धादिङ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सभापतिलाई हटाएर पूर्वसभापतिलाई फर्काउने विषय सम्भव नरहेको बताएका छन् ।
“गगन थापालाई हटाएर शेरबहादुर देउवालाई सभापति बनाउन सकिँदैन । सभापतिभन्दा तल, हामीभन्दा माथि को–को नेतालाई राख्नुपर्ने हो, त्यो हामी तयार छौँ । तर, गगत थापाको विकल्पमा अरु नेता ल्याउने कुरा सम्भव छैन”, उनले भने ।
कांग्रेसले १५औँ महाधिवेशन सम्पन्न गरिसकेको र विधान तथा निर्वाचन आयोगको प्रक्रियाअनुसार अघि बढेकोले अदालत र कानुनी निर्णयको सम्मान गर्दै पार्टीलाई सुदृढ बनाइने महामन्त्री पौडेलले बताए ।
नेपाल प्रेस युनियन धादिङले बिहीबार धादिङबेसीमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री पौडेलले पार्टीलाई चलायमान बनाउन देशभरका पालिकामा प्रतिनिधि पठाउने तयारी भइरहेको र स्थानीय तहको निर्वाचनमा कांग्रेस प्रतिस्पर्धा गर्न तयार रहेको प्रष्ट पारे ।
सरकारको कार्यशैलीप्रति कुरा उठाउँदै महामन्त्री पौडेलले दुई तिहाइ नजिकको सरकारले संसदलाई छलेर अध्यादेशमार्फत शासन चलाउने प्रवृत्ति देखिएको र प्रतिपक्षले कुरा उठाउने वातावरण नबनाइएको आरोप लगाएका छन् ।
“संसदमा प्रतिपक्षले कुरा उठाउने वातावरण बनेको छैन । त्यसले गर्दा प्रतिपक्षको भूमिका सशक्त बन्न सकेको छैन”, उनले भने । दुईतिहाइ समर्थनको सरकार भए पनि संसदको बैठक राख्न आनाकानी गरिएको र अध्यादेशमार्फत अघि बढ्न खोज्दा संसदीय मर्यादामा आँच आएको पौडेलले बताए ।
यसैगरी, प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा आधिकारिक र पारदर्शी जानकारी दिनुपर्ने, पासपोर्ट तथा सुनकोशी मरिन डाइभर्सन प्रकरणमा उठेका प्रश्नको छानबिन हुनुपर्ने तथा पत्रकार र नागरिक अधिकारको सुरक्षा गरिनुपर्ने माग पनि महामन्त्री पौडेलले पत्रकार सम्मेलनमार्फत राखे ।