काठमाडौँ। सुनसरीको देवागञ्ज घटनापछि उत्पन्न परिस्थिति विस्तारै सामन्यीकरण हुँदै गइरहेको सुरक्षा अधिकारीहरुले जनाएका छन् । नेपाली सेनासहित तीन वटै सुरक्षा निकायको समन्वय र सहकार्यमा सुरक्षा फौजको प्रभावकारी परिचालनपछि शान्ति सुव्यवस्था क्रमशः सहज हुँदै गइरहेको छ ।
नेपाली सेनाको पूर्वी पृतनापति गौरवकुमार केसीले प्रभावित क्षेत्रमा शान्ति सुरक्षा सामान्यीकरणतर्फ उन्मुख भइरहेको र सुरक्षा फौज ‘हाई अलर्ट’मा रहेको बताउनुभयो । “शान्ति सुरक्षाको अवस्थामा आएको चुनौती क्रमशः कम हुँदै गइहरेको छ”, उहाँले रासससँग भन्नुभयो ।
गृहमन्त्री सुधन गुरुङले घटनास्थलमा पुगेर पीडित परिवारसँग सहमति र घाइतेसँग भेटवार्ता गरेपछि अवस्था सामान्य बनाउन सहज भएको सुरक्षा अधिकारीको विश्लेषण छ । सहमतिअनुसार मृतकको शव बुझ्ने र अत्येष्टि प्रक्रिया अघि बढिसकेको छ । गृहमन्त्री र पीडित परिवारबीच गएराति सातबुँदे सहमति भएको थियो ।
सशस्त्र प्रहरी बल नेपालका केसी प्रदेश प्रमुख, प्रहरी नायब महानिरीक्षक मनिष थापाले तीनवटै सुरक्षा फौजबीच सहकार्य र समन्वयमा परिचालन भइरहेकाले पूर्वी तराईमा शान्ति सुरक्षाको स्थिति सामान्य बन्दै गएको बताउनुभयो । “समग्रमा अहिले शान्ति सुरक्षाको स्थिति एकदम नियन्त्रणमा छ । सबै क्षेत्रमा समन्वयका साथ काम भइरहेको छ”, उहाँले भन्नुभयो ।
तीनवटै सुरक्षा निकायले घटनाका बारेमा सुक्ष्म विश्लेषण, अध्ययन र निगरानी गर्ने काम गरिरहेका छन् । अहिले पनि सुनसरी, धनुषा, सिरहा, पर्सालगायत जिल्लाका केही भागमा भने कफ्र्यु जारी छ । ती जिल्लामा देखिएका तनाव कम गर्न विभिन्न प्रयास भइरहेको छ । पछिल्ला घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिले पनि आफ्नो काम गरिरहेको छ ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सुरक्षा व्यवस्थालाई मजबुद बनाउने र सामाजिक सद्भाव कायम राख्नेमा सरकारको प्रयास केन्द्रित रहेको बताउनुभयो । गृह सचिवको अध्यक्षतामा धार्मिक समुदायका अगुवासँग छलफल भएको उहाँले जानकारी दिनुभयो ।
प्रहरीका उच्चअधिकारीलाई तोकियो जिम्मेवारी
केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले देवानगञ्ज गाउँपालिकाको कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गरी सुरक्षा व्यवस्थापनको लागि प्रहरीका उच्च अधिकृतलाई मधेसका जिल्लामा जिम्मेवारी तोकिएको जानकारी दिनुभयो ।
सुरक्षा संवेदनशीलताका आधारमा सुरक्षा योजना कार्यान्वयन, सूचना सङ्कलन तथा विश्लेषण र आवश्यकतानुसार फिल्डमा समेत खटिई सम्बन्धित प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरी स्थितिको सामान्यीकरण गर्न वरिष्ठ अधिकारीलाई त्यस क्षेत्रमा खटाइएको प्रहरी नायब महानिरीक्षक काफ्लेले जानकारी दिनुभयो ।
प्रहरी महानिरीक्षकको सचिवालयअनुसार प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धीविक्रम शाहलाई बाँके, हिमालयकुमार श्रेष्ठलाई मधेस, उमाप्रसाद चतुर्वेदीलाई कपिलवस्तु र ईश्वर कार्कीलाई कोसी प्रदेश÷सुनसरी तथा प्रहरी नायब महानिरीक्षकद्वय दिनेशकुमार आचार्यलाई सिराहा र अविनारायण काफ्लेलाई सप्तरीको जिम्मेवारी दिइएको छ ।
यस्तै प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईलाई सर्लाही, सोमेन्द्रसिंह राठौरलाई पर्सा, दीपशम्शेर जबरालाई रौतहट, नवराज अधिकारीलाई चितवन, कृष्णप्रसाद पङ्गेनीलाई महोत्तरी, होबिन्द्र बोगटीलाई बारा, ज्ञानेन्द्रप्रसाद फुयाँललाई मोरङ, भुवनेश्वर तिवारीलाई धनुषा र अमरेन्द्रबहादुर सिंहलाई मधेसको जिम्मेवारी दिइएको छ ।