धादिङ । लामो समयसम्म घरको चार पर्खाल, छोराछोरीको लालनपालन र पठनपाठनमै बित्यो नीलकण्ठ नगरपालिका–७ की गायत्री पोखरेलको दैनिकी । कर्तव्य पूरा गर्ने क्रममा वर्षौँ बितेको पत्तै भएन । जब छोराछोरी हुर्किए र आफ्नो काम आफैं गर्न सक्ने भए, तब गायत्रीको मनमा एउटा फरक हुटहुटी जाग्यो, “अब घरमै बसेर मात्र हुन्न, आफैंले केही उद्यम गर्नुपर्छ ।”
अहिले उनी घरको चुल्होचौकोमा मात्र सीमित छैनन् । सानै छँदा आमाको हातबाट सिकेको परम्परागत मस्यौरा बनाउने सिपलाई आधुनिक व्यवसायमा ढाल्दै उनी सफल उद्यमी बन्ने बाटोमा अघि बढेकी छन् । विगतमा सोचेजस्तो नभएर एउटा व्यवसाय बन्द गर्नुपरे पनि हिम्मत नहारेकी गायत्रीले विगत एक वर्षदेखि ‘मस्यौरा उत्पादन’लाई आफ्नो मुख्य पेसा बनाएकी छन् ।
गायत्रीले सुरु गरेको यो व्यवसायमा परिवारको पनि बलियो साथ छ । छोरी वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छिन् । छोरा नीलकण्ठ बहुमुखी क्याम्पसमा स्नातक तहमा पढ्दै छन् । क्याम्पसको समयबाहेक बिहान, बेलुका र बिदाको दिन छोराले मस्यौरा प्याकिङ गर्ने, हिसाबकिताब राख्ने काममा आमालाई सघाउँछन् । श्रीमानले पनि बिहान–बेलुका मस्यौरा बनाउने हरेक प्रक्रियामा गायत्रीलाई सहयोग गर्छन् । पारिवारिक सामिप्यता र सहयोगले नै काममा ऊर्जा मिलेको गायत्री बताउँछिन् ।
गायत्रीले गाउँघरबाटै संकलन गरेर ल्याइएको पिडालुको डाँठ, गाना र मासको दाल मिसाएर रैथाने प्रविधिबाट मस्यौरा तयार पार्ने गरेकी छन् । यसरी तयार भएको मस्यौरा प्रतिकिलो एक हजारमा विक्रि हुने गरेको छ ।
पूर्ण रूपमा अर्गानिक, विषादीरहित र घरेलु सामग्री मात्र प्रयोग हुने भएकाले यो मस्यौरा स्वास्थ्यका लागि निकै हितकर मानिन्छ । “मासको मस्यौरामा कुनै रासायनिक मिश्रण हुँदैन, त्यसैले स्वास्थ्यमा कुनै असर गर्दैन,” गायत्री भन्छिन्, “विशेषगरी पायल्सका रोगीहरूका लागि यो निकै उपयुक्त मानिन्छ ।”
तरकारीको रुपमा नियमित खान सकिने र जाडो महिनामा सुप बनाएर खान सकिनेछ । सहर बजार वा गाउँघरको भोजहरुमा पनि मासुको विकल्पमा वा मासु नखानेहरुको लागि मासको मस्यौराको तरकारी बनाएर खुवाउन सकिन्छ ।
शाकाहारी (माछामासु नखाने) व्यक्तिहरूका लागि त मस्यौरा उत्तम तरकारीको विकल्प हो । हरियो तरकारी नपाइने र विशेषगरी जाडो महिनामा यसको माग अत्यधिक हुने गरेको छ ।
नेपालदेखि विदेशसम्म ‘कोसेली’
अर्गानिक तरिकाले तयार पारिने भएकाले यो मस्यौरा कम्तीमा ६ महिनासम्म बिग्रिँदैन । यही टिकाउपन र स्वादका कारण धादिङ र नेपालभित्र मात्र होइन, विदेश जाने नेपालीहरूको पनि रोजाइमा पर्न थालेको छ । विदेशमा हरियो तरकारी लैजान नपाइने र लगे पनि चाँडै बिग्रने हुँदा नेपालीहरूले मासको मस्यौरालाई विशेष ‘कोसेली’का रूपमा विदेश लैजाने गरेका छन् । गायत्री मस्यौरा उद्योग नामको कम्पनी दर्ता गराएकी छिन् । यो वर्ष करिब एक सय केजी मस्यौरा बिक्री भएको गायत्रीले जानकारी दिइन् ।
आमाबाट सिकेको परम्परागत सिपलाई व्यवसायमा बदल्न पाउँदा गायत्री निकै खुसी छन् । तर, अझै पनि परम्परागत शैलीमै काम गर्नुपर्दा केही व्यावहारिक कठिनाइहरू छन् । वर्षातको समयमा वा घाम नलाग्दा मस्यौरा सुकाउन नपाएर काम नै रोकिने समस्या छ ।
उद्योग वाणिज्य संघले केही समयअघि उपलब्ध गराएको तीन महिने तालिमपछि गायत्रीमा झन ठूलो उर्जा थपिएको छ । उद्योग वाणिज्य संघ धादिङले संचालन गरिरहेको व्यवसाय प्रवद्र्धन सेवामा सहभागी भएपछि उनले सीपलाई आफ्नो पेशा बनाउन लागेकी हुन् ।
आफ्नो व्यवसायलाई थप व्यवस्थित र व्यावसायिक बनाउने योजना बुन्दै गायत्री भन्छिन्, “स्थानीय सरकार वा विभिन्न संघसंस्थाहरूले हामीजस्ता महिला उद्यमीहरूलाई प्रोत्साहन गर्न अनुदान र आधुनिक मेसिन औजारको व्यवस्था गरिदिए सहज र छिटो काम हुने थियो । सुकाउने मेसिन भए घाम–पानी जे जस्तो भए पनि जुनसुकै बेला काम गर्न सकिन्थ्यो । यसले व्यवसायलाई अझ ठूलो रूपमा अगाडि बढाउन मद्दत पुग्ने थियो ।”
परम्परागत स्वादलाई संरक्षण गर्दै व्यावसायिकतातर्फ लम्किएकी गायत्री स्थानीय स्रोत र साधनको सही उपयोग गरेर कसरी आत्मनिर्भर बन्न सकिन्छ भन्ने कुराको एउटा उत्कृष्ट उदाहरण बनेकी छन् ।
