भेनेजुएलामा विद्रोही शिविरमा आक्रमण, १९ जनाको मृत्यु

राष्ट्रिय समाचार समिति

कार्तिक १७, २०८३

भेनेजुएलाको सेनाले पश्चिमी अपुरे राज्यमा रहेको कोलम्बियाली विद्रोही समूह नेसनल लिबरेसन आर्मी ९इएलएन० को शिविरमा गरेको आक्रमणमा कम्तीमा १९ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान ड्रोन र आक्रमणकारी हेलिकप्टरबाट गरिएको हमलामा मारिने अधिकांश भेनेजुएलाका नागरिक रहेको सैन्य स्रोतले जनाएको छ ।
सीमावर्ती क्षेत्रमा मानव अधिकार उल्लङ्घनको निगरानी गर्ने गैरसरकारी संस्था फन्डारेड्सका संयोजक जुआन फ्रान्सिस्को गार्सियाले आक्रमणमा सुरुमा नौ जनाको मृत्यु भएको र भोलिपल्ट थप १० शव सान फर्नान्डो लगिएको बताउनुभयो ।
नाम सार्वजनिक नगर्ने सर्तमा एक सैन्य स्रोतले आक्रमणमा अमेरिकी गुप्तचर निकाय सिआइए र एफबीआईको सहयोग रहेको तथा यो अमेरिकी आदेशमा गरिएको दाबी गरे । यसबारे अमेरिकी विदेश मन्त्रालय र भेनेजुएला सरकारले तत्काल प्रतिक्रिया दिएका छैनन् ।
भेनेजुएला र कोलम्बियाबीचको दुई हजार २०० किलोमिटर लामो सीमावर्ती क्षेत्रमा लागुऔषध तस्करी, अवैध खनन र अन्य तस्करीमा संलग्न सशस्त्र समूह सक्रिय छन् । सन् २०१६ मा फार्क विद्रोही समूहले कोलम्बिया सरकारसँग शान्ति सम्झौता गरेपछि इएलएन ल्याटिन अमेरिकाको सबैभन्दा शक्तिशाली विद्रोही समूह बनेको छ ।
मानव अधिकार अधिवक्ता तथा सैन्य मामिलाकी विशेषज्ञ रोसियो सान मिगुएलले पछिल्लो आक्रमणले भेनेजुएलाको सैन्य नीतिमा परिवर्तन आएको सङ्केत गरेको बताउनुभयो । सैन्य स्रोतले सीमावर्ती क्षेत्रमा थप विद्रोही शिविर रहेको आशङ्का गर्दै खोजी अभियान जारी राख्ने जनाएको छ ।
अमेरिकाले गत जनवरीमा निकोलस मदुरोलाई सत्ताच्युत गरेपछि भेनेजुएलाको नीतिमा आएको परिवर्तनसँग पनि यो कारबाही जोडिएको हुन सक्ने बताइएको छ । मदुरोकी पूर्वसहयोगी डेल्सी रोड्रिगेजको नेतृत्वमा रहेको सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन पाएको छ ।
कोलम्बियाका नवनिर्वाचित कट्टर दक्षिणपन्थी राष्ट्रपति अबेलार्डो डे ला एस्प्रियेलाले इएलएन र लागुऔषध तस्करीमा संलग्न समूहविरुद्ध कडा कारबाही अघि बढाइरहेका बेला यो घटना भएको हो । कोलम्बिया लागुऔषध तस्करी र सङ्गठित अपराध नियन्त्रण गर्न अमेरिकी नेतृत्वमा सञ्चालित क्षेत्रीय प्रयासमा अन्य एक दर्जनभन्दा बढी ल्याटिन अमेरिकी तथा क्यारिबियन राष्ट्रसँग सहभागी छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना

एनपिएल क्रिकेटः काठमाडौँले टस जित्यो

भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्र  सबै स्थानीय तहबाट हुनेछ: प्रधानमन्त्री

म्याग्दीमा मनसुनजन्य विपद्बाट करिब आठ सय घरपरिवार प्रभावित

भेनेजुएलामा विद्रोही शिविरमा आक्रमण, १९ जनाको मृत्यु

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति