धादिङ । सुख्खायाम र खडेरीसँगै वन डढेलोको जोखिम उच्च बनेपछि धादिङको रुवीभ्याली गाउँपालिकाले स्थानीय बासिन्दालाई सतर्कता अपनाउन र डढेलो नियन्त्रणमा सहयोग गर्न अनुरोध गरेको छ।
अकस्मात् लाग्ने वा नियतवश लगाइने डढेलोले वन पैदावार, दुर्लभ वन्यजन्तु, चराचुरुङ्गी र समग्र वातावरणीय चक्रमा अपूरणीय क्षति पुर्याउने भन्दै गाउँपालिकाले यस्तो आग्रह गरेको हो। डढेलो बस्तीमा पसेर घरगोठ डढ्ने र धनजनको क्षति हुने जोखिम बढेकोले गाउँघर वरिपरिका वन क्षेत्र जोगाउन सबैलाई सजग रहन आग्रह गरिएको रुवीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिं तामाङले बताउनुभएको छ ।
कतै डढेलो लागेको देखिएमा वन उपभोक्ता समूह र स्थानीयवासीले मिलेर तत्काल नजिकको वन कार्यालय वा सुरक्षा निकायलाई खबर गर्न र आगो निभाउन सक्रियता देखाउन अपिल गरिएको छ।
“विशेष गरी हावाहुरी चल्ने यो मौसममा वन क्षेत्रमा लाग्ने आगोले पारिस्थितिकीय प्रणालीमा गम्भीर असर पुर्याउँछ। डढेलोका कारण वन्यजन्तुको प्राकृतिक बासस्थान नष्ट गर्छ । साना घस्रिने जीवदेखि ठूला स्तनधारी र चराका बचेराहरू समेत सखाप हुने गर्दछन् ।’ जैविक विविधतामा ह्रास आउने र भविष्यमा दुर्लभ प्रजातिहरू लोप हुने खतरा त बढाउँछ नै वन डढेलोले मानव स्वास्थ्यमा पनि गम्भीर प्रभाव पार्ने भएकोले डढेलो नियन्त्रणमा स्थानीय नै सचेत बन्नुपर्ने डिभिजन वन कार्यालय धादिङका प्रमुख रोशनी पोखरेलले बताउनुभएको छ ।
डिभिजन वन कार्यालयको तथ्यांक अनुसार सुख्खा मौसम सुरु भएपछि यस वर्ष मात्रै जिल्लाको पाँच वटा सामुदायिक वनमा डढेलो लागिसकेको छ । गत वर्ष २३ वटा वनमा डढेलो लागेको थियो । तर, वन कार्यालयको तथ्यांकका वन डढेलोको रेकर्ड थोरै देखिएपनि गत वर्ष जिल्लाको अधिकाँश वनमा डढेलो लागेको थियो ।
हुन त वनमा डढेलो लगाउनेलाई वन ऐन बमोजिम कडा कारबाही गर्न सकिने व्यवस्था छ । तर, कारबाही भएको पाईदैन । डिभिजन वन कार्यालय प्रमुख पोखरेलले भन्नुहुन्छ, “वनमा डढेलो लगाउने वा लगाउन दुरुत्साहन गर्ने जोकोहीलाई वन ऐन बमोजिम कडा कारबाही गरिन्छ। यस्तो कार्य गर्नेलाई कसुरको प्रकृति हेरी बिगो असुल गरी १० हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।”