धादिङ: अन्धकार रात, घाइतेहरु हारगुहार गरिरहेका थिए । एैया बचाउनुस् भन्दै चिच्याइरहेका थिए । घाइतेहरु भीरमा र त्रिशुली नदीको बगरमा छटपटाइरहेका थिए । घाइतेलाई बोकेर सडकमा निकाल्न सक्ने कुनै उपाय भएन । पानीमा पौडिएर बोक्न सक्ने संभावना पनि थिएन । आफ्नै घरको ढुंगा लिएर उद्धारमा पुग्नुभएका राफ्टिङ गाइड अरुण थपलिया भन्नुहुन्छ, “उज्यालो लाइट र बलियो डोरी समेत समयमा नहुँदा धेरैलाई बचाउन सकिएन ।”
घटनास्थलमै मृत्यु भएका मध्य आधाजसो घाइतेहरु मलाई अस्पताल पु¥याइदिनुस् भन्दै रोइकराई गरिरहेका थिए । भीरमा घाइते बोकेर जान पनि सकिएन नदी तार्न पनि सकिएन । छटपटाइरहेका घाइतेलाई तानेर नदी माथीको ढुंगासम्म ल्याउन पनि निकै कठिन थियो । “जसोतसो पालैपालो एम्बुलेन्स् पुग्नसक्ने स्थानसम्म ओसार्दा ओसार्दै छटपटाइरहेका घाइतेहरुले ज्यान गुमाउनुप¥यो”, दूर्घटनालगत्तै उद्धारमा पुग्नुभएका थपलियाले भन्नुभयो ।

घटनास्थलमै मृत्यु भएका १७ जना मध्ये १० जनाजति त बोलिरहेकै थिए । उद्धार सामाग्री नभएकै कारण र समयमा उद्धार गर्न नसकेकै कारण धेरैले ज्यान गुमाउनुप¥यो । उहाँ भन्नुहुन्छ–“एकजना भाइले राती घरमा ढोका ढकढक्याउन आइपुग्यो । हतार हतार ढुंगा बोकेर त्यहाँ पुगे । भीरबाट ढुंगा नदीमा झारेर उद्धार थालियो । हामी पुग्दा नै दूर्घटना भएको एक घण्टा जति भइसकेको रहेछ । हामी पुगेर पनि एक घण्टाजति घाइतेलाई निकाल्नै सकेनौं । राती साढे १ बजेदेखि कोशिष गर्दा झण्डै सवा ३ बजेमात्रै घाइतेलाई एम्बुलेन्स्मा पु¥याउन सक्यौं ।”
कोशिष गर्दागर्दै मृत्यु भएकाहरुलाई छोड्दै जिउदो रहेकाहरुलाई पहिला एम्बुलेन्स् भएको ठाउँमा ल्यायौ । छटपटाइरहेकाहरुलाई ओसार्दा ओसार्दै १७ जनाको सास फेर्न छोडिसकेको अवस्थामा ल्यायौ । बेलैमा उद्धार गर्न सकेको भए केहीलाई भएपनि बचाउन सकिन्थ्यो ।
पोखराबाट काठमाण्डौका लागि छुटेको ग २ ख १४२१ नम्बरको यात्रुबस रातीको अन्दाजी १ बजे धादिङको बेनिघाट रोराङ–५ भैँसेडाँडाबाट त्रिशुली नदीको बगरमा खसेको थियो । यो समाचार तयार पार्दासम्म घटनास्थलमै १७ जना र उपचारको क्रममा २ जना गरी १९ जनाको मृत्यु भएको छ । २५ जनाको उपचार हुँदैछ ।
