स्वदेशी फूल तथा बिरुवाको प्रवर्द्धनमा नीतिगत सहयोग गर्छौँ: मन्त्री चौधरी

पाविलन्युज

कार्तिक १८, २०८३

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले स्वदेशी फूल तथा बिरुवाको उत्पादन र प्रवर्द्धनका लागि आवश्यक नीतिगत तथा प्राविधिक सहयोग गर्ने बताएकी छन् । उनले नर्सरी व्यवसायको विकास र विस्तारका लागि सरकार प्रतिबद्ध रहेको बताइन् ।

नर्सरी व्यवसायी संघ नेपालले आयोजना गरेको ‘तिहार फ्लोरा एक्स्पो २०८३’ आज काठमाडौंको भृकुटीमण्डपमा उदघाटन गर्दै मन्त्री चौधरीले स्वदेशी फूलको उत्पादन र उपभोग बढाउनुपर्नेमा जोड दिइन् । स्थानीय उत्पादनलाई उपभोक्तासम्म पुर्‍याउन र नेपाली फूलको बजार विस्तार गर्न एक्स्पोले सहयोग गर्ने उनको भनाइ थियो ।

तिहार नेपाली समाजको उज्यालो, रङ र फूलसँग जोडिएको सांस्कृतिक पर्व भएकाले यस अवसरमा स्वदेशी फूल तथा बिरुवाको प्रदर्शनी आयोजना गर्नु सान्दर्भिक रहेको उनले बताइन् ।

No data was found

नर्सरी व्यवसायलाई व्यापारमा मात्र सीमित नराखी उत्पादन वृद्धि, वातावरण संरक्षण, हरियाली प्रवर्द्धन र जलवायु परिवर्तनको असर न्यूनीकरणसँग जोड्नुपर्ने मन्त्री चौधरीको भनाइ थियो । यस क्षेत्रले युवा तथा महिलाका लागि रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न सक्ने उनले बताइन् ।

नर्सरी व्यवसायीले भोग्दै आएको जग्गा अभावको समस्या समाधान गर्न सरकारले भूमि बैंकको अवधारणा अघि बढाउन लागेको पनि उनले जानकारी दिइन् ।

‘नर्सरी व्यवसायको विकास, विस्तार र प्रवर्द्धनका लागि आवश्यक नीतिगत एवं प्राविधिक सहयोग र सहकार्य गर्न मन्त्रालय सधैँ तत्पर छ,’ उनले भनिन्, ‘रैथाने र नेपालमा उत्पादित वस्तुलाई सरकारले प्राथमिकता दिएको छ । व्यवसायीले उठाएको जग्गाको समस्या समाधान गर्न यसपटक कानुनमार्फत भूमि बैंकको अवधारणा ल्याउँदै छौँ ।’

मन्त्रालयले वन तथा भू–संरक्षण विभाग, बागवानी केन्द्र, बीउबिजन गुणस्तर नियन्त्रण केन्द्र र राष्ट्रिय प्लान्ट क्वारेन्टाइन तथा बायो–सेक्युरिटी केन्द्रमार्फत नर्सरी क्षेत्रको व्यवस्थापन, गुणस्तर नियमन, प्राविधिक सहयोग र तालिमका कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।

नर्सरी व्यवसायी संघ नेपालका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले सरकारी स्वामित्वमा रहेका खाली जग्गा नर्सरी व्यवसायीलाई भाडामा उपलब्ध गराउन माग गरे । लामो समयदेखि प्रयोगविहीन रहेका सरकारी जग्गालाई उत्पादनमूलक काममा लगाउनुपर्ने उनको भनाइ थियो ।

त्यस्तै, सहरी क्षेत्रमा खाली रहेका जग्गामा नर्सरी बजार स्थापना गर्ने वातावरण बनाउन र सातै प्रदेशमा प्रदेशस्तरीय मेला, प्रदर्शनी तथा तालिम सञ्चालन गर्ने नीति ल्याउन उनले सरकारको ध्यानाकर्षण गराए ।

तिहारमा ठूलो परिमाणमा फूल आयात हुने गरेको उल्लेख गर्दै तिमिल्सिनाले सयपत्री फूलमा आत्मनिर्भर बन्न आयात रोक्नुपर्ने बताए ।

‘देशभरि खाली रहेका जग्गाको भौगोलिक अवस्था हेरेर फूल, फलफूल वा जडीबुटीको व्यावसायिक खेती गर्नुपर्छ,’ उनले भने, ‘नर्सरी व्यवसायीले बिरुवा उत्पादन गर्ने, किसानले व्यावसायिक खेती गर्ने र उत्पादित वस्तुको बजार सुनिश्चित गर्ने वातावरण सरकारले बनाउनुपर्छ ।’

‘तिहारको उत्सव, स्वदेशी फूलको महोत्सव’ नारासहित मंगलबारदेखि सुरु भएको एक्स्पो कात्तिक २१ गतेसम्म सञ्चालन हुनेछ । पाँच दिनसम्म चल्ने मेलामा पुष्प, फलफूल, कृषि, वन तथा जडीबुटी नर्सरीका उत्पादन प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् ।

मेला संयोजक तथा संघकी उपाध्यक्ष लक्ष्मी महर्जनका अनुसार एक्स्पोमा व्यावसायिक, सरकारी, संघका आधिकारिक र प्रतिस्पर्धात्मक गरी ७३ वटा स्टल राखिएका छन् । तीमध्ये ६३ वटा व्यवसायीका, वनस्पति विभाग र पुष्प विकास केन्द्रका स्टल, संघका ६ वटा आधिकारिक तथा प्रतिस्पर्धाका ४ वटा स्टल छन् ।

एक्स्पोमा ३५ हजार अवलोकनकर्ता सहभागी हुने र एक करोड रुपैयाँभन्दा बढीको कारोबार हुने आयोजकको अपेक्षा छ ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

स्वदेशी फूल बिक्रीका लागि काठमाडौँका ३३ स्थान निर्धारण, प्लास्टिकजन्य मालामा पूर्ण रोक

नेपाल–भारत अन्तरदेशीय ग्यास पाइपलाइन, मुलुकको ऊर्जा सुरक्षाको नयाँ आयाम

स्वास्थ्य संस्थामा आवश्यकता अनुरुप अस्थायी दरबन्दी थपिनेछः  मुख्यमन्त्री थापा

रुसी आक्रमणमा युक्रेनमा २६ जनाको मृत्यु

एनपिएलः जनकपुरले टस जित्यो, विराटनगर ब्याटिङ गर्दै

यो पनि पढ्नुहोस
पाविलन्युज