धादिङ । भोटेकोशी बाढीका कारण घरबारविहीन भई धादिङको गजुरी गाउँपालिका–६ रातमाटे अस्थायी शिविरमा निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । इज्राएड र सहयात्री समाज नेपालको आयोजना, धादिङ अस्पतालको प्राविधिक सहयोग तथा गजुरी गाउँपालिकाको समन्वयमा उक्त शिविर सञ्चालन गरिएको हो ।
विस्थापितहरूलाई लक्षित गरी सञ्चालन गरिएको शिविरबाट ११४ जना प्रभावित लाभान्वित भएका छन् । शिविरमा उपचार गराउनेहरूमा ७३ जना महिला र ४१ जना पुरुष रहेका छन् । कुल बिरामीमध्ये ३५ जना बालबालिका रहेका सहयात्री समाज नेपालकी कार्यकारी निर्देशक राधिका सापकोटाले जानकारी दिनुभयो ।
अस्थायी शिविरमै पुगेर विशेषज्ञ डाक्टरहरूले बिरामीको परीक्षण गरेका थिए । शिविरमा स्त्रीरोग, बालरोग, दन्त सेवा, हाडजोर्नी, सामान्य चिकित्सा, एक्सरे, इसिजी, सामान्य ल्याव परिक्षण सेवा, जनरल सर्जरी, औषधी वितरण, मनोविमर्श सम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिएको छ । सो क्रममा जटिल स्वास्थ्य समस्या देखिएका १० जना बिरामीलाई थप उपचार तथा परीक्षणका लागि धादिङ अस्पताल रिफर गरिएको छ ।
धादिङ अस्पतालका डा। धर्मेन्द्र सापकोटाको नेतृत्वमा विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले शिविरमा सेवा प्रदान गरेको थियो । अस्थायी बसोबासका कारण मानसिक तथा शारीरिक रूपमा प्रभावित बनेका बाढीपीडितहरूले शिविरबाट प्रत्यक्ष राहत मिलेको बताएका छन् ।
प्राकृतिक विपत्तिका कारण विस्थापित भई अस्थायी शिविरमा बसोबास गर्दा सरसफाइ र खानपानको अभावमा विभिन्न रोगको जोखिम बढ्ने गर्दछ । यस्तै जोखिमलाई ध्यानमा राख्दै सहयात्री समाज नेपालले बाढी प्रभावितहरूका लागि एकीकृत स्वास्थ्य, सुरक्षित खानेपानी तथा सरसफाइ सुरक्षा सम्बन्धी कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको छ ।

