धादिङ । फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा अवैध लागुपदार्थ अफिम र हतियार बरामद गरेको छ । दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका–२, होवाङबाट ५१ किलो ९ सय ८० ग्राम शुद्ध अफिम बरामद गरिएको हो ।
अफिम र अवैध भरुवा बन्दुकसहित सोही ठाउँ बस्ने ३५ वर्षीय वीर बहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो । प्रतिवादी खोज्ने क्रममा लागुऔषधको ठूलो कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले तामाङको घरमा खानतलासी गरेको थियो ।
प्रहरी नायव उपरीक्षक दाहालले भन्नुभयो–‘गजुरी प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायव उपरीक्षक सुरज कार्कीको कमाण्डमा खटिएको टोलीले तामाङको घर र गोठमा छापा मारेको थियो । खानतलासीका क्रममा बाख्रा बाँध्ने गोठभित्र लुकाएको अवस्थामा ४ फिट ६ इन्च लामो एक थान भरुवा बन्दुक र दुई थान डिजिटल तराजु फेला परेको थियो । त्यसैगरी, तामाङ सुत्ने कोठाको ओछ्यान नजिकै पाँचवटा प्लास्टिकका बाल्टीमा भरिएको अवस्थामा अफिम जस्तो देखिने कालो लेदो पदार्थ फेला परेको हो ।’
स्थानीय जनप्रतिनिधिहरूको रोहबरमा तौल गर्दा खुद तौल ५१ किलो ९ सय ८० ग्राम पुष्टि भएको प्रहरी नायव उपरीक्षक दाहालले बताउनुभयो ।
पक्राउ परेका तामाङ यसअघि पनि लागुऔषध मुद्दामा संलग्न रही फरार रहँदै आएका प्रतिवादी हुन् । बरामद लागुऔषध र हतियारसहित उनलाई इलाका प्रहरी कार्यालय गजुरीमा राखी लागुऔषध र अवैध हातहतियार खरखजाना सम्बन्धी मुद्दा दर्ता गरिएको छ । थप अनुसन्धान र कानूनी प्रक्रियाका लागि जिल्ला अदालत धादिङबाट म्याद थप गरी उनलाई हिरासतमा राखिएको छ । प्रहरीले होवाङबाटै अन्य दुई थान भरुवा बन्दुकसहित २८ वर्षीय विराज तामाङ र सानोकान्छा तामाङलाई पनि आ–आफ्नै घरबाट पक्राउ गरी थप कारबाही अघि बढाएको छ । दुबै जनालाई आ–आफ्नै घरबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक दाहालले जानकारी दिनुभयो ।