काठमाडौँ। नियमित गस्तीमा रहेको प्रहरीले टोलीले गत वैशाख महिनामा देशका विभिन्न स्थानबाट विभिन्न मुद्दाका दुई हजार ३१९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार केन्द्रीय अनुसन्धान ब्यूरोबाट १२, काठमाडौँ उपत्यका प्रहरी कार्यालयबाट ३६६, कोशी प्रदेशबाट ३२६, मधेसबाट ७३०, बागमतीबाट १९९, गण्डकीबाट २०४, लुम्बिनीबाट ३३०, कर्णालीबाट ६८ र सुदूरपश्चिमबाट ८४ जना पक्राउ परेका हुन् ।
उक्त अवधिमा पक्राउ परेका प्रतिवादीलाई तोकिएको ८२५ वर्ष दुई महिना २५ दिन कैद सजाय कार्यान्वयनमा आएको प्रहरीले जनाएको छ । उनीहरूबाट रु २१ करोड ५३ लाख ६९ हजार ११० जरिवाना असुलउपर गरिएको छ ।
प्रहरीले कर्तव्य ज्यान, लागुऔषध, जबर्जस्ती करणी, बैंकिङ कसुर, ठगीलगायत विभिन्न मुद्दामा फैसला ठहर भई फरार रहेका प्रतिवादी पक्राउ गर्न विशेष अभियान सञ्चालन गर्दै आएको छ ।