धादिङ । धादिङ अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएकी १८ वर्षीया मिरा आचार्यको मृत्युको कारण पत्ता लगाउन छानबिन समितिले काम सुरु गरेको छ ।
समितिले पहिलो चरणमा घटनामा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएर शव परिक्षणको लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल पठाएको हो । उपचारका क्रममा आचार्यको मृत्यु भएपछि धादिङ अस्पतालमा उब्जिएको विवाद र तनावपछि घटनाको सत्यतथ्य पत्ता लगाउन जिल्ला प्रशासन कार्यालय धादिङका सहयक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा आइतबार बेलुका छानबिन समिति गठन भएको थियो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) समितिको सदस्य सचिव रहने, बागमती प्रदेशले पठाएको वरिष्ठ सर्जन (विज्ञ), र पीडित पक्षका तर्फबाट एक महिला र एक पुरुष छानबिन समितिमा सहभागी छन् ।
छानबिन समितिले प्रतिवेदन नबुझाएसम्म र पोस्टमार्टमको नतिजा नआएसम्मका लागि पीडित पक्षले संयमता अपनाउने सहमति भएको छ ।
मानवीय त्रुटिका कारण आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन प्रणालीमा सुधार गर्नुपर्ने र विज्ञ समूह राखेर अस्पतालको साख जोगाउनु पर्ने छलफलमा सहभागीहरुले सुझाब दिएका छन् ।
यस्तो थियो घटनाक्रम :
नीलकण्ठ नगरपालिका–१३ घर भई नीलकण्ठ माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत मिरा आचार्यलाई स्वास्थ्यमा समस्या देखिएपछि आइतबार बिहान ३:५० बजे अस्पताल ल्याइएको थियो । अस्पताल ल्याएको केही समयमै औषधि सुरु गरिएको र त्यसको २५ मिनेटभित्रै उनको मृत्यु भएपछि आफन्तले चिकित्सकको लापरवाही र अस्पतालको व्यवस्थापकीय कमजोरीलाई मुख्य कारण ठानेका छन् ।
औषधि चलाउँदा र पछि सिपिआर दिँदा ४/५ जना आफन्तहरु साथमै भएपनि आफन्तको अनुमति नलिएको र सिरिन्जका भाइलहरू समेत अव्यवस्थित रूपमा छरिएको पाइएको पीडित पक्षको आरोप छ । घटना भएको लामो समयसम्म उपस्थित नभएको भन्दै पीडितका आफन्तहरुले अस्पतालका अध्यक्ष र सम्बन्धित चिकित्सकको राजीनामा माग गरेका थिए ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्टले भने बिरामीको हेमोग्लोबिनको मात्रा निकै कम रहेको र मुटुले धेरै रगत एकैपटक धान्न नसक्ने अवस्था भएकाले औषधिमार्फत उपचारको प्रयास गरिएको जानकारी दिए । मुटुको चाल बन्द भएपछि र फोक्सोले काम गर्न छाडेपछि बचाउने अन्तिम प्रयास स्वरूप सिपिआर दिइएको अस्पताल प्रशासनको दाबी छ । उपचारका क्रममा ‘नम्रता लामिछाने’ को नामबाट प्रक्रिया अघि बढाइएको विषयमा भने स्वास्थ्य बीमा दाबी गर्ने प्रयोजनका लागि त्यसो गरिएको बुझिएको छ।