Sun. Apr 28th, 2024

पानीले फेरिदै छ दैनिकी

focus-5शंकर श्रेष्ठ / ३१ भदौ, धादिङ – पहिले गाउँमा प्रशस्तै तरकारी फल्थ्यो । गाउँका अधिकांशले तरकारी बेचेरै घर व्यवहार धानेका थिए । तर, विनाशकारी भुकम्पले घर ढालेसंगै स्थानीयको तरकारी खेती पनि ठप्पै भयो ।

गाउँमा भएका पानीका अधिकाशं मुहान सुकेपछि खेतबारीमा काम गर्ने समय पानी बोक्नमा नै खर्चिनुपर्ने बाध्यताले उजाड जस्तै बनेको बस्नेतगाउँ अहिले फेरी तरकारीले ढाकिन थालेको छ । गाउँमा खानेपानी आएपछि तरकारीको नमूना गाउँ बनाउने र तरकारी खेतीबाटै सम्पन्न बन्ने बस्नेतगाउँ र बरुवालगाउँका स्थानीयको आशा फेरी फक्रन थालेको छ ।

focus-3

भुकम्पपछि पानीको चरम अभाव झेलेका स्थानीयहरुले अहिले गाउँमा खानेपानी ल्याएका छन् । बस्नेत गाउँ र बरुवालगाउँका ५३ घरपरिवारले आफ्नै सक्रियतामा गाउँदेखि ४ किलोमिटर पर ढाँडखोलाबाट गाउँसम्म पानी ल्याएका हुन् । गाउँमा ११ वटा धारो निर्माण गरेर पानी बाँडेका छन् । एक धारोले ५ देखि ७ वटा घरलाई खानेपानीको व्यवस्था मिलाइएको बस्नेतगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष भक्त बहादुर बस्नेतले बताए ।

खानेपानीको जोहो गर्न धेरै समय खर्चनु नपर्ने भएपछि यहाँका स्थानीयले बर्षाैदेखि गर्दै आएको तरकारी खेतीलाई पुन निरन्तरता दिन थालेका छन् । भुकम्प अघि तरकारी खेतीबाट नै गुजारा चलाउँदै आएकी खिलकुमारी बस्नेत भन्छिन् ‘खोलाबाट एक गाग्री पानी ल्याउन थोरैमा २ घण्टा लाग्थ्यो, खेतबबारीमा फर्कनै भ्याइन्न थियो, अहिले त निकै सजिलो भएको छ ।’ खिलकुमारीले अहिले करिब ७ रोपनी बारीमा सिमी, गोलभेडा, करेला लगायतका तरकारी लगाएकी छन् ।

focus-2

तरकारी बेचेरै गजुरी बजारमा एउटा घडेरी जोड्ने लालबहादुर बस्नेतको आशा पनि फेरी जिवित बनेको छ । उनले करिब ५ रोपनी जग्गामा गोलभेडा, करेला, लौका लगायतका तरकारी खेती लगाएका छन् । उनी भन्छन्, ‘तरकारी खेतीले पहिले पनि राम्रै भएको थियो, भुकम्प पछि पानी नभएर सबै विग्रियो, अहिले फेरी राम्रै हुन थालेको छ ।’ बस्नेत गाउँ र बरुवाल गाउँका अधिकांशको आम्दानीको मुख्य श्रोत भनेको तरकारी नै हो । यहाँका कृषकले फलाएको तरकारी लिन व्यापारीहरु गाडी लिएर गाउँमै पुग्ने गरेका छन् ।

गाउँमा खानेपानी नभएकै कारण बसाइ सर्ने तयारीमा रहेका रामशरण बस्नेतले पनि अहिले तरकारी खेती नै सुरु गरेका छन् । ‘पानी थिएन पानीकै कारण मर्नु भन्दा त बसाइ सर्नै जाती भन्ने सोच आएको थियो तर अब सर्दिन ।’ रामशरणले आफ्नो तरकारी खेती देखाउँदै सुनाए । गाउँमा पानी ल्याउन सहयोग गरेकोमा गाउलेहरुले धन्यवाद दिएका छन् । सबै गाउँलेको प्रतिनिधित्व गर्दै बालकृष्ण बरुवालले भने ‘धन्यवाद फोकस हाम्रो आग्रह सुनिदिनुभयो ।’

भुकम्प पछि निराश बनेको गाउँलेहरुको आशा फर्काउन जिल्ला स्थित गैर सरकारी संस्था फोकस नेपालले सहयोग गरेको हो । गाउँमा खनेपानी ल्याउन अक्स्फामसंगको साझेदारीमा फोकस नेपालले १८ लाख ४५ हजार सहयोग गरेको छ । खानेपानीको लागि स्थानीयहरुले ४ लाख ६१ हजार श्रमदान उठाएका छन् । कुल २३ लाख ६ हजारमा मुहानदेखि मुल ट्याङ्कीसम्म पानी ल्याएर धारो निर्माण गरी पानी वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष भक्तबहादुर बस्नेतले जानकारी दिए ।

focus-1

सहयोगी निकायका व्यक्तिहरुलाई विहिबार गाउँलेहरुले गाउँमा ल्याएको खानेपानी र आफुहरुले सुरु गरेको तरकारी खेतीको अनुगमन गराएका छन् । गाउँलेको प्रगति हेर्न बस्नेतगाउँ पुगेका अक्स्फामका कन्ट्री वास कोर्अडीनेटर दिनेश बज्राचार्यले भुकम्पले ल्याएको पानी भनेर बेवास्ता नगरी आयोजना दिगो बनाइराख्न सल्लाह दिए । बज्राचार्यसंगै गाउँ पुगेका फोकस नेपालका अध्यक्ष हेमराज छत्कुली, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका इन्जिनियर सीताराम पाण्डे लगायतले खानेपानी मर्मतसंभार कोष खडा गरेर आयोजना दिगो बनाउन आग्रह गरे ।

About The Author

Loading...

अन्य समाचारहरु: