धादिङ। उद्योग वाणिज्य पर्यटन तथा यातायात कार्यालयको आयोजना तथा जिल्ला प्रशासन कार्यालय धादिङको समन्वयमा आज त्रिपुरासुन्दरी गाउँपालिका–सल्यानटारका विभिन्न पसलमा बजार अनुगमन गरिएको छ ।
अनुगमन टोलीले सल्यानटार क्षेत्रका होलसेल किराना पसल, फलफूल पसल, मासु पसल तथा खुद्रा पसलहरूमा अनुगमन गरेको हो । अनुगमनका क्रममा केही पसलमा म्याद गुज्रिएका खाद्य तथा उपभोग्य सामग्री फेला परेपछि टोलीले ती सामानहरू बरामद गरेको छ ।
त्यसैगरी, व्यवसाय दर्ता तथा नवीकरण नगरेका र कर भुक्तानी नगरेका व्यवसायीहरूलाई निश्चित समयभित्र आवश्यक प्रक्रिया पूरा गर्न सचेत गराइएको छ । तोकिएको समयभित्र व्यवसाय दर्ता, नवीकरण तथा कर भुक्तानी नगरेमा कानुनबमोजिम कारबाही गरिने चेतावनीसहित सम्बन्धित पसलहरूलाई पत्रसमेत काटिएको छ ।
अनुगमनका क्रममा पसलहरूमा अनिवार्य रूपमा मूल्यसूची राख्न, सरसफाइमा ध्यान दिन तथा उपभोक्तालाई गुणस्तरीय र सुरक्षित वस्तु उपलब्ध गराउन व्यवसायीहरूलाई आग्रह गरिएको छ ।
बजार अनुगमनले उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षण गर्नुका साथै व्यवसायलाई व्यवस्थित, पारदर्शी र जिम्मेवार बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
