भान्साको मस्यौरा अब बजारको ब्रान्ड
गंगा सुनार

असार ८, २०८३

धादिङ । लामो समयसम्म घरको चार पर्खाल, छोराछोरीको लालनपालन र पठनपाठनमै बित्यो नीलकण्ठ नगरपालिका–७ की गायत्री पोखरेलको दैनिकी । कर्तव्य पूरा गर्ने क्रममा वर्षौँ बितेको पत्तै भएन । जब छोराछोरी हुर्किए र आफ्नो काम आफैं गर्न सक्ने भए, तब गायत्रीको मनमा एउटा फरक हुटहुटी जाग्यो, “अब घरमै बसेर मात्र हुन्न, आफैंले केही उद्यम गर्नुपर्छ ।”

अहिले उनी घरको चुल्होचौकोमा मात्र सीमित छैनन् । सानै छँदा आमाको हातबाट सिकेको परम्परागत मस्यौरा बनाउने सिपलाई आधुनिक व्यवसायमा ढाल्दै उनी सफल उद्यमी बन्ने बाटोमा अघि बढेकी छन् । विगतमा सोचेजस्तो नभएर एउटा व्यवसाय बन्द गर्नुपरे पनि हिम्मत नहारेकी गायत्रीले विगत एक वर्षदेखि ‘मस्यौरा उत्पादन’लाई आफ्नो मुख्य पेसा बनाएकी छन् ।

 

गायत्रीले सुरु गरेको यो व्यवसायमा परिवारको पनि बलियो साथ छ । छोरी वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छिन् । छोरा नीलकण्ठ बहुमुखी क्याम्पसमा स्नातक तहमा पढ्दै छन् । क्याम्पसको समयबाहेक बिहान, बेलुका र बिदाको दिन छोराले मस्यौरा प्याकिङ गर्ने, हिसाबकिताब राख्ने काममा आमालाई सघाउँछन् । श्रीमानले पनि बिहान–बेलुका मस्यौरा बनाउने हरेक प्रक्रियामा गायत्रीलाई सहयोग गर्छन् । पारिवारिक सामिप्यता र सहयोगले नै काममा ऊर्जा मिलेको गायत्री बताउँछिन् ।

गायत्रीले गाउँघरबाटै संकलन गरेर ल्याइएको पिडालुको डाँठ, गाना र मासको दाल मिसाएर रैथाने प्रविधिबाट मस्यौरा तयार पार्ने गरेकी छन् । यसरी तयार भएको मस्यौरा प्रतिकिलो एक हजारमा विक्रि हुने गरेको छ ।

पूर्ण रूपमा अर्गानिक, विषादीरहित र घरेलु सामग्री मात्र प्रयोग हुने भएकाले यो मस्यौरा स्वास्थ्यका लागि निकै हितकर मानिन्छ । “मासको मस्यौरामा कुनै रासायनिक मिश्रण हुँदैन, त्यसैले स्वास्थ्यमा कुनै असर गर्दैन,” गायत्री भन्छिन्, “विशेषगरी पायल्सका रोगीहरूका लागि यो निकै उपयुक्त मानिन्छ ।”

तरकारीको रुपमा नियमित खान सकिने र जाडो महिनामा सुप बनाएर खान सकिनेछ । सहर बजार वा गाउँघरको भोजहरुमा पनि मासुको विकल्पमा वा मासु नखानेहरुको लागि मासको मस्यौराको तरकारी बनाएर खुवाउन सकिन्छ ।
शाकाहारी (माछामासु नखाने) व्यक्तिहरूका लागि त मस्यौरा उत्तम तरकारीको विकल्प हो । हरियो तरकारी नपाइने र विशेषगरी जाडो महिनामा यसको माग अत्यधिक हुने गरेको छ ।

नेपालदेखि विदेशसम्म ‘कोसेली’
अर्गानिक तरिकाले तयार पारिने भएकाले यो मस्यौरा कम्तीमा ६ महिनासम्म बिग्रिँदैन । यही टिकाउपन र स्वादका कारण धादिङ र नेपालभित्र मात्र होइन, विदेश जाने नेपालीहरूको पनि रोजाइमा पर्न थालेको छ । विदेशमा हरियो तरकारी लैजान नपाइने र लगे पनि चाँडै बिग्रने हुँदा नेपालीहरूले मासको मस्यौरालाई विशेष ‘कोसेली’का रूपमा विदेश लैजाने गरेका छन् । गायत्री मस्यौरा उद्योग नामको कम्पनी दर्ता गराएकी छिन् । यो वर्ष करिब एक सय केजी मस्यौरा बिक्री भएको गायत्रीले जानकारी दिइन् ।

आमाबाट सिकेको परम्परागत सिपलाई व्यवसायमा बदल्न पाउँदा गायत्री निकै खुसी छन् । तर, अझै पनि परम्परागत शैलीमै काम गर्नुपर्दा केही व्यावहारिक कठिनाइहरू छन् । वर्षातको समयमा वा घाम नलाग्दा मस्यौरा सुकाउन नपाएर काम नै रोकिने समस्या छ ।
उद्योग वाणिज्य संघले केही समयअघि उपलब्ध गराएको तीन महिने तालिमपछि गायत्रीमा झन ठूलो उर्जा थपिएको छ । उद्योग वाणिज्य संघ धादिङले संचालन गरिरहेको व्यवसाय प्रवद्र्धन सेवामा सहभागी भएपछि उनले सीपलाई आफ्नो पेशा बनाउन लागेकी हुन् ।

आफ्नो व्यवसायलाई थप व्यवस्थित र व्यावसायिक बनाउने योजना बुन्दै गायत्री भन्छिन्, “स्थानीय सरकार वा विभिन्न संघसंस्थाहरूले हामीजस्ता महिला उद्यमीहरूलाई प्रोत्साहन गर्न अनुदान र आधुनिक मेसिन औजारको व्यवस्था गरिदिए सहज र छिटो काम हुने थियो । सुकाउने मेसिन भए घाम–पानी जे जस्तो भए पनि जुनसुकै बेला काम गर्न सकिन्थ्यो । यसले व्यवसायलाई अझ ठूलो रूपमा अगाडि बढाउन मद्दत पुग्ने थियो ।”

परम्परागत स्वादलाई संरक्षण गर्दै व्यावसायिकतातर्फ लम्किएकी गायत्री स्थानीय स्रोत र साधनको सही उपयोग गरेर कसरी आत्मनिर्भर बन्न सकिन्छ भन्ने कुराको एउटा उत्कृष्ट उदाहरण बनेकी छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

रास्वपाको बन्दसत्र सर्‍यो

भान्साको मस्यौरा अब बजारको ब्रान्ड

मनसुन थप चार प्रदेशमा विस्तार

समावेशी पक्षमा रास्वपाको जोडः मधेसी समुदाय खुसी

नारायणी अस्पतालमा ‘हिमोफिलिया उपचार केन्द्र’  सञ्चालनमा

सुनचाँदीको मूल्यमा वृद्धि

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

यो पनि पढ्नुहोस
गंगा सुनार