारले नै गर्नुपर्ने पनि सो अभियानको सुझाव छ ।
त्यसैगरी जनप्रतिनिधिलाई नागरिकप्रति जवाफदेही बनाउन नियमित सार्वजनिक सुनुवाइ, घोषणापत्र कार्यान्वयनको मूल्याङ्कन, नागरिक निगरानी तथा बजेट र योजनामा पारदर्शिता सुनिश्चित गर्नुपर्ने अभियानले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

बालबालिकालाई गुणस्तरीय शिक्षाको पहुँचमा ल्याउन मन्त्री तामाङको आग्रह

तुइनखोला पहिरो रोकथाम गर्न नारायणगढ–मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने

साउदी आक्रमणमा यमनमा ११ जनाको मृत्यु, अधिकांश बालबालिका

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन

स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन नागरिक अभियानको माग

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति